नेपालको याद आइरहन्छ- पूर्व राजदुत सेफर
बर्लिनमा भव्य म्हः पुजा

जर्मनी । नेपाली जर्मन एसोसियसनले जर्मनीको राजधानी बर्लिनमा म्हपुजा, नेपाल सम्वत तथा तिहार पर्व भव्य रुपमा मनाएको छ । कार्यक्रममा नेपालका लागि पूर्व जर्मन राजदुतहरु रोनाल्ड सेफर, भेरेना ग्रेफिन भोन रोडेर्न, फ्रांक माइक र जर्मनका लागि नेपाली राजदुत रामकाजी खड्का लगायत करिब १ सय जर्मन र बाक्लो रुपमा नेपाली समुदायको उपस्थिती रहेको थियो ।
आयोजित कार्यक्रममा शुभकामना दिदै राजदुत खड्काले आत्मालाई भगवान मान्न सिकाउने म्हपुजा नेवार संस्कृतिले स्थापना गरे तापनि यो पूजालाई सबै जातजातिका मानवले मनन गरेर आफैंलाई चिन्ने अवसरको रूपमा ग्रहण गर्नु वाञ्छनीय हुने सन्देश दिए ।
२०१७ देखि २०२१ सम्म नेपालका लागि जर्मन राजदुत रहेका सेफरले नेपाल एक संस्कृतिले भरिपूर्ण रहेको देश भएको भन्दै परदेशमा पनि नेपाली समुदायले आयोजना गरेको कायत्र्रmममा उपस्थित हुन पाउँदा गर्व महसुस गरेको बताए। नेपालबाट फर्केपछि नेपालको याद आइरहेको बताउँदै उनले यस कार्यक्रमले नेपालीपन आभाष गराएकाले आफू प्रफुल्लित भएको प्रतिक्रिया दिए । त्यसैगरी पूर्वराजदुतद्धय ग्रेफिन भोन रोडेन र माइकले पनि नेपालको धर्म संस्कृतिको प्रसंशा गर्दै नेपालको प्राकृतिक सुन्दरताको समेत बयान गरेका थिए । उपस्थितहरुलाई नेपाल भ्रमणको आग्रह गर्दै प्राकृतिक र सांस्कृतिक आनन्द लिन उनीहरुको आग्रह थियो ।
संस्थाका महासचिव राजेन्द्र स्थापितले नेपालको सामाजिक परिवेश नियाल्दा आफ्नै मौलिक संस्कृतिबारे नयाँ पिंढीहरू अनभिज्ञ हुँदै गइरहेकाले यसरी देश विदेशमा चाडपर्व मनाउँदा त्यसको महत्व र औचित्यको जानकारी नयाँ पिंढीमा संचार हुने विश्वास व्यक्त गरे। कार्यक्रम संचालक समेत रहेका स्थापितले सन् १९९१ मा स्थापना भएको संस्थाले नेपाल र जर्मनीवीच विविध कार्यक्रमहरु गर्दै आइरहेको बताए। नेपाली जर्मन एसोसियसनले भुकम्पका बेला नेपाल र नेपालीसँग जोडिनको लागि विभिन्न संघ संस्था र जर्मनहरुसंग हातेमाले गरेको स्मरण गरे। संस्थाका अध्यक्ष टोर्स्टेन फ्रांकले नेपालमा आफुहरुले महिला फाउन्डेसन, विद्यालय साझेदारी, विगु गोम्पा, महिला फुटबल लगायतका कार्यक्रमहरु संचालन गरेको जानकारी गराए।
संस्थाकी उपाध्यक्ष श्रीष्टिना स्थापितले महिला फुटबल क्लव भक्तपुर सुटर गर्ल्सको बारेमा जानकारी दिदैं आगामी दिनमा पनि सगैं सहकार्य गरेर अघि बढ्ने जानकारी दिइन् ।
कार्यक्रममा दीप राना, विमिप लगायत टोलीले सांगितिक मनोरन्जन दिलाएका थिए भने निलुफा मुनानकर्मी, महिमा पाण्डे, लक्ष्मी परियार, सन्तोष विस्ट लगायतले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । प्रत्येक बर्ष तिहारमा आयोजना हुँदै आएको कार्यक्रम कोरोनाका कारण पछिल्ला दुइ बर्ष स्थगित हुन पुगेको थियो ।
Facebook Comment