चुनावी परिणाम अगावै उम्मेदवारपिच्छे प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री बनाउने प्रचण्डको घोषणा

परिस्थिति हेर्दै आश्वासन बाँड्दै

शरद रिजाल
१ मंसिर २०७९ ७:२५

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले निर्वाचन सन्निकट गठबन्धनका उम्मेदवारलाई प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री बनाउने उधारो आश्वासन दिने क्रम बढ्दो छ। उनले गठबन्धनबाट उम्मेदवार बनेका अधिकांशलाई मन्त्री त कसैलाई प्रधानमन्त्री बनाउने प्रतिवद्धता ब्यक्त गर्दै आएका छन्।

बुधबार भोजपुर पुगेका उनले गठबन्धनबाट त्यहाँ प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी नेता सुदन किराँतीलाई जिताएमा मन्त्री बनाउने सार्वजनिक अभिब्यक्ति दिए।

उनले सोही दिन धरानमा  आयोजित चुनावी सभामा सुनसरी क्षेत्र नम्बर १ का गठबन्धनका उम्मेदवार मुक्‍सामहाङ्ग सुब्बालाईलाई समेत जिताएमा मन्त्री बनाउने आश्वासन दिन समेत पछि परेनन्। एकै दिन दुबै जनालाई मन्त्री बनाउने आश्वासन चुनावी सभामा दिएका छन्।

केही समय अगाडि काठमाडौं क्षेत्र नं २ को चुनावी सभामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीलाई विकासे मन्त्री बनाउने सार्वजनिक घोषणा गरे। उनले चुनावी कार्यक्रम सम्बोधन गर्दै भनेका थिए, ‘ओनसरीलाई तपाईंहरुले जिताउनुहोस् मन्त्री बनाउने जिम्मा मेरो भयो।’

केही दिन अगाडि हुम्लाको चुनावी सभामा प्रचण्डले जीवनबहादुर शाहीलाई समेत कर्णालीको पुनः मुख्यमन्त्री बनाउने आश्वासन दिएर आए। उनले आफू जहाँ पुग्छन् त्यहाँका उम्मेदवारलाई स्थानीय मतदाताले विजयी बनाए प्रधानमन्त्री मन्त्री र मुख्यमन्त्री बनाउने जिम्मा लिदै आएका छन्।

गोरखामा उनले आफ्नै क्षेत्र २(ख) बाट प्रदेशसभातर्फ उम्मेदवारी दिएका कांग्रेसका उम्मेदवार उनका चुनावी सारथि सुरेन्द्र पाण्डेलाई पनि मुख्यमन्त्री बनाउने घोषणा गरे। अनि उनी आफैले गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने भन्दै आफ्नै पार्र्टीबाट स्याङजामा प्रदेशसभातर्फ अमृता थापालाई उम्मेदवारी दिन लगाएका छन्।

आइतबार मात्रै उनले तनहुँ पुगेर रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने भन्दै अत्यधिक बहुमतले विजयी गराए प्रधानमन्त्री बनाउने आफ्नो जिम्मा भएको घोषणा गरेर फर्किए।

उनको प्रधानमन्त्री र मन्त्री को आश्वासन धेरै उम्मेदवारलाई दिइसकेका छन्। कांग्रेसभित्रै महामन्त्री गगन थापा, अर्का नेता शशांक कोइराला र प्रकाशमान सिंहले प्रधानमन्त्री दाबी गरिरहँदा प्रचण्डले पौडेललाई प्रधानमन्त्री बनाउने आश्वासन तनहुँका मतदातासमक्ष गरेका हुन्। प्रचण्डले नेपालमा हालसम्मका अधिकांश (केही बाहेक)लाई आफूले प्रधानमन्त्री बनाएको दाबी गर्दै आएका छन्।

नेपालको पछिल्लो समय राजनीतिका किङमेकर बनेका उनकोे अभिब्यक्ति भने अनेकौं उम्मेदवारलाई हौसाउँदै चुनावी फण्डाको रुपमा मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीको स्वघोषित आश्वासन दिँदै आएका छन्। उनी आफैं तेस्रो तर निर्णायक दल हुने सार्वजनिक अभिब्यक्ति दिइ सकेका छन्।

देशभर ४३ स्थानमा उम्मेदवारी दिएको उनको पार्टीको निर्वाचन परिणाम पश्चात कति सिट आउने हो अझै यकिन छैन। तर संघ र प्रदेश सरकारका मुख्य पदहरु आफू अनुकूल बाँड्दै हिँड्नुले राजनीतिक वृत्तमा उनी नै गठबन्धनका सर्वेसर्वा र निर्णायक हुन कि भन्ने आकलन हुन थालेको छ।

किन आश्वासन बाड्दै छन् प्रचण्ड ?

प्रचण्डले गठबन्धनका नेताहरुलाई राजकीय पदको आश्वासन बाडेकोमा अधिकांश नेता कार्यकर्ताको अन्र्तनिहित चाहनालाई थप मलजल पुर्याएको प्रष्ट हुन्छ। उनले जसलाई जेको मनोकांक्षा छ त्यही नै सार्वजनिक अभिब्यक्ति दिइरहेका छन्।

उनले लामो समयदेखि प्रधानमन्त्रीको आकांक्षा ब्यक्त गरिरहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री नै बनाउने आश्वासन दिए। त्यसैगरी गोरखाका पाण्डेलाई मुख्यमन्त्री बनाउने बचनबद्धता पनि जनाएका छन्।

आफूले भने हुने र आफ्नो प्रस्ताव कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार नगर्ने समेत उनले दाबी गरेका छन्। तथापि आश्वासनमा उनका केही शर्त भने ब्याप्त छन्। पौडेललाई प्रधानमन्त्री बनाउन उनले भारी मतान्तरले जिताउनुपर्ने शर्त तनहुँ क्षेत्र नं १ का मतदातासमक्ष राखेका छन्।

प्रचण्डको पदीय आश्वासनले सत्ता गठबन्धनमै किचलो उत्पन्न हुने आशंका बढेर गएको छ। उनले आफ्नो निहित स्वार्थ र उम्मेदवारलाई जिताउने फण्डाको रुपमा पदको आश्वासन दिएको गठबन्धनका एक नेता बताउँछन्।

चुनावी भाषण र घोषणा पत्र जस्तै प्रचण्डको आश्वासन भएको ती नेता बताउँछन्। लोकप्रियता र सार्वजनिक महत्वको लागि बोलिएको अभिब्यक्ति मात्रै भएको ती नेताले बताए।

गठबन्धनका ती शीर्ष नेताले भने, ‘हरेक राजनीतिक दलका नेताको चाहना प्रधानमन्त्री, मन्त्री हुनु स्वभाविकै हो त्यही अनुरुप उहाँले आश्वासन दिनु भएको होला तर त्यसको निक्र्योल निर्वाचन परिणाम र दलीय शक्ति सन्तुलनले गर्छ। यद्यपि चुनावमा त्यस्तो आश्वासन दिनु अन्यथा होइन।’

प्रचण्डको पार्टीमा एउटा प्रतिवद्धता, बाहिर अर्कै वचनबद्धता

प्रचण्डको आश्वासनको रोचक पक्ष के छ भने उनले आफ्नै पार्टीका तर्फबाट मुख्यमन्त्री बनाउने गरी गण्डकीमा अमृता थापा मगरलाई उम्मेदवार बनाएका छन्। उनी स्याङजा क्षेत्र नं १(क) बाट उम्मेदवारी दिएकी छिन्।

माओवादी स्रोतका अनुसार नेता हितमान शााक्यकी श्रीमती अमृता थापा गण्डकीको मुख्यमन्त्रीकै आश्वासन पाएर प्रदेशसभामा निर्वाचन लड्न राजी भएकी हुन्। तर उनले गण्डकीको मुख्यमन्त्री गोखाका पाण्डेलाई बनाउने वचनबद्धता गोरखामा ब्यक्त गरे। यसले उनको घोषणा फगत आश्वासन मात्रै भएको र प्रतिवद्धता नभएको सहजै अनुमान लगाउन सकिन्छ।

प्रचण्डको पछिल्लो अभिब्यक्तिले माओवादीभित्र संशय उत्पन्न गरेको बताइएको छ। पार्टीबाट मुख्यमन्त्रीको आश्वासनमा गण्डकी प्रदेशसभातर्फ थापाले उम्मेदवारी दिएको माओवादी स्रोत बताउँछ।

यस्तै कर्णालीमा जीवन बहादुर शाहीलाई मुख्यमन्त्री बनाउने प्रचण्डको घोषणाप्रति अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट रहेको बताइन्छ। शाहीलाई मुख्यमन्त्रीको घोषणा गरेका प्रचण्डले पार्टीकै कर्णालीका नेता तथा अर्थमन्त्री शर्मा समेत सशंकित भएको माओवादी स्रोत बताउँछ।

शर्मा आफू निकट रुकुम पश्चिम (क) बाट प्रदेशसभामा उम्मेदवारी दिएका राजकुमार शर्मालाई मुख्यमन्त्री बनाउने तयारीमा छन्। प्रचण्डले यसमा सहमति समेत जनएका थिए। तर हुम्लामा पुगेर शाहीलाई मुख्यमन्त्री बनाउने घोषणा गरेसँगै कर्णालीमा माओवादी तरंगित भएको बताइएको छ।

यस्तै लुम्बिनी प्रदेशमा समेत माओवादीबाट उम्मेदवार बनेका अधिकांश नेतालाई उनले मुख्यमन्त्री बनाउने बताउँदै आएका छन्। रोल्पामा प्रदेशसभातर्फ (क)बाट उम्मेदवार बनेका जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने आश्वासन दिइएको बताइन्छ।

उनी लामो समयसम्म प्रचण्डकै स्वकीय सचिव भएर कार्यभार सम्हालिसकेका माओवादी नेता हुन्। हाल माओवादीको लुम्बिनी प्रदेश सहइन्चार्ज रहेका छन्।

यस अगाडि लुम्बिनी सरकारकै सामाजिक विकास मन्त्री भएका सुदर्शन बराललाई समेत भावी मुख्यमन्त्रीको आश्वासन दिइएको माओवादी लुम्बिनी प्रदेशकै एक नेता बताउँछन्। उनले गुल्मी क्षेत्र नं १(क)बाट प्रदेशसभामा उम्मेदवारी दिउका छन्। उनी हाल माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत हुन्।

कांग्रेसले रोल्पा (ख)बाटै उम्मेदवारी दिएका अमरसिंह पुनलाई मुख्यमन्त्री बनाउने आन्तरिक तयारी रहेको बताइएको छ। उनी कांग्रेसका लुम्बिनी प्रदेशका सभापति समेत हुन्। प्रचण्डले पुनलाई समेत गठबन्धनको एक कार्यक्रममा मुख्यमन्त्रीको आश्वासन दिएको कांग्रेस निकट स्रोत बताउँछ।

परिस्थिति हेरेर आश्वासन बाँड्दै

सत्ता राजनीतिक कुटिल खेलाडी प्रचण्ड परिस्थिति हेरेर बोली फेर्न माहिर छन्। परिसथ्तिि हेरेरै आफूलाई रुपान्तरित गर्ने ल्याकत उनी राख्दछन्। भिन्न परिवेश अनुरुप उनका प्रतिवद्धता फरक हुन्छन्।

कतै प्रधानमन्त्री त कतै मन्त्री र मुख्यमन्त्रीको आश्वासन बाड्दै हिडेका उनी आजभोलि मन्त्रीको आश्वासन बग्रेल्ती दिँदै हिडेका छन्। जसको चुनावी सभामा जहाँ पुग्छन् , त्यहा मन्त्रीको आश्वासन नदिइएको सायदै कमै होला।

सरकारको निर्णायक हुने हालसालै घोषणा गरेका प्रचण्डको उक्त अभिब्यक्ति र आश्वासन आफूलाई मजबुद र पद बाँडफाँटमा शक्तिशाली भएको सावित गर्न गरिएको हुन सक्ने राजनीतिक विश्लेसकहरु बताउँछन्।

आगामी चुनावको सम्भावित परिणामको आकलन र त्यसैको आधारमा हुने सरकार निर्माणमा संसदीय शक्ति सन्तुलनको दृष्टिले निर्णायक हुने उनले बताइरहेका छन्।

आफ्नो दलको हैसियत सत्ता समिकरणमा निर्णायक बन्ने भएकाले उनी गठबन्धनका दललाई पूर्व जानकारीस्वरुप मनोवैज्ञानिक रुपमा सचेत गराउँदै बार्गेनिङ पावर बढाउने उदेश्यले पदीय आश्वासन बाडेको हुन सक्ने राजनीतिक वृत्तमा आकलन गरिएको छ।

गठबन्धनले निर्वाचनको परिणाम आफ्नो अनुकुल आउनेमा निर्धक्क रहेको पव्रचण्डको अभिब्यक्तिबाट प्रष्ट हुन्छ। यद्यपि त्यसो नभएमा उनी पुनःनिर्वाचनमा साधारण रुपमा सम्पन्न नभएको या गठबन्धनले यथोचित भूमिका निर्वाह नगरेको आरोपित गर्न पछि नपर्ने बिगतका उनका क्रियाकलापले प्रतिबिम्बित गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *