पाकिस्तानसँग एक खराब कप्तान छन् भन्ने कुरामा कुनै शंका छैन – शोएब अख्तर
काठमाडौं । पाकिस्तानका पूर्व फास्ट बलर शोएब अख्तरले जिम्बावेसँगको हारले टोलीको कमाण्ड खराब कप्तानको हातमा रहेको प्रमाणित भएको बताएका छन् ।
अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको बिहीबार भएको खेलमा जिम्बाब्वेले पाकिस्तानलाई रोमाञ्चक खेलमा १ रनले पराजित गरेको छ । पाकिस्तानले अन्तिम एक बलमा तीन रन बनाउनु परेको थियो। तर उसका ब्याट्सम्यानले त्यसो गर्न सकेनन् । पाकिस्तानको ६ विकेटपछि खेल रोमाञ्चक स्थितिमा पुगेको थियो ।
अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि ११ रन आवश्यक थियो। ८८ रनमा पाकिस्तानको पाँच विकेट खसेको थियो । सिकन्दर रजाले लगातार दुई बलमा दुई विकेट लिएर पाकिस्तानलाई समस्यामा पारेका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले आठ विकेट गुमाएर १३० रन बनाएको थियो । जिम्बाब्वेका लागि सेन विलियम्सले सर्वाधिक ३१ रन बनाए ।
शोएब अख्तरले आफ्नो युट्युब च्यानलमा भने, “म के भनूँ ? म भन्छु कि पाकिस्तानमा खराब कप्तान छ भन्नेमा कुनै शंका छैन। लगातार दोस्रो हार र टोली विश्वकपबाट लगभग बाहिर भइसकेको छ। नवाजबाट अन्तिम ओभर गराएर हामीले तीन खेल हारेका छौं। कप्तानमा कमीकमजोरी धेरै छन् । टोलीले कसरी खेलिरहेको छ बुझिनँ । व्यवस्थापनदेखि पीसीबीसम्म कसैलाई के गर्ने भन्ने केही थाहा छैन ।”
शोएबले ओपनरको बारम्बार असफलताको पनि उल्लेख गरे ।
उनले भने, “ओपनरहरू लगातार असफल भइरहेका छन्। फखर जमान बसिरहेका छन्, तर उनलाई खेलाइएको छैन। उनले ब्याकफुटमा राम्रो खेल्न सक्छन् । तर व्यवस्थापनले कस्तो सोचेको छ मलाई थाहा छैन।”
शोएबले फेरि बाबर आजमलाई निशाना बनाएर भने, “तिमीले भारतलाई जितिसकेको खेल दियौ। किन बाबर आजमले सही हिसाब गर्न सकेनन्। किन नवाजलाई अन्तिम ओभर दिइयो। बाबरका यी निर्णयहरूबाट म निकै निराश छु।
Facebook Comment