आइतबार राति नेपालगन्जमा दुई समूहबीच गोली हानहान

काठमाडौं। तिहारको बेला नेपालगन्जमा आइतबार राति दुई समूबीच गोली हानहान भएको छ। नेपालगन्ज उपमानगरपालिका वडा नम्बर ८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली हानहान भएको हो।
प्रहरीका अनुसार दुई समूहबीच विवाद हुँदा एक पक्षले अर्को पक्षलाई घेरेपछि घेरामा परेको पक्षले हवाई गर्दा अर्को पक्षले पनि हवाई फायर गरेको थियो। बाँके प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले उक्त घटनामा दुईवटा आपराधिक गिरोहको संलग्नता रहेको प्रारम्भिक सूचना प्राप्त भएको तर कोही पनि पक्राउ नपरेको बताए।
उनले दुवै पक्षका व्यक्तिहरुको नाम थाहा भएपनि कसैलाई पनि पक्राउ नगरिएको बताए। ‘नेपालगन्जकै स्थानीयवासी रहेका उनीहरुको खोजीकार्य तीव्र पारिएको छ’, आज साँझसम्म पक्राउ पर्छन’, डिएसपी घर्तीमगरले भने।
उनले यस घटनालाई गम्भीर घटनाका रुपमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए। सीमावर्ती सहर नेपालगन्जमा हातहतियारको अवैध घुसपैठ भएकाले यस्ता घट्नाहरु बढ्न थालेका स्थानीय वासिन्दाहरुले बताएका छन्।
तिहारको बेला र आसन्न निर्वाचनको सम्मुखमा गोली चलेपछि यसले थप जोखिम र खतरातर्फ संकेत गरेको छ। प्रहरीले सुरक्षा व्यवस्थामा थप संवेदनशीलता देखाएको बताएपनि आपसमा झगडा गर्नेहरु पक्राउ नपर्नुले स्थानीयहरुले प्रहरीको क्रियाशीलताबारे प्रश्न उठाएका छन्।
Facebook Comment