विदेश बस्ने एमालेहरुले आफ्नो नेता छाने, अध्यक्षमा अमेरिकाबाट थापा

काठमाडौं। विदेश बस्ने नेपालीहरुका लागि नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा अमेरिकाबाट सञ्जय थापा छानिएका छन्। थापा अमेरिकाको न्यूयोर्क निवासी हुन्।
शनिवार र आइतवार दुई दिनसम्म जारी रहेको सो अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व छनौट गरेको निवर्तमान संचार विभागका प्रमुख प्रभु थापाले जानकारी दिए। उनका अनुसार, उपाध्यक्षमा अष्ट्रेलियाबाट रमेश पाण्डे छनिएका छन् भने सचिवमा स्पेनबाट हेम शेर्पा, उपसचिवहरुमा कतारबाट चानक पोख्रेल र बेलायतबाट कर्ण शाही छन्।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले शनिवार उद्घाटन गरेको मञ्चको नेतृत्व आइतवार अवेर चुनिएको थियो। शुरुमा प्रतिष्पर्धीहरु धेरै भएपछि आन्तरिक निर्वाचनबाट नेतृत्व छनौट गर्ने भनिए पनि पछि आपसी सहमती गरिएको थियो।
सहमतिअनुसार, अमेरिकाबाट ६ जना केन्द्रीय समितिमा परेका छन्। जसमा अध्यक्ष थापा, सदस्यहरुमा डुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बोहोरा र राजेन्द्र सिवाकोटी छन्। त्यसैगरी युरोपबाट ९ जना केन्द्रीय समितिमा छानिएका छन्।
जसमा सचिव शेर्पा र उपसचिव शाहीवाहेक सदस्यहरुमा सरस्वती केसी, विमला भण्डारी, शिव बरुवाल, गोविन्द पौडेल, कल्पना त्रिपाठी, सुरेन्द्र थपलिया, राजेन्द्र पुडासैनी र हेमराज जोशी छन्। गल्फ अर्थात खाडी मुलुकहरुमध्येबाट पाँच जना केन्द्रीय समितिमा परेका छन्।
जसमा उपसचिवमा पोख्रेल र सदस्यहरुमा तीर्थ गौतम, जयति शर्मा, महेश गिरी, कमल मणि र बलराम गिरी छन्। त्यसैगरी अष्ट्रेलियाबाट उपाध्यक्षमा पाण्डे र सदस्यहरुमा डा.विनोद श्रेष्ठ, शिशिर नेपाल, विजय फुयाल र सीता केसी एवं पूर्वी एशियाबाट सदस्यहरुमा जापानबाट सुरेश केसी र डा.सरोज कडेल, कोरियाबाट सन्जु केसी र हङकङबाट भक्त गुरुङ पनि छानिएका छन्।
नवनिर्वाचित अध्यक्ष थापाले प्रवासमा बस्ने नेपालीहरुको अवस्थालाई मजवुत बनाउनेतर्फ नै आफू सक्रिय हुने बताए। उनले डिसी नेपालसँग भने, ‘प्रवासका नेपाली मजवुत भए मातृभूमिलाई पनि फाइदा पुग्छ।’
Facebook Comment