दाजुभाइ फरक-फरक पार्टीबाट चुनावी मैदानमा

दाजु राजेन्द्र धादिङ र भाइ सुरेन्द्र चितवनबाट चुनाव लड्दै

शरद रिजाल
१४ कार्तिक २०७९ ७:२७

काठमाडौं। निर्वाचन नजिकिएसँगै दल र उम्मेदवार निर्वाचन केन्द्रित गतिबिधिमा ब्यस्त छन्। आआफ्ना एजेण्डा आश्वासन लिएर जनताबीच मत मागेर चुनावी परिणाम आफ्रनो पक्षमा ल्याउने भगिरथ प्रयत्न गर्दै छन्।

यही चुनावी रौनककै समयमा एक फरक दृश्य चुनावी रंगमञ्चमा देखिएको छ। एउटै परिवारका सदस्य फरक पार्टीबाट उम्मेदवार भएका केही नेताहरु एकाध स्थानमा देखिएको दृश्यले भने मतदाता र जनतालाई आश्चर्यचकित तुल्याएको छ।

धादिङ क्षेत्र नं- १ मा गठबन्धनको तर्फबाट बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन्। उनी सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका हुन्। उनका सहोदर भाइ सुरेन्द्र पाण्डे चितवन क्षेत्र नं-१बाट उम्मेदवारी दिएका छन्।

यी दुबैको अर्को रोचक संयोग अलग पार्टीमा भए पनि दुबै एउटै पदमा छन्। सुरेन्द्र पाण्डे एमाले उपाध्यक्ष हुन् भने दाजु राजेन्द्र एकीकृत समाजवादीको उपाध्यक्ष हुन्। धादिङको गजुरीमा जन्मिएका राजेन्द्र पाँच दाजुभाइमा जेठा हुन्।

उनीभन्दा चार वर्ष कान्छा सुरेन्द्र माइला हुन्। गत वर्ष भदौ ९ गते माधव नेपालको नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएसँगै यी दुई दाजुभाइको अलग राजनीतिक यात्रा तय भएको हो।

उनीहरुको अलग राजनीतिक यात्रा कहासम्म पुगेर टुंगिन्छ, पुनर्मिलन हुन्छ वा जीवनपर्यन्त अलगै राजनीतिक यात्रा कायम रहन्छ त्यो भने आगामी दिनमा उनीहरुमा आउने राजनीतिक बदलावमा निर्भर गर्दछ।

उनीहरु दाजुभाइको आफ्नै राजनीतिक योगदान र लगानी एमालेमा गरेका थिए। तथापि पार्टी बिभाजन भएसँगै अलग हुन पुगे। उसोत पार्टीभित्रको आन्तरिक गुटमा दुबै माधव नेपाल समूहकै नेतामा पर्दथे।

पार्टीको आन्तरिक बिबाद उत्कर्समा पुगेको बेलामा दाजुभाइसँगै थिए तर जब बिभाजनको तहमा पुग्ने अवस्था आयो सुरेन्द्र पाण्डेले पछाडि हटेर एमाले मै अडिए। यसको विपरीत राजेन्द्र भने माधव नेपाललाई साथ दिन पुगे।

उसोत धादिङ प्रदेशसभाबाट निर्वाचित राजेन्द्र पाण्डे पार्टी बिभाजन हुँदा माधव नेपाललाई साथ दिनु उनकै मुख्यमन्त्री बन्न ब्याप्त लालसाले नै बिभाजित पार्टी तर्फ लागेको बताइन्छ। उनको आफ्नै राजनीतिक स्वार्थले माधव नेपालको एकीकृत समाजवादीतर्फ लाग्न मुख्य भुमिका निर्वाह गरको एमाले नेताहरु बताउँछन्।

उनी एमाले र तत्कालीन माओवादीबीच एकता भएर बनेको तत्कालीन नेकपा कालमा समेत आफू भन्दा जुनियर डोरमणि पाण्डेलाई मुख्यमन्त्री बनाइएकोप्रति पार्टीभित्र अध्यक्ष केपी ओलीसँग रुष्ट थिए।

मुख्य मन्त्री बनाउने गरी उनलाई गएको निर्वाचनमा धादिङ १(क)बाट प्रदेशसभामा उम्मेदवारी दिन लगाइएको थियो। सोही बमोजिम उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

यी दुबै दाजुभाई २०५४ सालमा एमाले बिभाजित हुँदा समेत अलग–अलग हुन खोजेका थिए तर भाइ सुरेन्द्रकै पहलमा राजेन्द्र रोकिएको एमाले नेताहरु बताउँछन्। त्यतिबेला राजेन्द्र वामदेव गौतमको नेकपा(माले) मा जान अन्तिम तयारीमा थिए। यद्यपि भाइ सुरेन्द्रकै आग्रह र सल्लाहमा उनी एमालेमै रहेका थिए।

यसपटकको निर्वाचनमा यी दुबै दाजुभाई फरक पार्टीबाट भएतापनि एकै निर्वाचन क्षेत्र र एउटै पदीय जिम्मेवारीमा रहेर उम्मेदवारी दिएका छन्। आगामी संसदीय यात्रा भने सँगै प्रवेश गर्ने अर्को संयोग जुर्ला या टुंगिएला त्यो भने मंसिर ४ पछिको निर्वाचन परिणामले उजागर गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *