खुसी के हाे?

शंकरप्रसाद रिजाल
१७ कार्तिक २०७९ १०:२७

खुसी एक आनन्द हो जहाँ प्रफुल्लताले आश्रय लिएको हुन्छ। अर्को शब्दमा भन्ने हो भने यो एक मानव मनको एक अवस्था हो, मन सकारात्मक भएमा मानिस सुःखको अनुभव गर्छ भने नकारात्मक भएमा सधैं दुःखी भइरहन्छ।

जहाँ खुसी छ, त्यहाँ दिउँसै ताराहरु जगमगाइरहेका हुन्छन्, खुसी र सुखमा चन्द्र र सुर्य एकैसाथ उदाइरहेका हुन्छन्। कोही पनि चन्द्रमाको अँध्यारो रातमा झैं बेखुसी बन्नु पर्दैन।

खुसी प्रफुल्लताको त्यो उचाई हो जहाँ हरचिज आकर्षित हुन्छन्, यो दुःखको एक सकारात्मक पाटो हो जसमा सुःखको हरचिज प्रतिबिम्बित हुन्छन्। यो एक मानिसको एक अभिन्न अंग हो जुन बिना मानिसको जीवन अर्थहीन हुन्छ र जसको लागि मानिस हरपल यसैको खोजीको दौडमा लागिरहेका हुन्छन्।

करोडौं मानिसहरुले यसलाई चिन्न नसकी सधैं रोई बसेका हुन्छन्, अरुलाई खुसी बाँड्न नसकी आफ्नै सुःखको पछाडिमात्र लाग्नेहरुको हबिगत दुःखी नभए अरु के नै हुन सक्छ। तसर्थ एकचोटी खुसी नै खुसी बोकी बाँडी हिड्ने त गर त्यो खुसीले मानिसलाई कति आनन्द बनाउँछ भन्ने कुराको साध्य छैन।

वास्तवमा यो दुनियाँ खुसी नै खुसीले भरिएको छ, तर करोडौं मानिसहरुले आज यसलाई पहिचान गर्न नसकी सबै सधैं दुखित भई बसेका छन्। आज अरुको खुसीलाई आफ्नो सम्पूर्ण खुसी त्याग गर्नेहरुलाई हेर, उनिहरू अझै कति खुसी भई हिँडिरहेका छन्।

संसारको सबै कुराको सुःख सुविधाबाट बन्चित भइकन पनि बाटोमा मागी हिँड्ने ती गरीब, नाबालक, बेवारिसे र असहाय मानिसहरु मागेरै भएपनि कति खुसी भइ हिँडिरहेका छन्।

सडकमा फालिएको लाटशाहेबका खानेकुराहरुपनि तिनीहरु कति खुसी मानेर टपक्क टिपी खान्छन्, मानौँ उनीहरुका सारा आवश्यकता पूर्ति भए जस्तो। आज संसारका अरबपति, करोडपति र आलीशान बंगलामा बस्ने मानिसहरु सधैं दुःखी र चिन्तित भई भौंतारिएर बेसुरमा हिँडिरहेका छन्।

मानौँ ठुलै आपत्तिले छोपे जस्तो, तसर्थ मानिसले आफ्नो विचारलाई सधैं सकारात्मक मोडमा बदल्न सके यहाँ मानिसले कहिल्यै पनि बेखुसी भएर बस्नु पर्दैन।

कुविचार, कुसंस्कार र कुव्यवहारलाई हटाई आकाश जत्रो मनलाई चन्द्र सुर्यको उचाइमा आफूलाई पुर्‍याई निस्फिक्रिसँग हिँड्न सके खुसी नै हाम्रो दास बनी आफैँ आउनेछ।

त्यस कारण नेपालका महाकवी लक्ष्मी प्रसाद देवकोटा भन्ने गर्दथे, “गरीब भन्छौ सुखको म झैँ धनी, मिल्दैन संसार भरी कतैपनि“ हो निश्चयपनि मिल्दैन संसार भरी कतैपनि।

देवकोटाजी सरस्वतीकी महान बरद पुत्र भएपनि उनको लामो जीवन यात्रा गरीबीमै बिती गयो। सायद यसैको उद्बेगमा होला धनी र चिन्तित स्वभाव भएका लाटसाहेबप्रति व्यंग हानी उनको चेतन मनले यही सानो कविता रच्न पुगे।

आखीर गरिब तथा अत्यन्त मध्यम स्तरको जीवन शैली भैकन पनि देवकोटा सधैं मस्त खुसीमा आफ्ना अनारदाना जस्ता दाँतहरु देखाइ हाँसेका कैयौँ तस्बिरहरु देखिन्छन्।

जहाँ कविले कहिल्यै पनि रुन्चे अनुहार लगाइ आफ्नो दुःख, पीर र बेदना कसैलाई पनि नदेखाई सधैं आफूलाई हाँसो र खुसीमा उडाउँदथे। काठमाडौं वसन्तपुर अगाडिको इन्द्र जात्राको दिनमा दश अवतार देखाउने मन्दिरको सिँढीमा एउटा जाबो आँप चुसी खान पाउँदा संसारलाई हसाउँने खालको खित्का छोडी हाँसेका थिए भन्ने कुरासँगै आँप खाने उनका प्रिय मित्र लोक गीत गायक धर्म राज थापाले उहिल्यै भन्ने गर्थे।

यस्तो हाँसो र खुसीमा पनि उनि फेरी कहिलेकाँही भावनामा माथि आकाशमा उडी उडी चन्द्रमा छुने पनि अदम्य प्रयास गर्थे र भन्थे, ”उद्देश्य के लिनु उडी छुनु चन्द्र एक”, सायद महान कवि आफ्नो त्यस्तो परिवारको दुःखी जीवनमा पनि आफ्नो सकारात्मक उचाइको सोचाईको कारण सँधै खुसी भएर रहन्थे।

मानिस सबै एकै हुन्, तर आदतले उसलाई पृथक बनाउँदछ। सुखी खुसीको भाव लिएर हिडेमा खुसी होइन्छ भने सधैं अभाबको भावना लिएर हिडेमा उ सधैं दुःखी बन्दछ। अतः मानिस सधैं राम्रो स्वभावमा हिडुन नकी अभावमा, कोही स्वाभावले बाँच्दछन् भने कोही अभावले बाँच्दछन्। स्वभाव र सन्तोषले बाँच्ने सँधै खुसी रहन्छन्, तर जो आभावले बाँच्द्छन ती धनि भएपनि सधैं दुःखी र गरीब समेत देखिन पुग्छन्।

तसर्थ देवकोटा जस्तो भई खुसीले साधारण जीवनमा रहन सके मानिस जीवनको अन्तिम घडीसम्म पनि हाँसी हाँसी रही खुसीमै जीवन बिसर्जन गर्न सकिने र यसैमा खुसीको अविरल बर्षा हुने निश्चित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *