टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले हरायो
काठमाडौं । टी–२० विश्वकपको सुपर १२ खेलमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले पराजित गरेको छ । आइतबार होबार्टमा भएको खेलमा आयरल्याण्डले श्रीलंकालाई १२९ रनको लक्ष्य दिएको थियो ।
श्रीलंकाको टोलीले सुस्त सुरुवात गरेको थियो । कुसल मेन्डिस र धनञ्जय डि सिल्भाले टोलीको नेतृत्व राम्रो गरेका थिए । यी दुईबीच ६३ रनको साझेदारी थियो ।
धनञ्जय डि सिल्भाले कुल ३१ रन बनाए । उनी आउट भएपछि मैदानमा आएका चारिथ असालान्काले २१ बलमा अविजित ३१ रन बनाए । कुसल मेन्डिसले ४३ बलमा अविजित ६८ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्याण्डको टोलीको सुरुवात राम्रो भएन । दोस्रो ओभरमा आयरल्याण्डलाई पहिलो झटका लाग्यो । दोस्रो विकेट पनि पाँचौं ओभरमा २६ रनमा खसेको थियो । श्रीलंकाका बलरका अगाडि आयरल्याण्डका ब्याट्सम्यानले खासै कमाल देखाउन सकेनन् ।
आयरल्याण्डले २० ओभरमा आठ विकेट गुमाएर १२८ रन बनाएको थियो । आयरल्याण्डका लागि ह्यारी टेक्टरले सर्वाधिक ४५ रन बनाए । त्यसपछि पल स्टर्लिङले ३४ र जर्ज डकरेलले १४ रन जोडे ।
Facebook Comment