आमनिर्वाचन-२०७९

दाङ-२ : एमालेका ‘हेवी वेट’ उम्मेदवार पोखरेललाई माओवादी उम्मेदवार शर्माको चुनौती

शरद रिजाल
११ कार्तिक २०७९ ६:५६

दाङ। दाङको क्षेत्र नं २ मा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य रेखा शर्माबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको हो।

प्रतिनिधि सभा र प्रदेशसभाका लागि मंसिर ४ को निर्वाचन नजिकिएसँगै दाङको क्षेत्र नं २ मा चुनावी रौनक निकै पेचिलो बन्दै गएको छ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेल यसपटक दाङ क्षेत्र नं २ मा उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनको तर्फबाट यस क्षेत्रमा नेकपा (माओवादी केन्द्र) की उम्मदेवार रेखा शर्मा चुनावी मैदानमा उत्रिएकी छिन्।

एमालेका प्रभावशाली नेता मानिएका पोखरेल चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका हुन्। उनी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन्।

अघिल्ला चुनावी दौडमा दुई पटक पराजित भएका उनी यसपटक गठबन्धनकी उम्मेदवार शर्मासँग चुनावी मैदानमा होमिएका छन्। दाङको कम्युनिष्ट आन्दोलनमा परिचित शंकर पोखरेल पार्टीमा वैचारिक र राजनीतिक क्षमता भएका नेता मानिन्छन्। राजनीति र अर्थशास्त्रमा गहिरो रुचि राख्ने उनी एमालेको भावी उत्तराधिकारीको रुपमा समेत हेर्ने गरिन्छ।

पार्टीभित्रका कैयौं सिनियरलाई पछि पार्दै महासचिव बनेका उनी संसदीय निर्वाचनमा भने त्यति अब्बल नदेखिएको बिगतका घटनाक्रमले दर्शाउँछ।
२०५१ सालमा दाङ क्षेत्र नं ३ बाट निर्वाचित भएका उनी त्यसयताका अधिकांश निर्वाचन भने उनलाई सकसपूर्ण नै देखिएको छ।

२०५६ को एमाले बिभाजित कालमा तत्कालीन क्षेत्र नं ३ मा कांग्रेसका कृष्णकिशार घिमिरेसँग पराजित भएका थिए। २०६४ को निर्वाचनमा एमालेको समानुपातिकतर्फ सांसद भएका उनी २०७० मा क्षेत्र नं ३ (तत्कालीन पाँच निर्वाचन क्षेत्रमध्ये) बाट कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भए।

२०७४ मा वामगठबन्धन हुँदा मुख्यमन्त्री बन्ने गरी दाङकै क्षेत्र नं २ (क) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी तीन बर्ष मुख्यमन्त्री भएर कार्यभार ब्यतित गरिसकेका हुन्।

मुख्यमन्त्री भएको सुरुवाती चरणमा संतोषजनक कार्य गरेका थिए। उनले नेकपा बिभाजनपछि फेरिएको समिकरणका कारण सत्ता टिकाउन प्रदेश प्रमुखकै कार्यकक्षमा शपथ ग्रहण गरेको बिषयले भने केही बिवादित बन्न पुगे। त्यसयता चर्चामा रहेको विमला वली अपहरण प्रकरणले समेत उनलाई थप विबादित बनायो।

उनै शंकर पोखरेल र माओवादी नेत्री तथा पुर्वमन्त्री रेखा शर्मासँगकोचुनावी भिडन्तलाई लिएर अनेकौं अड्कलबाजी सुरु हुन थालेको छ। कतिपयले यसपटको निर्वाचनमा गठबन्धनले इमानदारिता प्रदर्शन गरे शर्माको जीत सुनिश्चित हुने बताइरहेका छन् भने कांग्रेसकै टिकट बाँडफाँटमा असन्तुष्ट पक्षले सहयोग गर्ने र आफ्नो पक्षमा परिणाम ल्याउन सकिने आकलन एमालेले गरेको छ। कांग्रेसकै असन्तुष्ट पक्षको मत तान्ने चेष्टा एमालेले गरेको समेत कतिपय एमालेका नेताहरु बताउँछन्।

एमाले दाङका सचिव तथा क्षेत्र नं २ मा महासचिव पोखरेलकै चुनावी प्रचार प्रसारको नेतृत्व गरिरहेका नेता मनोहर बुढाथोकी भने यसपटक निर्वाचनमा पोखरेलको जित सुनिश्चित भइसकेको बताउँछन्।

उनले पोखरेलले राष्ट्रिय राजनीतिमा खेलेको भुमिका र मुख्यमन्त्री हुँदा गरेका उल्लेख्य कार्यले जीत सुनिश्चित भएको बताए। उनले डिसी नेपालसँग भने, ‘मुख्यमन्त्री हुँदा दाङमा राजधानी ल्याउने महत्वपूर्ण कार्य नै उहाँको निर्वाचन जित्ने मुख्य आधार हो।’ महासचिव पोखरेलको ब्यक्तित्व नै निर्वाचन जित्ने पहिलो आधार भएको बुढाथोकीको भनाइ छ।

पोखरेलको जीतलाई सहज बनाउन असन्तुष्ट कांग्रेसले एमालेलाई सहयोग गर्ने आशंका समेत ब्यक्त गर्ने गरिन्छ। पोखरेललाई २०५६ मा क्षेत्र नं ३ बाटै पराजित गरेका कृष्णकिशोर घिमिरे यस पटक चुनावमा अन्तिमसम्म प्रदेशसभातर्फ (क) मा उम्मेदवारको आकांक्षी थिए तर उनले टिकट पाउन सकेनन्। कांग्रेसका राजु खनालले टिकट पाए। यसर्थ उनी असन्तुष्ट रहेको बताइन्छ।

यद्यपि दाङ कांग्रेसले भने असन्तुष्ट नरहेको बताएको छ। कांग्रेस क्षेत्र नं२का सभापति भीमप्रकाश खड्काले असन्तुष्ट नरहेको बताए। यसपटक गठबन्धनमा कुनै शंका उपशंका नरहेको र गठबन्धनका उम्मेदवार जिताउन सबै होमिएको उनले बताए।

उनले डिसी नेपालसँग भने,‘यस पटकको निर्वाचनमा गठबन्धनमा आवद्ध दल र उम्मेदवारबीच कुनै प्रकारको शंका उपशंका नभइ निर्वाचनमा विजयी बनाउने एकमात्र उदेश्यका साथ सबै निर्वाचन केन्द्रित गतिबिधिमा लागेका छौँ।’

माओवादी आन्दोलनमा लामो समयदेखि लागेकी शर्मा माओवादीभित्र शसक्त महिला नेत्रीको रुपमा चिनिन्छन्। राजनीतिक कारणले युद्धकालमा जेलनेलको कष्टप्रद यात्राबाट आएकी उनी माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्व कालमा सामान्य प्रशासन मन्त्री समेत भइसकेकी हुन्।

कुनै समय माओवादी निकट महिला संघको नेतृत्व सम्हालेकी उनले माओवादी युद्धको प्रतिकुल अबस्थामा उपत्यकाको जिम्मेवारी समेत सम्हालेकी थिइन्। सोहीक्रममा पक्राउ परेकी शर्माले लामो समय जेलजीवन ब्यतित गरेर रिहा भएकी हुन्।

उनका श्रीमान कृष्णध्वज खड्का समेत माओवादीका प्रभावशाली नेता मानिन्छन्। एकै समयमा पार्टीका दुई भातृ संगठनको नेतृत्व कुनै समयमा यी दुबैले गरेका थिए। माओवादी निकट बिद्यार्थी संगठनको अध्यक्ष भएर कार्यभार बहन गरेका थिए भने शर्मा महिला संघको अध्यक्ष भएकी थिइन्।

प्युठानबाट प्रदेशसभामा निर्वाचित उनका श्रीमान खड्का हाल लुम्बिनी प्रदेशका अर्थ मन्त्री छन्। दाङ- २ मा चुनावी मैदानमा रहेकी शर्माको प्रत्यक्षतर्फ चुनावी दौडको पहिलो अनुभव हो यस अगाडि समानुपातिकतर्फ सांसद भएकी उनी पहिलो पटक प्रत्यक्ष चुनावी दौडमा छिन्।

