टि-२० विश्वकप : ‘हारेर’ मैदानबाट बाहिरिँदै गरेको जिम्बाब्वेले फेरि अर्को मौका पायो, तैपनि जित्न सकेन

डिसी नेपाल
१३ कार्तिक २०७९ १३:११

काठमाडौं । टि–२० विश्वकपको समूह–२ को निकै रोमाञ्चक खेलमा बंगलादेशले जिम्बावेलाई ३ रनले पराजित गरेको छ । २० औं ओभरको अन्तिम बलमा जिम्बाब्वेलाई जितका लागि ५ रन चाहिएको थियो तर मुसद्दिक हुसेनले ब्लेसिङ मुजराबानीलाई स्टम्प गरे।

त्यतिबेला बंगलादेशले खेल ४ रनले जितेको जस्तो देखिन्थ्यो र टोलीहरू रंगशालाबाट बाहिर निस्कन थालेका थिए तर अम्पायरले विकेटकिपर नुरुल हसनले विकेटको अगाडिबाट बल क्याच गरेको थाहा पाए ।

यसपछि अम्पायरले नो बलको संकेत गरे र ब्याट्सम्यानहरू अन्तिम फ्री हिट खेल्न मैदानमा फर्किए।

मुसद्दिक हुसेनको अन्तिम बलमा ब्लेसिङले सट लगाउन सकेनन् र बंगलादेशले तीन रनले खेल जित्यो। जिम्बाब्वे टोली मैदानमा फर्किए पनि जितको यो अन्तिम मौका सदुपयोग गर्न सकेन ।

२० ओभरसम्म चलेको खेलमा जिम्बाब्वेको टोलीले ८ विकेट गुमाएर १४७ रन मात्रै बनाउन सकेको थियो ।

जिम्बाब्वेका लागि सेन विलियम्सले ६४ रन बनाए भने १९औं ओभरमा बंगलादेशका कप्तान शकिब अल हसनले उनलाई उत्कृष्ट ढंगले रनआउट गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो ।

बंगलादेशका लागि नजमुल हुसेन शान्तोले सर्वाधिक ७१ रन बनाए ।

जिम्बाब्वेका लागि रिचर्ड इन्ग्राभा र ब्लेसिङ मुजारबानीले २–२ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *