दुःख के हो ?
कसैलाई पनि मन नपर्ने र विरक्त र विकर्षण हुने शब्द दुःख हो। किनकि यसले सबैलाई आपद र बिपदमा पारी दिन्छ। तसर्थ सुख स्वर्ग हो भने दुःख नर्क हो जहाँ पापको घडाले सधैं बिष बमन गरिरहेको हुन्छ। यसले जीवन नमिठो, तितो र भयको सधैं भरि बोझ बोकिरहेको हुन्छ।
यो असार संसारमा प्रबेस गरे पछि कसलाई दुःख परेको छैन र? यसले डस्न कसलाई बाँकी राखेको छ र। सत्य युगमा महादेवलाई हलाहल बिष पिई घाँटी निलाम्य पार्नु परेको थियो र जीवन भर निलकण्ठ बनी रहनु परेको थियो।
त्रेता युगमा मर्यादा पुरुष श्री रामचन्द्रलाई पनि दुःख र आपत्ति परी चौध वर्षको कठोर बनबासको जीवन बिताउनु परेको थियो भने माता सिताजीलाई पनि दुःखले डसेर रावणको कब्जामा रही अशोक बाटिकामा अनेकौं राक्षसी महिलाहरुको घेरामा आफ्ना पतिसँग बिछोड भएर रहनु परेको थियो।
यस्तै द्वापर युगमा भगवान श्री कृष्णलाई पनि बाल्यकालदेखिनै कंशद्वारा अनेकौं दुःख झेल्नु परेको थियो। तर समयको गतिमा यस्ता दुःखहरू आफ्नो उर्जा र शक्तिद्वारा हटाउन यी तिनै परमात्माहरु सफल हुन पुगे।
समयको क्रममा युग परिबर्तन भयो। कलियुगले पापको घडा बोकी संसारभर हरेक कुना कुनामा बिष छर्दै गयो र हरेक जन्मिएका जीव तथा मनुष्यहरुलाई दुःखको जालोमा पार्दै गयो।
आज यो संसारमा साराका सारा जीबात्माहरु अनेक रोग, भोक र बासको समस्याले दुःखी बनेका छन् भने मानिसहरुको पनि त्यही नै अबस्था छ। जीवन दुःखी र अल्लादित बनेको छ।
आज दुःखी र गरीबमाथि थोरै लाटसाहेबहरुले ठगीको नाममा थिचो मिचोको नाममा ,जालसाजीको नाममा र चुनाबको नाममा अरबौं रुपैयाँ दुःखी र गरीबमाथि भयंकर शोषण गरी,कमाई आफूलाई सधैं बैभबमा रहने कोशिश गरेका छन।
संसारका अर्बवपतिहरुलाई बिचरा दुःखी र दुखको के ज्ञान छ र। आलेशान महल र आशियानामा रहनेहरुले दुखको परिभाषा के बुझेका छन र। गुलियो र मिठो चाटी चाटी जीवन बिताउनेलाई बिचरा नुन र लप्सीको स्वाद कस्तो हुन्छ भन्ने कुरा जान्न गाहै्र पर्दछ।
दुःखको बेदना आँसुबाट प्रतिबिम्बित हुन्छ जसले एक समयमा गएर आँखाको ज्योति बिन्दुलाइनै बिगारी दिन्छ। अतः दुखीहरुको आँखामा कुनै नूर हुँदैन जसले सारा अनुहारहरुलाई नै बासी बनाइ दिन्छ। मन हरदम खिन्न हुन्छ र दुःखीत हुन्छ।
अनि सारा सरिर नै कमजोर बन्न जान्छ। यो दुखीपना बढ्दै गएमा यसबाट परिवार, समाज र राष्ट्रनै निर्बलियो भइ अन्त्यमा सारा संसारनै कमजोर हुन गई सम्पूर्ण जीवन नै दुःखमय हुन जान्छ। तसर्थ दुःख एउटा त्यस्तो डढेलो हो जो निरन्तर फैलिँदै गएमा संसार नै दुःखी बनाउँदछ।
जन्मदा कोही दुःखी हुँदैनन्। त्यस्तै मर्दापनि कोही धनी हुँदैनन्। उत्साहजनक कर्मको अभावले नै मानिसलाई दुःखको सर्पले डस्दै जाने हो। तसर्थ आफूलाई कमजोर ठान्दै अकर्मंड्य बनाई आफ्नो जवानीको जोश र जांगरलाई खेर फाल्दै, कुसंगत्मा फस्दै, अखाद्य चिज खाँदै र ज्ञान र बिबेकलाई लत्त्याई हिँड्ने कुनै पनि मानिस दुःखको खाडलमा, भुमरीमा र कुचक्रमा फस्न जाने हो।
आफ्नो अज्ञानले गर्दा मानिस दुखी भई संसारमा भड्किइरहेका छन। जोश भन्दा होस् हराएका मानिसहरु बढी दुःखी हुन्छन् र भाग्यवादीहरु पनि सधैं दुःखी हुन्छन्। यो निश्चय छ। घटना प्रसंगमा एक घटना बिशेषको कथाअनुसारः एक दुःखी मानिस कुनै एक ठाउँमा मागेर बसिरहेको थियो।
लामो समय पछि उसको मृत्यु पश्चात त्यही ठाउँमा एक कर्मठ मानिसले खोज गर्दा सुनको असर्फीको घडा फेला पारेको कथा प्रशिद्ध छ।
अतः ज्ञान, खोज, उद्यमी र परिश्रमिहरुलाई कहिले पनि दुःख हुँदैन भन्ने कुरा घाम झैं छर्लंग छ। तसर्थ दुःखलाई झन् दुःखी नबनाई सुखमा परिबर्तित गर्न सके संसारमा कसैलाई पनि दुःख नहुने कुराको निष्कर्ष निकाल्न सकिन्छ।
Facebook Comment