बढ्दो छ विनास
यो हप्ता बिश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस। जीवनको रहरलाग्दो उमेर प्रकृति रक्षा र उद्धार राहत सेवामा बिताएको हुँदा यो दिनले अतितको सम्झना गराउदँछ। बर्तमानको परिदृष्य झलझली आँखामा ल्याइदिन्छ।
भबिष्यको चुनौती र अवसरको कल्पना गर्न बाद्य तुल्याउँदछ। यो दिवसको अवसर पारेर ३ दिनदेखि म स्वदेशको प्रकृति अवलोकन र सम्मान यात्रामा छु। प्रकृति र मानव लगायत सम्पूर्ण प्राणी रक्षाको कामना गर्न यो आलेख तयार पारेको छु।
बिश्व परिवेश
प्राकृतिक प्रकोपबाट बिश्व आक्रान्त छ। मानव शोषित पीडित अवोध प्रकृतिले बिश्वलाई हैरान पारिसकेको छ। जसरी शक्तिशाली राष्ट्रहरुले प्रकृति रक्षाको वाचा पूरा गरेका छैनन र उल्टो प्रकृति दोहन बिनास गरेको गरेई छन्, प्रकृतिले पनि मानिसलाई उठिबास लगाएको लगाई छ।
प्रकृति-मानव द्वन्द्व उत्कर्षमा पुगेको छ। समाधान संभव छ तर धेरैले टेरपुच्छर लगाएका छैेनन्। प्रकृतिका पुजारी मुलुकले भने वातावरणीय लाभै लाभ लिएर स्वस्थ, सुखी र खुशी जीवन बिताएर बसेका छन्। धनी राष्ट्रहरुको बिकासे होडबाजीले गरिब राष्ट्रहरु प्रकृतिको मारमा परेका छन्। अन्यायको पराकाष्ठा।
नेपालको अवस्था
प्रकृतिको धनी देश सुन्दर शान्त नेपाल प्राकृतिक स्वर्ग हो। ज्ञान प्राप्त गर्ने ध्यानकेन्द्र हो। स्वास्थ्यलाभ गर्ने प्राकृतिक चिकित्सालय हो। पैसा छाप्ने र समृद्धि ल्याउने भौगोलिक, सांस्कृतिक, जैबिक बिबिधताको खानी हो।
निकुञ्ज, आरक्ष, सामुदायिक वन, सरकारी बन, निजी वन, धार्मिक वनले अडेको, ठडिएको र सिंगारिएको बिछट्टै सुन्दर मुलुक हो। उहिले “हरियाे वन नेपालको धन” नारा घन्काउने स्वाभिमान मुलुक हो ।
बिडम्बना, आज खोलानाला, कुलो ढल, वन-जंगल, गौचरण हराएर त्यो सुन्दर मुलुक बिक्षिप्त छ। दरो खरो इमान्दार रक्षक र ब्यबस्थापक नपाएर वन जंगल पानी ढुंगा गिट्टी बालुवा उत्खनन् र बिनास भएर हैरान छ।
ठेकेदार राजनीतिज्ञहको धर्ती हल्लाउने बडेमानका मेसिनले पैताला, औंला, गोली गाँठा, घुँडा, कन्दानी, छाती काटिएर अग्ला पर्बतहरु थिग्रिन उभिन नसक्ने भएका छन्। हामीले खाएको टुकुचा नभेटेर युवा मेयर बालेन हैरान छन्। ऐतिहासिक, धार्मिक, पबित्र बागमतीलाई ढल बनाउन सक्ने आफ्ना अकर्मण्य, निकृष्ट, दरिद्र शासक र शासित हामी जनतालाई देखेर पशुपतिनाथलाई कति लाजलाग्दो हो।
पर्यटन दिवस साकार पार्न प्रकृतिलाई खोज्दै नौरथामा मनकामना मन्दिर पुगें। मन्दिर प्राङ्गणको फोहोर, मन्दिर पछाडि जंगलको प्लाष्टिक फोहोर र सुन्दर मनकामना डाँडालाई गिज्याउन बनाएका दर्जनौं सडक देखेर भावुक भएँ।
नेपालका हकमा गहिरो अध्ययन र अनुसन्धान हुन जरुरी छ कि कसको दोष कति ? तर नैतिकवान र ईमान्दार भएर स्वीकार गरौं हाम्रो जल थल वायु प्रदुषणको लागि को बढी जिम्मेवार छ ? प्रकृति कि हामी मानव ? सुन्दर मुलुकलाई बिश्वकै सफा सुग्घर ध्यानभूमि, ज्ञान भूमि बनाउन हामीलाई कसले, कहिले, कसरी रोकेको छ ?
कसरी उभिनु, अडिनु र टिक्नु धार्मिक आस्थाको केन्द्र ऐतिहासिक मन्दिर बोकेको त्यो सुन्दर चुट्टीले। अनि डाँडा माथिका ती पौरखी गाउँबस्तीहरुले। यो एउटा ताजा कुरुप दृष्य मात्र।
भर्खरै बिपी राजमार्गमा भिमकाय पहाडको फेद काटेर टिपरमा लोड गरिरहेको, सनुकोशीमा नदीजन्य बस्तु (गिट्टी बालुवा) लुटिरहेको र राजमार्ग वरिपरी राजनीतिक डनहरुको अवैध खानी चलिरहेको देख्दा प्रकृति लुटको अर्को कुरुप दृष्य देख्नुपर्यो। लाखौं डाडापाखाकोे कथा र पीडा झन् हेरिनसक्नु छ।
भूकम्पको उच्च जोखिम सधैंभरिलाई छ। सामाखुशी साहन्सा नजिक चर्किएको गगनचुम्बी भवनलाई वरिपरिका दर्जनौं साना घर र निरीह सरकारले मुक्दर्शक भएर हेरिरहेको छ। भूकम्प पश्चात तमाम् रातो मसी लागेका धराप घरहरु रङ्गरोगन गरेर प्रयोगमा ल्याइएका छन्। मानवनिर्मित बिपद्का खानीहरु।
मध्यपश्चिम, सुदुर पश्चिम ऐले बाढी पहिरोमा जलमग्न छन् । तिनको महान् चाड दशैं शोकमा बित्यो । बाढी पहिरोमा हामी १३ औं स्थानमा छौं र यो क्रम घट्ने होइन बढ्ने रोगमा हामी छौं ।
हुरिबतास, चट्याङ, डढेलो, हिमपहिरो, फोहोर प्रदुषण जन्य महामारी बर्षैभरि हामीकोमा चलिरहने बिपद्का चक्र हुन्। कोभिड-१९ को लगत्तै हामीलाई देशैभर डेंगो रोगले सतायो। उपल्लो मुस्ताङ डोल्पा लगायत हिमाली क्षेत्र समेत यो रोग प्रभावित भयो ।
मुलुकभरि नदीनाला, जलाशय, वन-जंगल, सडक, नहर, राजकुलोको ब्यापक अतिक्रमण भएको छ। बिना ईआईए हचुवामा हरियो वन जंगल फाँडेर बनाएको सडक दुर्घटनाको क्षति कहालिलाग्दो छ।
डोजर डेमोक्रेसीले हिमाल पहाड थर्किएका हल्लिएका गलेका छन्। बर्षामा टिक्नै नसक्ने गरि। चुरे दोहनले तराई मरुभूमिकरण हुँदै छ। आड् नपाएर महाभारत बग्दै छ। नदीहरुमा जीवन छैन । पानीका मुहान र भूमिगत जल सुकिरहेका छन्।
जलवायु परिवर्तनको प्रभावबाट हामी अछुतो छैनौं । किनभने बिकासे नसा लागेको अत्यधिक हरित ग्यास उत्सर्जन गर्ने दुई भिमकाय मुलुकको बीचमा हामी च्याप्पिएर रहेका छौं । हिँउ पग्लिने र हिमताल भरिने जोखिमबाट हामी आक्रान्त छौं। हाम्रो तापक्रम बर्षेउनी ०.०६ डिग्री सेल्सियसले बढिरहेको छ। अन्यत्र भन्दा हिमाली क्षेत्रमा यसको दर बढी छ। बिगत एकं शताब्दीमा सगरमाथाको हिमभाग ३३० फिट गलेको र पग्लिएको छ।
तर स्मरण रहोस् माटोभित्र ३० प्रतिशत कार्बन सञ्चित छ। जल जमिन बन जंगल सिमसारलाई खलल पुर्याउँदा कार्वन सञ्चित क्षमता ह्राश हुन्छ। बिश्वको ०.४ प्रतिशत जनसंख्या नेपालमा बस्दछौं। बिश्वको कूल हरितगृह ग्यासको ०.०२७ प्रतिशत हरित ग्यास मात्र हामी उत्सर्जन गर्दछौं। तर हाम्रो फोहोर र नदी प्रदुषण कहाली लाग्दो छ। पर्यापर्यटन भड्काउने किसिमको छ।
वन्यजन्तु, पंक्षी र मानव स्वास्थ्यलाई अत्यधिक हानिकारक छ। हाल सबैतिर पानी प्रदुषित भई जलचर नपाइनुमा मानव निर्मित जलप्रदुषण मुख्य कारण हो। यही अवस्था रहिरहेमा पाटेबाघ र गैंडालाई समेत बचाउन धौं-धौं हुनेछ ।
कारण र दोषारोपण
बिश्वले प्राकृतिक बिपद्लाई जलवायु परिवर्तन कारण भन्दछ। नेपालले बर्ष भरिका बिपद् र क्षतिको दोष जलवायु परिबर्तन भनेर रटान लगाईरहेको देखिन्छ । प्रकृतिलाई घोर अपमान र अन्याय। मानव सधैं पानी माथिको ओभानो।
नेपालका हकमा गहिरो अध्ययन र अनुसन्धान हुन जरुरी छ कि कसको दोष कति ? तर नैतिकवान र ईमान्दार भएर स्वीकार गरौं हाम्रो जल थल वायु प्रदुषणको लागि को बढी जिम्मेवार छ ? प्रकृति कि हामी मानव ? सुन्दर मुलुकलाई बिश्वकै सफा सुग्घर ध्यानभूमि, ज्ञान भूमि बनाउन हामीलाई कसले, कहिले, कसरी रोकेको छ ?
हामी सबैले सहजै अनुमान लगाउन सक्ने कुरा हो अधिकांश प्राकृति बिपद् हामी आफ्ना अतिक्रमणकारी, दोहन र बिनासकारी क्रियाकलापले निम्त्याइरहेका छौं। जुन तत्काल निरुपण हुन र क्षति रोकथाम गर्न जरुरी छ।
नेपाल जस्तो जटिल भौगोलिक बनावट भएको ठाउँमा यो नैतिक जिम्मेवारी स्थानीय तह र व्यक्ति स्वयंले संयम, सचेत, सतर्क, जबाफदेही भै पूरा गर्नुपर्दछ। पर्याबरण संरक्षणको सवाल होस् वा सरसफाइ जिम्मेवारीको ।
प्रकृतिको सर्वोच्चता स्वीकार गर्ने प्रकृतिप्रेमी सफासुग्घर समाज निर्माण गर्ने राष्ट्रिय लक्ष हुनुपर्दछ। संभावित बिपद्को अग्रीम सूचना, पूर्व तयारी र उद्धार, राहत, तयारी स्थानीय स्तरमा हुनुपर्दछ। ब्यक्ति-ब्यक्ति र घर-घर, गाउँ-गाउँको उद्धार राहत तयारीले क्षतिबाट बचाउदछ। ठूलो बिपदमा मात्र क्षेत्रीय, केन्द्रीय सहयोग माग गर्ने स्वाभिमान हुनुपर्दछ।
हाम्रा पालामा क्षेत्रीय र केन्द्रीय पूर्व तयारी सघैं अपर्याप्त हुन्थ्यो। सामाग्रीको दुरुपयोग र लापर्वाही घिनलाग्दो थियो। उद्धार सामाग्री गायब भएर दातृराष्ट्र हैरान थिए । हामीले सुधार गर्नुपर्ने कुराहरु धेरै छन्।
सुझाव
जोखिम र जोखिम क्षेत्रको पहिचान गरौं । बिकास निर्माण, बसाईसराई, औद्याेगिकीकरण, सहरीकरणको लागि अनिवार्य ईआईए प्रक्रिया पूरा गरौं।
हरियो वन जंगलले भरिपूर्ण सुन्दर देशले बनजंगल बापतको लाभलाई बिश्वबाट लिने काम गरौं । संरक्षण क्षेत्र ३० प्रतिशत पुर्याउने राष्ट्रिय संकल्प पूरा गरेर देखाउँ र आफ्नो धर्तीलाई आडिलो दरिलो बनाउँ।
बिकास होस् या प्राकृतिक श्रोतको ब्यवस्थापन त्यसलाई जलवायुमैत्री बनाउँ। पूर्वधार बिकासलाई प्रकृतिमैत्री बनाउन बिलम्ब भैसकेको छ।
स्वच्छ र नवीकरणीय उर्जा बिकास, कार्बन ब्यापारमा कटौती गरी दिगो बिकासमा अग्रसर हुन जरुरी छ।
पर्ती जमिन, बाँझो जमिन, भिरालो जमिन, र भिरपाखामा बृक्षारोपण गरेर हरित अभियान चलाउन जरुरी छ। सिमसार र जलासयहरुको संरक्षण, नयाँ पोखरीहरु निर्माण, मुहानहरुको संरक्षण, बर्षाको पानी संकलन गरेर जमिन चिस्याउन जरुरी छ। अतिक्रमणहरु हटाउन र रोक्न सवैले बालेन मोडल अख्तियार गर्न जरुरी छ ।
फोहोर मैलाको ब्यवस्थापनमा हामीले बिश्वलाई नमूना देखाउन सकेमा मात्र पर्यापर्यटन बिकासको ढोका खुल्ने छ। समृद्धि दिने लक्ष्मीको स्थायी बास मुलुकमा हुनेछ।
नेपाली जनता र बिश्व समुदायको मन मश्तिष्क जित्ने यो सुवर्ण अवसरलाई प्रकृति संरक्षणको ऐतिहासिक खम्बा फष्टरेस्पोण्डर नेपाली सेनाले भरपूर उपयोग गुर्नपर्दछ।
हिमाल पहाड तराई सर्बत्र एकजना नेपाली अथवा बिदेशी मान्छेको ज्यान नजाने उद्धार प्रतिबद्धता र तत्परतालाई ब्यबहारमा उतारेर देखाउनुपर्दछ। ब्यारेक सरसफाई, बृक्षारोपण, जलासय निर्माण, चुरे संरक्षण, हिमाल सफाई जस्ता काममा उसले राष्ट्रिय अन्तर्राष्ट्रिय रेकर्ड राख्ने पहल र प्रयास गर्नुपर्दछ।
अन्त्यमा,
स्मरण रहोस् भिजनरी र कुशल नेतृत्व, प्रभावकारी सुशासन, हरेक बिपद नियन्त्रणको लागि बरदान हो। कुसाशनले सृजित रोग, भोक, अभाव, बेरोजगारीको क्षति हजारगुना धेरै पीडादायी छ। भ्रष्टाचार र गरिबी प्रकृतिको दुश्मन हो।
प्रकृति र मातृभूमिले खोजेको सुशासन दिनसक्ने कुसल, गतिशील, प्रतिबद्ध, त्यागी सशक्त सरकार हो। हरेक समस्या समाधानको पहिलो सर्त र आवस्यकता त्यही हो। प्रतिबद्ध र त्यागी नेतृत्वलाई बिपद् ब्यवस्थापन र नियन्त्रण चुड्कीको सजिलो खेल हो।ठूलो धर्म हो। प्रकृति बिरोधी टेस्टेड थोत्रा नेतृत्वलाई हराउन र प्रकृतिप्रेमी तथा संरक्षणप्रेमी युवा नेतृत्वलाई चयन गर्न वातावरणप्रेमी मतदाताहरुलाई सुनौलाे अवसर प्राप्त छ। त्यो माया दया सिण्डिकेटको होइन, परिवर्तन र कठोर निर्णयको क्षण हो।
लेखक संरक्षककर्मी हुन्।
Facebook Comment