मेरी पत्नीको त्यो इच्छा र मेरो मेघौली भ्रमण

कपिल लोहनी
२६ कार्तिक २०७९ ६:५८

साराङ वाइल्डलाइफ स्याङ्चुअरीमा १ रात बसेपश्चात हामी त्यहाँबाट बाराही जङ्गल लजको निम्ति रवाना भयौँ। त्यहाँको जङ्गल क्षेत्रबाट बाहिर निस्केपछि हामी पुनः मेघौली विमानस्थलको छेउ छेउबाट अगाडि बढ्न थाल्यौँ। मेघौली विमानस्थलदेखि नै चितवन राष्ट्रिय निकुञ्ज शुरु हुन्छ।

हिजो साँझपख र आज बिहान केही हुस्सु लागेको वखत देखेको यो घाँसे विमानस्थलको दिउँसोको समयमा केही विस्तृतरूपमा अवलोकन गर्ने मौका पाइयो।

यो विमानस्थललाई ज्यादै व्यस्त व्यावसायिक विमानस्थलको रूपमा भन्दा पनि पर्यटक ओसार्ने प्रयोजनको लागि दिनमा एकाध उडानमात्र गर्ने वातावरणमैत्री विमानस्थलमा स्तरोन्नति गर्नुपर्ने विचार मनमा उब्जियो।

काठमाडौँमात्र नभई पोखरा, भैरहवा, जनकपुर आदि जस्ता पर्यटकीय नगरीबाट यहाँ साना तथा मझौला हवाइजहाजमार्फत  चार्टर्ड उडानहरू भर्ने व्यवस्था भए राम्रो होला। सायद योजनाविद्हरूले पनि यसरी नै सोचेका होलान्।

सन् १९७३ मा स्थापना गरिएको चितवन राष्ट्रिय निकुञ्ज नेपाल कै पहिलो वन्यजन्तु संरक्षण क्षेत्र हो र यो निकुञ्जले विश्व सम्पदा क्षेत्रको संज्ञा सन् १९८४ मा पाएको हो।करिव ९५३ वर्ग किलोमिटरमा फैलिएको यो निकुञ्ज मकवानपुर, चितवन, नवलपुर र नवलपरासी जिल्लाका कैयन् भागमा अवस्थित छ।

कुनै समय डा.हर्क गुरुङको सल्लाहवमोजिम चितवनमा राजधानी सार्नुपर्ने कुराको वहस चल्दा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले राजधानी सारेमा राम्रै हुने भए पनि राजधानीको हैसियतले सो इलाकामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा भने निकुञ्जका जनावर र पशुपंक्षी हवाइजहाजको आवाजले गर्दा तर्किने सम्भावना रहेको कुरा बताएका थिए रे।

त्यतिबेला उनी प्रकृति संरक्षणसँग सम्बन्धित केही राष्ट्रिय निकायहरूसँग सम्बद्ध थिए। त्यस्तै सन् २०१२ भन्दा पहिलेसम्म निकुञ्ज क्षेत्रभित्र टाइगर टप्स जङ्गल लज, गैँडा वाइल्डलाइफ क्याम्प, मचान वाइल्डलाइफ रिसोर्ट, नारायणी सफारी रिसोर्ट, चितवन जङ्गल लज, टेम्पल टाइगर, आइल्याण्ड जङ्गल रिसोर्ट आदि सञ्चालनमा थिए, तर निकुञ्ज क्षेत्रमा स्थापित यस्ता रिसोर्टहरूमा आउने पाहुना तथा कर्मचारी र आवश्यक सामान ढुवानी गर्ने व्यवसायीहरूको ठूलो संख्याले दिनहुँ ओहोरदोहोर गर्दा पर्यावरण र जीवजन्तुमा नकारात्मक असर परेको भनेर निकुञ्ज क्षेत्रभित्र यस्ता लज, रिसोर्ट खोल्न नपाउने कानुन नै बनाएर सरकारले निकुञ्ज बाहिर मात्र सञ्चालन गर्न पाउने व्यवस्था मिलायो।

चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ, गैँडा, हात्ती, गोही तथा अन्य जनावर र पंक्षीहरू हेर्न दिनहुँ जीप तथा एलिफेन्ट सफारीबाट त्यहाँको भ्रमण गर्नेहरूको संख्या धेरै नै छ।

डा.हर्क गुरुङको सल्लाहवमोजिम चितवनमा राजधानी सार्नुपर्ने कुराको वहस चल्दा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले राजधानी सारेमा राम्रै हुने भए पनि राजधानीको हैसियतले सो इलाकामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा भने निकुञ्जका जनावर र पशुपंक्षी हवाइजहाजको आवाजले गर्दा तर्किने सम्भावना रहेको कुरा बताएका थिए रे।

चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपश्चात नेपालमा हाल यो सहित एक दर्जन राष्ट्रिय निकुञ्जहरू छन्। चितवन, पर्सा, बाँके, बर्दिया र सुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तराइमा पर्छन भने से फोक्सुण्डो, रारा, खप्तड, लाङटाङ, शिवपुरी-नागार्जुन, सगरमाथा र मकालु-बरुण राष्ट्रिय निकुञ्ज पहाडी तथा हिमाली क्षेत्रमा अवस्थित छन्।

त्यस्तै अपी-नाम्पा, गौरीशंकर, अन्नपुर्ण, कृष्णसार, मनाष्लु र कन्चनजङ्घाका साथै हालै घोषणा गरिएको काठमाडौँ उपत्यकाभित्र अवस्थित गोदावरी-फुलचोकी गरी नेपालमा सात वटा संरक्षण क्षेत्रहरू छन् भने ढोरपाटनमा मुलुकको एक मात्र शिकार आरक्ष छ। सुनसरी, कोशीमा अवस्थित कोशी टप्पु वन्यजन्तु आरक्षको पनि आफ्नै विशेषता छ।

सबै राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र र वन्यजन्तु आरक्षहरूले आआफ्नो विशेषता बोकेका छन्। नेपालको पर्यटन विकासमा वनसँग सम्बन्धित घुमाइले ठूलो हिस्सा ओगटेको छ।

मेघौली र यसको सेरोफेरो तथा राप्ती नदीको किनारमा हाल आएर धेरै उच्च स्तरका रिसोर्टहरू खुल्न थालेका छन्। ती मध्ये मेघौली सेराई, वाराही जङ्गल लज, साराङ वाइल्डलाइफ स्याङ्चुअरी, मेघौली वाइल्डलाइफ रिसोर्ट, जगतपुर लज, कसरा रिसोर्ट, जङ्गल भिल्ला रिसोर्ट, मिराया वेलनेस आदि प्रमुख छन्।

यी वाहेक सस्ता होटल, रिसोर्ट र लज र होमस्टे पनि थुप्रै खुलेका छन् यस भेगमा। यस भेगमा रहेका राप्ती र नारायणी नदी तथा कैयन् सिमसार क्षेत्रमा विश्वका टाढा टाढाबाट पाहुना चराहरू आएर फुल पार्ने तथा बच्चा कोरल्ने गरेर हप्तौँको बसाईँ पश्चात घर फर्कन्छन् भने केही चराहरू यो क्षेत्रलाई ट्रान्जिट बनाएर केही दिनको आराम पश्चात आफ्ना गन्तव्यतिर लाग्छन्।

त्यस्तै चितवन राष्ट्रिय निकुञ्जमा बाघ, चितुवा, गैँडा, हात्ती लगायत कैयन् प्रकारका मृग, बँदेल, गोही, सर्प र अन्य जनावरहरूको ठूलो संख्या छ। चोरी सिकारलाई दुरुत्साहित गर्ने कैयन् कानुन र उपाय अवलम्बन गर्न थालिए पछि यिनको संख्या पनि बढ्दै गएको हालैको बाघ र अन्य जनावरको गणनाले देखाएको छ।

सम्विधान सभाको पहिलो निर्वाचनताका चितवन र मकवानपुर जिल्लाको लागि एक अग्रणी अन्तर्राष्ट्रिय पर्यवेक्षण संस्थाको टोलीनेता भएर म जाँदा मेघौली क्षेत्र अति नै अनकन्टार र डर लाग्दो अवस्थामा थियो।

त्यस्तै करिव आठ वर्षअघि मेरी धर्मपत्नीसँग मेघौलीमा त्यतिबेला भर्खरै खुलेको बाराही जङ्गल लजमा एक रातको बसाईँ तथा वरपर घुमघामको लागि जाँदा पनि यो क्षेत्रका सडकको अवस्था ज्यादै नाजुक हुनुको साथै मेघौली क्षेत्र केही अनकन्टार नै थियो।

तर आज आएर यो क्षेत्रले पर्यटन उद्योग र विकासमा ठूलो फड्को मारेको छ। त्यस्तै यो भेगका बासिन्दाको जीवनस्तरमा अभिवृद्धि हुनुका साथै सडक छेउछाउमा व्यवस्थित बस्ती र व्यवसाय पनि बढ्दै गएको छ।

केही बेरको मोटर यात्रापश्चात हामी बाराही जङ्गल लजको हाताभित्र पुग्दा त्यहाँ हामीलाई त्यहाँका स्थानीय थारु समुदायले हार्दिक स्वागत गरे। २४ विगाहामा फैलिएको यो जङ्गल लजमा भएका विभिन्न सुविधाहरू बारे त्यहाँका व्यवस्थापकले हामीलाई बताएपछि हाम्रा सामानहरूमा हाम्रा कटेजको नम्बर ट्याग झुण्डाएर ध्वनी प्रदूषण विनाका विद्युतीय टेम्पोहरूमा लादेर लगियो भने हामी पनि गल्फ खेल्दा प्रयोग हुने विद्युतीय वाहनमा चढेर आआफ्ना कटेजतिर लाग्यौँ।

आजकल नेपालमा पनि विद्युतीय सवारी साधनले व्यापकता पाउँदै छ। भन्सार विभागको एक तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म ४० हजार विद्युतीय सवारी साधन आयात भएको देखिन्छ।

निजी तथा सार्वजनिक दुवै सवारी साधनका रूपमा इलेक्ट्रिक भेहिकलको संख्या बढ्दो छ। यसो हुनुमा यसको भन्सार केही कम हुनु र मुलुकका विभिन्न ठाउँहरूमा चार्जिङ स्टेशनको स्थापना हुँदै जानु र नेपालमा विद्युत छेलोखेलो हुँदै जानाले पनि होला। एक तथ्याङ्कअनुसार विश्वमा नै विगत एक दशकमा इभीको प्रयोग १४० गुणाले वृद्धि भएको छ।

शान्त र हरित वातावरणमा बनाइएका ती कटेजहरू निक्कै सुविधासम्पन्न थिए र प्रत्येक कटेजको दक्षिणपट्टि ठूला ठूला झ्याल तथा वरण्डाबाट पर तिर विशाल राप्ती नदी शान्त तवरले बगिरहेकी र सो भन्दा पनि पर चितवन राष्ट्रिय निकुञ्ज शुरु भएको संकेतका साथ बावियो, सबई घाँस र एलिफेन्ट ग्रासका अग्ला अग्ला वोटहरू लहलहाइरहेका देख्न सकिने। त्यसभन्दा पनि पछाडि भने विशाल जङ्गल र होचा र हरिया पहाड समेत देखियो।

कोठामा केही बेर आराम र सामान थान्को मान्को लगाएपछि हामी खाना खानको निम्ति होटेलको अगाडि पट्टिको भागमा गयौँ। यो अति महँगो रिसोर्टको प्याकेजमा बिहानको नास्ता सामेल भएपनि बुफे लञ्च र डिनरको शुल्क वापत प्रति व्यक्ति रु. २५०० (१ छाकको) तिर्नु पर्ने रहेछ।

कर छुट्टै । रिसोर्ट विकट क्षेत्रमा रहेकोले खानाको अन्य विकल्प थिएन। खाना भने वृहत प्रकारको र मिठो पनि यानी शुल्क अनुसारको ज्यादै स्तरीय। हामी छँदा त्यहाँ केही भारतीय र विदेशी पाहुनाहरू समेत बसेका थिए।

रिसोर्टमा कन्फरेन्स सुविधाका साथै एक पुस्तकालय कक्ष पनि बनाइएको रहेछ। त्यहाँ खासगरी निकुञ्ज तथा वन–जङ्गलमा पाइने वनस्पति, पशु-पंक्षी र किटाणु तथा सर्प र जल जीवहरूका वारे र पर्यावरण वारेका राम्रा पुस्तकहरू राखिएका रहेछन्। मेरो नयाँ पुस्तक ‘विविध आयाम’को एक प्रति मैले सो पुस्तकालयको लागि उपहार स्वरुप दिएँ।

रिसोर्टको राप्ती नदी किनाराको एक छेउमा सबै उमेर समूहलाई हुने खालको विशाल पौडी पोखरी, बाल उद्यान र क्रिडास्थल, दशैँ–तिहारका लागि निर्माण गरिएको अस्थायी पिङ तथा फोटो खिँच्नको निम्ति राखिएका डुङ्गा तथा गोरु गाडा पनि थिए।

रिसोर्टको सबै भागमा सकेसम्म प्राकृतिक सरसामान जस्तै ढुङ्गा, माटो, काठ, बाँस, लामा लामा सुकेका घाँस, निगालो र लहरा र स्थानीय उत्पादनका सजावटका सामान र कलाकृतिहरूको उपयोग गरिएको।

पौडी पोखरी र वरिपरिका स्थान अनि होटेलको कोठामा पनि ढुङ्गा कै टायल बनाएर छापिएको। साँझको समयमा थारु सांस्कृतिक कार्यक्रम हेरेर सबै पाहुनाका साथै हामी पनि खुबै रमायौँ। लाल्टिनहरूमा विद्युतीय चिम राखेर बालिएका।

यो रिसोर्टको निर्माण सम्पन्न भए लगत्तै यानी करिव ८ वर्ष पहिले म मेरी धर्मपत्नीसँग यहाँ एक रात बस्न आउँदा त्यो दिन सो रिसोर्टमा हामीमात्र पाहुना थियौँ। एक प्रकारले त्यति ठूलो रिसोर्टमा आफू मात्र पाहुना हुँदा निक्कै गौरवको आभास भइरहेको थियो भने त्यति ठूलो क्षेत्रफल ओगटेको अनकन्टार ठाउँमा रहेको रिसोर्टमा हामी दुई जना मात्र बस्दा राती एक प्रकारको डर समेत लागेको थियो।

त्यतिबेला हामी दुईले त्यहाँ घुमेका, पौडी खेलेका, मिठा मिठा खाना खाएका र कोठाको वरण्डाबाट टाढा टाढासम्मका सुन्दर दृश्यहरू हेर्दै मिठा मिठा गफ गरेका क्षणहरू सम्झँदा आनन्द पनि आएको थियो भने अब आइन्दा उसँग कहिल्यै भेट नहुने र यस्ता ठाउँहरूमा पनि ऊ विना नै यात्रा गर्नु पर्ने कुराले भित्र भित्र मन निक्कै रोएको थियो।

उनले त्यतिबेला भनेको एउटा कुरा अझ पनि म सम्झन्छु। ‘वर्षमा एक चोटि मलाई यस्ता रिसोर्टमा केही दिनको निम्ति ल्याउने गर है’ भनेकी थिइन्। तर के गर्ने, त्यसो हुन लेखेको रहेनछ। एक्लै भएपनि जसो तसो खुशी भएर र व्यस्त रहेर नै जीवन जिउन सिक्दै जानु पर्ने रहेछ र त्यसै गर्ने प्रयास गर्दै पनि छु।

आखिर मलाई ज्यादै माया गर्ने छोरी र छोरा र परिवार तथा दिदी, दाजु र उनका परिवार र मेरा ससुराली परिवार तथा केही अभिन्न साथी र हित चिन्तकहरू अनि विभिन्न विषयका पुस्तकहरू पनि त छँदै छन् नि।

बिहान सबेरै उठेर वरण्डाको कुर्सीमा बसेर चिया पिउँदै प्राकृतिक दृश्यावलोकन गर्दै मनमा विभिन्न मिठा कुराहरू खेलाएर बसेँ। अनि त्यहाँ भित्र भित्रको बाटोमा करिव एक घण्टा हिँडेँ र केही बेर रिसोर्ट बाहिर पनि हिँडेँ। गोरु गाडामा गाउँको सयरमा निस्कने पर्यटकहरू पनि भेटिए।

व्याडमिन्टन र बास्केटबल कोर्ट तथा हिँड्न मज्जाको बाटो बनाइएको सो रिसोर्ट परिसरको राप्ती नदी किनारमा पुग्दा एकाबिहानै जङ्गल सफारीमा निस्केका पाहुनाहरू डुङ्गामा सयर गर्दै राप्तीमा बोट सफारी र नदी पारी राखिएका जङ्गल सफारीका जीप चढ्न गएका मनमोहक दृश्यहरू देखियो।

जङ्गलको भ्रमणमा हात्ती सफारीको उपयोग गर्ने पाहुनाहरू पनि भेटिए। हामी भने यस पटक रिसोर्ट भित्र कै रमाइला कुराहरूमा भुलेर बस्यौँ। पौडी खेल्यौं। पिङ खेल्यौँ। मिठा मिठा खाना खायौँ र चिया-कफी पियौँ।

मेघौलीबाट भरतपुर फर्कने बेलामा देखिएका धानका बाला लागेका पहेँला खेतबारी र अति नै कम जन घनत्व भएका प्रदूषणरहित सुन्दर वस्तीहरू पार गर्दै अघि बढ्दा मन ज्यादै आनन्दित भएको थियो।

कैयन् ठाउँमा दशैँ-तिहारको लागि ठूला ठूला खेती गरेर रोपिएका पहेँला लोभलाग्दा सयपत्रीका फूलका बगानमा अब चाडवाड पछि फूल नबिक्ने भएकोले ट्रयाक्टर लगाएर फँडानी गर्दै अर्को बालीको तयारी गरेको देख्दा कुनै पनि वस्तुको भाउ पाउन निश्चित समयको बढी से बढी फाइदा लिन सक्नु पर्दो रहेछ भन्ने कुरा पनि सिक्न पाइयो भने फूलहरू खेर गएकोमा दुख पनि लाग्यो। तिहार लगत्तै चुनाव भएको भए नेता र कार्यकर्ताको टाउकामा माला लगाउन पनि केही फूल खपत हुन्थ्यो कि जस्तो सोच पनि आयो र मन मनै हाँसेँ पनि।

सुन्दर र शान्त मेघौलीबाट फर्केर भरतपुर महानगरपालिकाको मुख्य सडकमा आउँदा कोलाहलको वातावरणमा फर्के जस्तो भान भयो। तर हिजो आज यो शहर विस्तारै व्यवस्थित हुँदै गएको छ।

रामनगर कटेर देवघाटतिर लाग्ने दासढुङ्गाको नयाँ निलो फलामे पुल कटेर निक्कै पर सम्म घुम्न गयौँ। केही वर्ष अघिसम्मको तनहुँमा पर्ने विकट क्षेत्रमा यो पुल बनेर कालोपत्रे सडकको सञ्जाल बन्न थालेपछि विकासको ठूलो लहर फैलिन थालेको छ।

चितवन, नवलपरासी र तनहुँमा पर्ने अति धार्मिकस्थल देवघाटको त्रिवेणी जहाँ मुक्तिनाथबाट बगेर आएकी गण्डकी र गोसाईँकुण्डबाट बगेर आएकी त्रिशुलीको संगम भएर बनेकी नारायणी बग्न थाल्छिन्, त्यहाँ स्नान गर्न र माथि शिवजी तथा विष्णु भगवान र अन्य देवदेवीको मन्दिरमा पूजाअर्चना गर्न पनि आजकल यही बाटोबाट पुग्न सजिलो भएको छ।

पुलपारिको केही वर्ष अघिसम्मको एक छाप्रो होटेल आज आएर ग्राहकहरूको भिड लागेपछि ठूलै घर बनाएर खोलिएको रेष्टुरेन्टमा रुपान्तरित भएको छ। त्यहाँ लोकल कुखुराको मासु, भटमास र च्युराको खाजा खाए पश्चात हामी काठमाडौँको निम्ति रवाना भयौँ ।

भाइटिकाको दिनको खाली सडकमा आज दुई दिन पछि गाडीहरूको अलिक भिड लाग्न थालिसकेको थियो। नौबिसेदेखि नागढुङ्गासम्म त जाम नै हुन थालिसकेको। अब केही दिनमा त यो सडकमा फेरी कोलाहलको स्थिति बन्न थालिहाल्ने छ।

समग्रमा भन्नु पर्दा कोभिडको महामारी कम हुँदै गएपछिको हाम्रो यो छोटो भ्रमणले एकातिर मनलाई निक्कै शान्त र स्फुर्त बनाउन मद्दत गर्‍यो भने केही हदसम्म बल्ल थल्ल उठ्न थालेको पर्यटन उद्योगलाई पनि केही टेवा पुग्यो।

लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *