‘हिम्मतवाली आमा डम्बरकुमारी’ सार्वजनिक
काठमाडौं । ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक कृति सार्वजनिक भएको छ । घोस्ट राइटिङ नेपालले आज आयोजना गरेको एक कार्यक्रममा उक्त कृति कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सार्वजनिक गरे ।
उनले त्यो समयमा आमाहरूले भोगेको वास्तविकतालाई किताबमा उतार्नु महत्त्वपूर्ण भएको र यस्ता यथार्थलाई लेख्नु र पढ्नुपर्ने बताए । “विगतमा आमाले भोगका दुःख, पीडा र यथार्थलाई लेख्नु र पढ्नुपर्छ”, उनले भने, “पुस्तक पढेन भने आमामाथि अन्याय हुन्छ, एकै बसाइमा पढ्ने खालको पुस्तक छ ।”
माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले आमाहरूले भोगेका दुःख, त्यो बेलाका भोगाइलाई पुस्तकका रूपमा सार्वजनिक गर्नु राम्रो काम भएको र यस्ता इतिहासले वर्तमान पुस्तालाई थप प्रोत्साहन मिल्ने बताइन् ।
पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले पुस्तकको समीक्षा गर्दै डम्बरकुमारी आमाको माइती घर, कर्म घर र जीवनकालमा भोगेका सम्पूर्ण कथाहरू पुस्तकमा समेटिएको बताए । आमाले शिक्षाको विषयमा असाध्यै राम्रो चेतना भएको र संसार पढ्नेहरूको भएको कुरा पुस्तकमा भएको सुनाए ।
पुस्तकको समीक्षा गर्दै लेखिका डा अर्चना थापाले विगतमा आमाहरूले भोगेका जीवन कहानी समेटिएको र पुस्तक पढेर नयाँ पुस्ताका महिलालाई थप प्रेरणा दिने बताइन् ।
पुस्तकको मुख्य पात्र ७८ वर्षीया डम्बरकुमारी तिम्सिनाले आफूले भोगेका जीवन कहानी पुस्तकका रूपमा आएकोप्रति खुसी व्यक्त गर्दै सबैलाई एकपटक पढिदिन आग्रह गरिन् ।
कार्यक्रम उनकी छोरी पूर्व सूचना आयुक्त तथा पत्रकार यशोदा तिम्सिनाले सञ्चालन गरेकी थिइन् । पुस्तकमा उनकी आमा बाल्यकालदेखि अहिलेसम्मको जीवन कहानी उल्लेख छ ।
Facebook Comment