भारत एसिया कप २०२३ खेल्नका लागि पाकिस्तान नजाने, पाकिस्तानीहरु आक्रोशित
काठमाडौं । बीसीसीआई सचिव जय शाहले एसिया कपमा भारत तटस्थ स्थानमा खेल्न चाहेको बताएपछि पाकिस्तानले मङ्गलबार भारतलाई अर्को वर्ष भारतमा हुने विश्वकप प्रतियोगिताबाट पछि हट्न चेतावनी दिएको छ ।
पूर्वनिर्धारित तालिका अनुसार एसिया कपको अर्को खेल पाकिस्तानमा हुनेछ र यो एसियाली क्रिकेट काउन्सिल (एसीसी) को कार्यकारी समितिको निर्णय हो । यो संयोग पनि हो कि जय शाह एसियाली क्रिकेट काउन्सिलका अध्यक्ष पनि हुन् । मंगलबार मुम्बईमा भएको बीसीसीआईको वार्षिक साधारण सभामा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
मंगलबार मुम्बईमा बीसीसीआईको वार्षिक साधारण सभापछि पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा जय शाहले भने, “भारत एसिया कपमा तटस्थ स्थानमा खेल्नेछ।”
समाचार एजेन्सी पीटीआईले पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमीज राजाको नजिकको स्रोतलाई उद्धृत गर्दै भनेको छ कि जय शाहको बयान पछि उनी ५० ओभरको आईसीसी विश्वकपबाट बाहिरिने विकल्प हेरिरहेका छन्।
उनले भने, “पीसीबी अब कडा निर्णय लिन तयार छ। हामीलाई थाहा छ यदि पाकिस्तानले यी टूर्नामेन्टमा खेलेन भने आईसीसी र एसीसी इभेन्टहरूले आर्थिक दायित्व बेहोर्नुपर्नेछ।”
जय शाहको भनाइमा पीसीबीले अहिलेसम्म आधिकारिक प्रतिक्रिया नदिए पनि पीसीबीका प्रवक्ताले भनेका छन्, ‘हामीसँग अहिले केही भन्नु छैन तर अर्को महिना मेलबर्नमा हुने आईसीसी बोर्ड बैठकमा यस विषयमा छलफल गर्नेछौँ ।”
विगतमा एसिया कप तटस्थ स्थानमा आयोजना हुँदै आएको छ । घरेलु मोर्चामा आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले अस्वीकार गरेपछि गत महिना युएईमा २०२२ एशिया कप आयोजना भएको थियो।
भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण यी दुई देशले एसिया कप र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै एकअर्काविरुद्ध खेल्छन्।
गत महिना भएको एसिया कपमा दुवै टोलीले एकअर्काविरुद्ध दुई खेल खेलेका थिए भने टी–२० विश्वकपमा पनि अक्टोबर २३ मा मेलबर्नमा दुवै देश भिड्ने छन् ।
सन् २००८ को एसिया कपपछि भारतले पाकिस्तान भ्रमण गरेको छैन। पाकिस्तानी टोली पछिल्लो पटक सन् २०१२ मा द्विपक्षीय शृङ्खलाका लागि भारत आएको थियो।
बीसीसीआईको यो निर्णयपछि पाकिस्तानमा ट्विटरमा धेरै प्रतिक्रियाहरु आइरहेका छन् । लाहोरका इसरार अहमद हाश्मीले ट्वीटरमा लेखेका छन्, “भारत सरकारले फेरि खेलकुदमा राजनीति रोजेको छ। यो लज्जास्पद छ।”
Facebook Comment