न्याय रोएपछि… (भिडियाे)
काठमाडौं। तीस वर्षे पञ्चायती व्यवस्थाको कालरात्री, जनताका आवाज दबाउन उद्यत राज्य सत्ता, नेपालबाहेकका दक्षिण एसियाली मुलुकमा प्रजातन्त्रको लहर।
मुलुकमा जनताले शासन गर्न पाउने व्यवस्थाका लागि हजारौंको बलिदानी, महान राजनेता नजरबन्दमा। तर जनतामा भरिँदो उकुसमुकुस चुलिँदो अवस्थामा पुगेपछि अन्ततः २०४६ सालको जनआन्दोलन सफल भयो।
जनताले विजयोत्सव मनाए। जनताका हक अधिकार स्थापित मात्रै भएनन्, जनतामा विकासको मुल फुट्छ भन्ने तीव्र अपेक्षा पनि थियो।
०४६ सालको जनआन्दोलन पछि मुलुकमा रोजगारीको सृजना हुन्छ, आफ्नै मातृभूमिमा केही गर्न सकिन्छ भनेर जनआन्दोलनमा सशक्त रुपमा होमिएका, घाइते भएका जिउँदो सहिद भन्न मिल्ने युवाहरुको सपना त्यतिबेला चकनाचुर भए जति बेला जनआन्दोलनपछि गठन भएका सरकारले जनभावना भन्दा पनि आफू र आफ्ना मानिसका लागि काम गर्न थाले।
लामो संघर्ष र वलिदानीपछि प्राप्त व्यवस्थाले जनताका हक अधिकार स्थापित गर्यो, वाक् स्वतन्त्रता संविधानको मौलिक हकमा उल्लेख गरियो। दक्षिण एसियाकै उत्कृष्ट संविधान निर्माण गरियो, संविधान निर्माण सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा भएको थियो। अन्तरिम सरकारको नेतृत्व गर्दा नै भट्टराईले शासन सत्ता कसरी सञ्चालन गर्नुपर्छ भनेर मार्गनिर्देश गरिसकेका थिए।
लाखौ युवा मुलुकभित्रै रोजगारीको सृजना हुने सुन्दर सपना देख्न थालेका थिए। किनभने नेतहरुले मुलुकलाई सिंगापुर बनाउने आश्वासन दिन थालिसकेका थिए। प्रजातन्त्र स्थापना पछि सम्पन्न आम निर्वाचनमा जनताले बहुमतको स्थिर सरकार पनि दिएका थिए। तर बहुमतको सरकारले पूर्ण कार्यकाल काम गर्न सकेन र मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुन पुग्यो।
त्यस्तो अवस्थामा झण्डै आफ्नो प्राण उत्सर्ग गर्न पुगेका युवाहरुको सपना धुमिल बन्न थाल्यो। युवाको काँधमा मुलुक बनाउने जिम्मेवारी दिएका देश आज विकासको उत्कर्षमा पुगेका छन्। आज विकसित मुलुक हेर्ने हो भने ती देशको महत्वपूर्ण स्थानमा युवा छन्। तर प्रजातन्त्र स्थापनापछि नेपाल भने युवा शक्ति विदेश निर्यात गर्ने देशमा परिणत भएको छ।
त्यसकै सिकार जनआन्दोलनमा सक्रिय भएका युवाहरु हुन पुगे। समयक्रममा उनीहरु विश्व शक्तिसम्पन्न मुलुकमा पुगे। अमेरिकामा पुगेका युवाहरुमा देशप्रतिको माया र सम्मानमा कमी आउने प्रश्नै थिएन। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’। तन सुविधासम्पन्न मुलुकमा भएपनि मन भने आफ्नै माृतभूमिमा नै हुन्थ्यो।
०४६ सालको जनआन्दोलनपछि पनि मुलुकले धेरै व्यवस्थालाई व्यहोरेको छ। माओवादी सशस्त्र द्वन्द्वदेखि राजाको प्रत्यक्ष शासनकाल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा मुलुकको अवस्थामा सुधार हुन सकेको छैन। अझ नेपाल अहिले युवा शक्ति अन्तर्राष्ट्रिय श्रम बजारमा निर्यात गर्ने प्रमुख मुलुक बनेको छ। नेपाल वृद्धाश्रममा परिणत हुँदैछ। मुलुकमा न्याय मरेको छ।
२०४६ को जनआन्दोलनपछिको समयमा आम जनतामा युवाहरुलाई नेतृत्व दिनुपर्छ भन्ने परेको थियो । र, मतदातालाई युवाहरुलाई नै मतदान गरे ।
तैपनि देशमा जनताले चाहेअनुसारको परिवर्तन आउन सकेन। अहिले वृद्ध भइसके भनिएका नेताहरु तत्कालीन समयमा युवा नै थिए । उनीहरुलाई मतदाताले युवा नै ठानेर नेतृत्वमा पठाएका थिए । तर, उनीहरुबाट जनताका अपेक्षा पूरा हुन सकेन। अहिले पनि तिनै नेताहरु नेतृत्वको आकांक्षी देखिएपछि उनीहरुलाई विस्थापित गरेर युवा नेतृत्व ल्याउनुपर्छ भन्ने आवाज उठ्न थालेको छ।
तर, यहाँनर बुझ्नुपर्ने कुरा के हो भने नेतृत्व युवा वा पाको हुँदैमा फरक पर्दैन। मूल कुरा नीति, भिजन र योजना हो। महाशक्ति राष्ट्र मानिने अमेरिकामा ४८ वर्षका बाराक ओबामालाई पनि नेतृत्व दिइएको थियो र ८० वर्षका जो बाइडेनले पनि अहिले नेतृत्व गरिरहेका छन्। र, अमेरिकालाई उनीहरुको उमेरले फरक परेको छैन।
नेपालको हकमा पनि देशलाई कता लैजाने भन्ने कुरा नेताको दूरदृष्टि, रणनीति र योजनामा भर पर्छ। अहिले वीपीको समाजवाद, मदन भण्डारीको जनताको बहुदलीय जनवाद जस्ता सैद्धान्तिक नीतिहरु ओझेल परिसकेका छन्। वीपीको पार्टी नेपाली कांग्रेस त छ तर यसको नेतृत्वले वीपीको विचारधारा बिर्सिसकेको छ।
मदन भण्डारीको पार्टी त अहिले दुई टुक्रा भइसकेको अवस्था छ। यस्तोमा अब समय सुहाउँदो नयाँ नीतिको खोजी गर्नुपर्ने बेला आएको छ। समय बदलिइसकेको छ। अब पुराना नेताहरुले कैयौं दशक पहिले परिकल्पना गरेका नीति र सिद्धान्तहरुकै पछि लागेर देश अगाडि बढ्ने अवस्था छैन।
बदलिँदो विश्व परिवेश, जनताको चेतनास्तर, विज्ञान र प्रविधिको विकास आदि कुरालाई ध्यानमा राख्दै नयाँ किसिमले मुलुकको भविष्यको परिकल्पना गर्नुपर्ने बेला आएको छ । र, त्यही भिजन भएका नेताले जिम्मेवारी पाएमा मात्र देश अगाडि बढ्न सक्नेछ ।
मेरो जन्मभूमि नेपालमा न्याय रोयो
न्याय असहाय भयो !
न्याय अपमानित भयोे !
‘वसुधैव कुटुम्बकम्’ को दिव्य राग गाउने
आध्यात्मिक र वहुसांस्कृतिक भूमि
मेरो नेपालमा
न्याय कुण्ठित भयो !
न्यायलय जस्तो पवित्र ठाउँमा आज न्याय किनबेच हुन थालेको छ। इमान्दार निष्ठावान नेता कार्यकर्ता ओझेलमा पार्न थालेका छन्। आफ्नो स्वार्थ पूरा नहुने अवस्थामा न्यायमूर्तिलाई महाभियोग लगाउन थालिएको छ र निवासमै राख्न थालिएको छ। व्यवस्था परिवर्तनका लागि सक्रिय भएर आज सुविधा सम्पन्न मुलुकमा भएकाहरुलाई लाग्न थालेको छ :
आफ्नो जन्मभूमिको आकाश मलिन भएको छ !
अशान्तिका बादलहरू मडारिंदै छन् !
मेरो शान्तिप्रिय, बुद्धभूमि नेपालमा !
भिडियाे
Facebook Comment