पाकिस्तानको बाटो सहज पारिदिएको नेदरल्याण्डले पायो ठूलो उपहार, अर्को विश्वकपमा सिधै क्वालिफाइ
काठमाडौं । अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा आइतबार नेदरल्याण्ड्सले ठुलो जित हात पारेको छ । जितको दावेदार मानिने दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्याण्ड्सले सबै समीकरण बिगारेको छ ।
नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले हराएर ठूलो फरक पार्दै पाकिस्तानलाई सेमिफाइनल पुग्ने बाटो खोलिदियो । र, यो अवसरको सदुपयोग गर्दै पाकिस्तान सेमिफाइनलमा पुग्यो । पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५८ रन बनाएको थियो ।
दक्षिण अफ्रिकालाई दिएको १५९ रनको लक्ष्य कठिन नदेखिए पनि शुरुवाती विकेट गुमाएपछि दक्षिण अफ्रिकाले पुनरागमन गर्न सकेन । सय रन पूरा हुँदा उसका सात ब्याट्सम्यान प्याभिलियन फर्किसकेका थिए । दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।
यता एडिलेडमा आइतबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गरेको छ । पाकिस्तानको जितसँगै ऊ सेमिफाइनल पुग्ने पनि तय भएको छ । समूह १ बाट न्युजिल्यान्ड र इंग्ल्याण्ड यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
आइतबार दक्षिण अफ्रिकामाथि नेदरल्याण्ड्सको जितसँगै भारतीय टोलीको सेमिफाइनलमा स्थान पनि पक्का भएको छ । बंगलादेशलाई पराजित गर्दै पाकिस्तान चौथो टोलीका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा पाकिस्तानको बाटो सहज भएपछि नेदरल्यान्ड्स समूहमा चौथो स्थानमा रहँदै सन् २०२४ मा हुने अर्को टी–२० विश्वकपका लागि स्वत: छनोट हुने आशामा छ । र, नेदरल्याण्को यो आशा पूरा पनि हुने देखिएको छ ।
पाकिस्तानले बंगलादेशलाई हराएर नेदरल्यान्ड्सको आशा जीवित राख्यो, अब नेदरल्यान्ड्सले भारतले पनि जिम्बाब्वेलाई हराएर समूह-२ अंक तालिकामा चौथो स्थान कायम राखोस् भन्ने आशा गरिरहेको छ । र, भारत र जिम्बाब्वेको खेलको पछिल्लो अवस्था हेर्दा भारतले पनि जिम्बाब्वेलाई हराउने प्रारम्भिक संकेत देखिएको छ ।
भारतले जिम्बाब्वेलाई हराएमा नेदरल्यान्ड्स अंक तालिकामा बंगलादेश र जिम्बाब्वे भन्दा माथि चौथो स्थानमा हुनेछ र अर्को टी-२० विश्वकपको लागि छनोट चरणमा जानु पर्दैन।
Facebook Comment