बिगत सम्झिँदा त्रासदी, अहिलेका चुनावी सारथि

शरद रिजाल
१२ कार्तिक २०७९ ७:४८

काठमाडौं। संघ र प्रदेशको निर्वाचन सन्निकट केही चुनावी समिकरण र मोर्चा कतिपय स्थान विशेषका आधारमा अप्रत्याशित र अशोभनीय देखिएका छन्। कुनै समय राजनीतिक शत्रुताको ब्यबहार गर्ने नेता र राजनीतिक दलको चुनावी मोर्चाले कतिपय स्थानमा बिगतलाई गिज्याएको अनुभूति हुन्छ।

यसपालीको निर्वाचनमा माओवादी लालकिल्ला भनिने रोल्पामा अचम्मित खालको चुनावी परिदृश्य देखिएको छ। सायद द्वन्द्वकालको अनुभव बटुलेका जो कसैलाई वर्तमानका केही बिलकुलै फरक दृश्यले अचम्मित नतुल्याउने सायदै कमै होलान्।

सदैब प्रतिस्पर्धी देखिएका कांग्रेस र माओवादी यस क्षेत्रमा सहयात्री भएका छन्। उनीहरुको बिगतको शत्रुतापूर्ण तिक्तता र कटुता बिर्साउने चुनावी मोर्चा देख्दा रोचक र कतिपय सन्दर्भमा अप्रत्याशित र अशोभनीय जस्तो देखिएको छ। कतिपयलाई हालको परिवेशले अचम्मित र बिगत सम्झदा त्रसित समेत तुल्याउँछ।

रोल्पामा कुनै समय माओवादी र कांग्रेस एक अर्काबाट बच्दै हिड्नुपर्ने स्थिति थियो। कैयौंन माओवादी नेता कार्यकर्ता युद्धकालमा कांग्रेस सत्ताको उन्मादबाट  मारिए भने माओवादी कार्यकर्ताबाट कांग्रेसका नेता मारिए।  त्यसको आँकडा हेर्ने हो भने संख्या उल्लेख्य छ।तथापि यसपालीको चुनावमा यी दुबै एकै मोर्चाबाट चुनावी मैदानमा छन्।

बरु आफ्नै युद्धकालका नेताको उम्मेदवारीलाई गठबन्धन बिरोधी भन्दै फिर्ता ल्याउन समेत माओवादी नेताहरु निर्देशन जारी गरिरहेका छन्। रोल्पा प्रदेशसभातर्फ (ख)बाट माओवादीका युद्धकालका घाइते दिपेन्द्र पुन ‘सिजल’ले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

उनको उम्मेदवारी फिर्ता गर्न उपमहासचिव वर्षमान पुनले सार्वजनिक रुपमा आह्वान समेत गरेका छन्। उक्त क्षेत्रमा गठबन्धनबाट कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिङ पुनले उम्मेदवारी दिएका छन्।

केही दिन अगाडि गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी उपमहासचिव तथा प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुनले रोल्पामा गरिएको चुनावी सहकार्य र भागबण्डाले अन्तर्राष्ट्रिय स्तरमा शान्तिको सन्देश जाने बताएका थिए। रोल्पामा भएको गठबन्धनलाई शान्तिको प्रतिक भएको उनको भनाइ थियो।

यस्तै रोचक लाग्ने अर्को चुनावी परिदृश्य पश्चिम नवलपरासीमा देखिएको छ। माओवादी नेताहरुको टाउकाको मोल तोक्ने तत्कालीन गृह राज्य मन्त्री देबेन्द्रराज कडेललाई जिताउन माओवादीले दरिलो साथ दिएको छ।

उनै कडेलले कुनै समय माओवादी नेताहरुको टाउको झोलामा ल्याएर त्यहीँ झोलामा पैसा लैजान  पत्रकार सम्मेलनमार्फत अफर गरेका थिए। उनी कडेल स्वयम यसपटक नवालपरासी पश्चिम -२बाट चुनावी प्रतिस्पर्धामा छन्। उनका सारथि माओवादीका नेता चिनक कुर्मी छन् जो प्रदेशसभातर्फ (क) बाट कडेलकै चुनावी सहयात्री बनेर चुनावी मैदानमा उत्रिएका छन् ।  उनी माओवादीका जनयुद्धकालकै नेता हुन्। उनी अहिले कडेलकाे बलियो चुनावी सारथि भएका छन्।

यी र यस्तै थुप्रै परिदृश्यले मतदाता र कतिपय इमानदार माओवादी कार्यकर्ता हालको चुनावी मोर्चाबन्दीले अन्यौल र अचम्मित देखिएका छन्।
यो रोचक र बिगत बिर्साउने चुनावी मोर्चा सायद नेपालको इतिहासमा बिरलै भेटिने घटनाहरुमध्ये एक हुनसक्छ। तसर्थ यस्तै अवस्थाको परिकल्पना गरेर भनिएको होला, ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन।’

उसोत हिजो पञ्चायतकालीन नेताहरु पनि २०४६ सालमा बहुदलप्राप्ति पछि पालैपालो कांग्रेस र एमालेको सहारामा प्रधानमन्त्री नभएका होइनन्। तत्कालीन पञ्चायती नेताहरु राप्रपाका लोकेन्द्रबहादुर चन्द र सुर्यबहादुर थापा पालैपालो एमाले र कांग्रेसको साथ पाएर प्रधानमन्त्री बनेको इतिहास जिवितै छ।

यी त प्रतिनिधिमुलक घटनामात्र भए देशब्यापी यस्ता परिदृश्य अझै देखिन्छ। रुकुम पूर्व जहाँ माओवादीले युद्धकालमा आधार इलाका घोषणा गरेको थियो। त्यस क्षेत्रमा समेत कांग्रेस र माओवादी अनन्य चुनावी मित्र भएका छन्।

सोही जिल्लाको संघतर्फ माओवादी नेता पूर्ण घर्ती ‘आयाम’ले उम्मेदवारी दिएका छन् भने प्रदेशसभा (क) बाट माओवादी लडाकुका कमाण्डर तेजबहादुर वली ‘प्रतिक’ ले उम्मेदवारी दिएका छन्। (ख) बाट कांग्रेसका धनबहादुर केसीले उम्मेदवारी दिएका छन्।

तिनै आयाम माओवादी युद्धकालका क्रान्तिकारी गीतका रचनाकार समेत हुन्। उनको ‘कसले भन्छ क्रान्ति यहा सफल हुँदैन’ भन्ने गीत त्यस समय निकै चर्चित थियो। माओवादी युद्धमा लाग्न उत्प्रेरित गर्ने र युद्धप्रति उद्वेलित गराउने उक्त गीतले भनेझै साच्चिकै क्रान्ति सफल भएको यही त होइन? गम्भीर प्रश्न जनमानसमा उठ्ने गर्दछ।

यद्यपि वर्तमान घटनाक्रमले प्रश्न आफैंमा अनुत्तरित छ। यसले बिगतलाई नमिठोसँग गिज्याइरहेकाे छ। सायद यी र यस्तै प्रश्नले नेपालको राजनीति निष्ठा र आदर्शभावले गरिने सेवा भन्दा क्षणिक लाभको लागि गरिने नाफा र घाटाको ब्यापारको रुपमा दर्ज भएको छ।

रोल्पा रुकुमका मनिसहरुका द्वन्द्वकालका घाउहरु हालसम्मै निमिट्यान्न हुन सकेका छैनन्। अझै पनि राज्य र तत्कालीन विद्रोही माओवादीबाट हत्या गरिएका नागरिकहरुको फेहरिस्त लामै छ।

प्रत्यक गाउँ र बस्तीहरुमा युद्धकालमा नमारिएकाहरुको परिवार कमै होला। युद्धका डोब र त्यसका पीडाहरु अझैपनि ब्याप्त छन्। तर बदलिएको सत्ता समिकरण र राजनीतिक ब्यवस्थाको बदलावले त्यहाँका मानिसहरुको जीवनस्तरमा कुनै फरकपन आएको छैन। तत्कालीन राप्तीका यी जिल्लाहरु माओवादीको स्वघोषित आधारइलाका हुन्।

ती जिल्लाका अधिकांश गाउँमा तत्कालीन माओवादीको जनसत्ता कायम थियो। जहाँका गाउँ विकास समितिलाई माओवादीले गाउँ जनसरकार घोषणा गरेको थियो र उनीहरुकै हालीमुहाली हुने गर्दथ्यो । उनीहरुविरुद्ध राजनीतिक र बैचारिक विमत्ति राख्ने हो भने ‘भाटे कारबाही’ गरिन्थ्यो। जसलाई त्यस बखत उनीहरुको भाषामा भौतिक आक्रमणलाई भन्ने गरिन्थ्यो । त्यस समयमा अधिकांश कांग्रेस र एमाले कार्यकर्ता गाउँ छोडि सदरमुकाम बस्न बाध्य थिए।

हाल गठबन्धनले माओवादीको आधार इलाकामा कांग्रेसको रजगज यसपटकको चुनावमा देखिएको छ। सायद यो गठबन्धन मंसिर ४ को निर्वाचन परिणाम पछाडि आउने सम्भाबित बदलावले भने यी क्षेत्रका माओवादी कार्यकता शशंकित छन्।चुनावी परिणामपछि सत्तासमिकरण यथावत नरहने आशंका बहुसंख्यक माओवादी कार्यकर्ता ब्यक्त गर्दछन् ।

द्वन्द्वकालमा माओवादी लडाकु भएका सुनिल स्मृति-१ का घोडागाउँका शशिराम कंवर ‘संकल्प’वर्तमानका यी र यस्ता दृश्यले मन कुडिएको बताउँछन्। माओवादी युद्धमा सहभागी भएका उनले यस्तै प्रवृत्तिले आफू माओवादी छाड्न बाध्य भएको बताए।

उनले हिजोको आदर्श र मूल्यमा तीब्र स्खलन र बिचलनको पराकाष्टको उपज वर्तमानका यीनै परिदृश्य रहेको उनी बताउँछन्। हालका संसदवादी दलहरुमध्ये एक अर्कामा कुनै भिन्नता नरहेको उनको बुझाइ छ।

सरकारमा सहभागीता नै सर्वोपरी भए हिजोको युद्ध केका लागि भन्दै उनले आक्रोश ब्यक्त गर्दछन्।

उनी भन्छन्, ‘ब्यबस्था बदल्ने जनवादी राज्यसत्ता ल्याउने अभिष्टताका साथ सुरु गरिएको जनयुद्ध कहा पुग्यो आज कांग्रेसको बुइ चढेर सीमित मानिसहरु सरकारमा गएर रजाइ गर्ने बाहेक अरु के भयो,’ उनी आक्रोशित हुँदै अगाडि भने, ‘यही संसदीय ब्यवस्था नै मान्ने र कांग्रेससँग गठबन्धन गर्ने भए किन गरेको त्यत्रो युद्ध किन यत्रा मान्छे मारेको तेस्रो पार्टी त हिजो २०४८ सालमै थिएन र? आज यही दिन देख्नलाई हाे, हजारौंको जीवन बर्बाद पारेको हो?’

युवाअबस्थामै माओवादी युद्धमा सामेल भएकाले आफ्नो ब्यक्तिगत जीवन जनयुद्धले धराशायी भएको उनको भनाइ छ।

जीवनको उर्बर समय माओवादी आन्दोलनमा ब्यतित गरेका उनले हालको समय निकै कष्टप्रद तवरले बिताउँनु परेकोे दुखेसो गरे। पीडा ब्यक्त गर्दै उनले थपे, ‘हिजो नयाँ ब्यवस्था र परिवर्तन भनेर क्रान्तिमा होमियौै आज परिस्थिति रुपमा फरक सारमा उही छ । कहाँ भयो परिवर्तन इमान्दार कार्यकर्ताको बिचल्ली छ, केही मुठ्ठीभर नेताहरुको सरकारमा गएर बर्ग उत्थान भएको छ अनि तिनैले हिजोका टाउकाका मोल तोक्नेहरुसँग गठबन्धन गरेर चुनावमा उत्रिएका छन् यी सब देख्दा बिरक्त लाग्छ।’

यही अवस्थाका लागि हजारौले जीवन बर्बाद नगरेको उनको प्रष्टोक्ति छ।  हिजो एकले अर्कालाई सिध्याउन लागि परेकाहरुको गठबन्धनप्रति रोल्पाली जनताहरु सचेत भएकाले यसपटक जनताले पुनर्विचार गर्ने उनको दाबी छ।

कँवर माओवादी द्वन्द्वकालमा होलेरी काण्डका नामले परिचत रोल्पाको होलेरीमा सेनासँगको मुडभेडको स्थितिलाई साम्य पार्न सहजीकरण गर्दै तत्कालीन शाही नेपाली सेनालाई माओवादी सेनाका तर्फबाट चिठी प्रदान गर्ने लडाकु हुन्। हाल उनी रोल्पामा एमालेको राजनीतिमा सक्रिय छन् ।

वर्तमान सत्ता गठबन्धनको असलियत र यसको अन्तरनिहीत उद्देश्य यी र यस्तै घटनाबाट उजागर हुन्छ। केपी शर्मा ओलीको संसद बिघटनलाई प्रतिगमनको आरोप लगाउदै एक ठाउँमा गठजोड गरेका चार दलीय गठबन्धनको अर्को रोचक पक्ष प्युठान र बागलुङमा देखिएको छ।

संघीयताको विरोधी र आफूलाई खाटी कम्युनिष्ट बताउने र अन्यलाई दक्षिणपन्थी लगायत अनेकौं पगरी गुथाउँदै आरोपित गर्ने मोहनविक्रम सिंह चुनाव जित्न यिनै दलको साथ सहयाेग अपरिहार्य बन्न पुगेकाे छ। आजीवन नेकपा (मसाल) नामक पाटीर्को नेतृत्वमा रहेका सिंहको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा कांग्रेस र माओवादीको बैशाखी टेकेर संसदमा पुनरागमन गर्ने दाउमा सिंहकै श्रीमती दुर्गा पौडेल र अर्का सिंहका सदाबहार सहकर्मी चित्रबहादुर केसीको भगिरथ प्रयत्न जारी छ।

यिनै प्रवृत्तिबाट दिक्क भएर सायद कतिपय स्वतन्त्र युवाहरुले पछिल्लो समय ‘नो नट अगेन’ अभियान सामाजिक संजालमा तिब्रताका साथ चलाइरहेको राजनीतिक वृत्तमा आँकलन गरिएको छ।

निर्वाचन आयोगले साे अभियान बन्देज लगाउने चेष्टा गर्नु वर्तमान दल र तीनका प्रवृत्तिबाट आजित भएका मतदाता र जनताको भावनामाथि कुठाराघात गर्दै उनैलाई थप प्रश्रय दिएको भन्दै स्वतन्त्र अभियन्ताहरुले विरोध जनाएका छन्।

आफ्नो अनुकुलता र सत्ता स्वार्थलाई पुर्ती गर्न एमालेलाई प्रतिगमनकारीको आरोप लगाएर बनेको गठबन्धनले  एक सन्दर्भलाई अन्यत्र बिषयान्तर गर्दै सत्ता स्वार्थमा लिप्त भएको मात्र देखिन्छ । व्यवस्था र संविधानको रक्षार्थ भन्दै एमालेविरुद्ध खडा भएको गठबन्धन सत्तास्वार्थमा छिनिझिप्टी गर्ने कुत्सित मनशायबाट प्रेरित भएको जो कसैले सहजै अनुमान लगाउन सक्ने राजनीतिका स्वतन्त्र विश्लेसकहरु बताउँछन्।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *