निर्वाचन आचारसंहिता विपरित सुरक्षाकर्मीको समूह लिएर भोट माग्दै गृहमन्त्री
भैरहवा। गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी प्रशासनको झुन्ड लिएर मत माग्दै हिँडेका छन्। आउँदो ४ मंसिरमा हुने प्रतिनिधि चुनावका लागि रुपन्देही ३ बाट उम्मेदवार बनेका खाँण भैरहवामा वडास्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन गर्न दर्जन बढी प्रहरी लिएर पुगेका हुन्।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँणकाे सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र सादा पोसाकका सुरक्षाकर्मी गरी दुई दर्जन बढी प्रहरी खटिएका छन्।
जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको कमान्डमा गाडीसहित प्रहरी परिचालन गरेको छ भने सशस्त्र प्रहरीको २७ नम्बर गणले पनि सशस्त्र प्रहरी निरीक्षककै कमान्डमा सशस्त्र प्रहरी गाडीसहित छ। ट्राफिक प्रहरी पनि ट्राफिक व्यवस्थापनका लागि खटेको छ।
बहालवाला मन्त्री भएकाले सरकारले नै व्यक्तिगत सुरक्षाका लागि सुरक्षाकर्मी प्रदान गरे पनि क्षेत्रगत रूपमा जिल्लाबाट पनि कार्यक्रम भएको स्थलमा प्रहरी परिचालन हुँदै आएको छ।
घन्टाैंसम्म हुने कार्यक्रममा सुरक्षाकर्मी क्षेत्र नम्बर ३ का उम्मेदवारसँग सँगै छन्। बहालवाला मन्त्रीले नै निर्वाचन आचारसंहिता २०७९ विपरीत आफ्नै प्रचारप्रसारमा हिँडेका छन्।
चुनावको रन्को लागेदेखि मन्त्रालयमा समय नदिई प्रहरीको गाडीसहित प्रचारप्रसारमा मत माग्दै हिँडिरहेका छन्। सरकारी खर्चमा सरकारको गाडी प्रयोग गर्दै प्रचार प्रसारमा मतका लागि अनुरोध गरिरहेका छन्।
निर्वाचन मिति तयभएपछि गृहमन्त्रीको ध्यान नेपालतर्फ हुनु पर्नेमा उम्मेदवारी दिएको क्षेत्रमै रहेको छ। ‘उहाँ आउँदा हामीलाई आवागमनमा समस्या भइरहेको छ, प्रहरीले यताबाट नजाउ उताबाट जाऊ भन्दै बाटो देखाइरहेकाे छ। यति नै सुरक्षाको डर छ भने निर्वाचन किन लड्नु भएको हो, सधैं भैरहवामै हिँडिरहँदा हामीलाई सास्ती भएको छ,’ एक बटुवाले भने।
निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को ४ (क) मा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधान र सम्पति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ।
त्यस्तै परिच्छेद ३ को दफा ५ क १ को (क)मा प्रतिबन्धाथ्मक वाक्यांशबमोजिम निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा संलग्न हुदा सरकारी स्रोत र साधानको प्रयोग गर्न नहुने छ। तर सरकारकै गाडी रहेको प्रहरीको गाडी प्रयोग भएको छ।
Facebook Comment