स्थानीय तहको मत परिणामले माओवादी शशंकित

दाङका दुई उपमहानगरपालिकामा गएको स्थनीय निर्वाचनमा गठबन्धनले सन्तोषजनक परिणाम निकाल्न नसकेको कटुु यथार्थले माओवादी शशंकित छ।

गठबन्धनले सहजै जीत निकाल्ने आकलन गरिएको दाङका दुई उपमहानगर गुमाएको गठबन्धन आशन्न निर्वाचनमा सोही अबस्था दोहोरिने त्रासमा माओवादी छ। स्थानीय निर्वाचनमा गठबन्धनको तर्फबाट माओवादी र कांग्रेसकै दुबै उम्मेदवार यस क्षेत्रकै घोराही उपमहानगरमा पराजित भएका थिए।

यस पटकको निर्वाचनमा शर्मालार्ई निर्वाचन जित्न गठबन्धनभित्रको कांग्रेसको मत निर्णायक हुने देखिन्छ। माओवादीको सांगठनिक अबस्था यस क्षेत्रमा त्यति मजबुद देखिँदैन।

कांग्रेसले असहयोग गरे यसै भन्न नसकिने स्थिति रहेको दाङ क्षेत्र नं २कै एक माओवादी नेता बताउँछन्। ती नेताले भने, ‘गठबन्धनका दलहरु एक अर्काप्रति इमान्दार हुने हो भने जीत निश्चित छ तर गत स्थानीय निर्वाचन जस्तै भए यसै भन्न सकिन्न।’

उनका अनुसार स्थानीय निर्वाचनको समयमा जस्तै हुने हो कि भन्ने आशंका माओवादीमा ब्याप्त छ। गएको स्थानीय निर्वाचनमा दाङका घोराही तुलसीपुर दबै उपमहानगर गुमाएको गठबन्धनमा आबद्ध दलहरु यसपटक एक अर्काप्रति अन्तर्घात हुनेमा शशंकित छन्।

नेत्री शर्मा जनता र कार्यकतासँग सहजैे अन्तर्घुलन हुने स्वभावले मतदाता आकर्षित गर्ने संभावना बढेर गएको समेत दाङ २ को चुनावी रौनकलाई नजिकबाट नियालेका एक स्थानीय बताउँछन्।

यसको विपरीत पोखरेल मतदाता र कार्यकर्ताबीच कम घुलमिल हुने प्रवृत्तिले समेत चुनावी परिणाममा केही असर पार्ने आशंका ती स्थानीय ब्यक्त गर्दछन्। पोखरेलका मतदातासँग सहजै घुलमिल नहुने स्वभाबजन्य कमजोरीले समेत मतपरिणाममा बदलाव आउने सक्ने आशय ती स्थानीय मतदाताको छ।

यस्तो छ दलीय मतभार

दाङ क्षेत्र नं २मा रहेको घोराही उपमहानगरपालिकामा गएको स्थानीय तह निर्वाचनमा एमाले एक्लैले गठबन्धनलाई मेयरमा करिब पाँच हजार मतान्तरले जीत हासिल गरेको छ। यस निर्वाचन क्षेत्रमा रहेकोे अर्को बंगलाचुली गाउँपालिकामा भने गठबन्धनले दुई हजार मतान्तरले अध्यक्ष र उपाध्यक्ष दुबैमा जीत हात पारेको छ।

गएको स्थानीय तहमा वडाध्यक्षहरुले प्राप्त गरेको मतपरिणाम अनुसार यस क्षेत्रमा एमालेको मत अन्य दलभन्दा सर्बाधिक मतले बढी छ। गएको स्थानीय निर्वाचनको मतपरिणाम अनुसार दाङ २ मा वडाअध्यक्षले प्राप्त गरेको मतपरिणाम अनुसार यस क्षेत्रको दास्रो दल कांग्रेस भन्दा १० हजार २९२ मतले एमाले अगाडि छ।

एमालेको ३३५९३ मत हुँदा कांग्रेसको २३३०१ मत रहेको छ। माओवादीको जम्मा मत १०४७८ रहेको छ। त्यस्तै यस क्षेत्रमा राप्रपाको ३२६४ र एकीकृत समाजवादीको २३४१ मत रहेको स्थानीय तहको मतपरिणाम अनुसार देखिन्छ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *