क्रिकेट र फुटबल विश्वकपमा जमिन र आकाशको भिन्नता, कति छ पुरस्कार राशि ?
काठमाडौं । टि-२० विश्वकप २०२२ समाप्त भएको छ। अब भोलिदेखि फुटबल विश्वकप (फिफा विश्वकप २०२२) सुरु हुँदैछ । यो प्रतियोगिता नोभेम्बर २० बाट सुरु हुँदैछ । कतारमा आयोजना हुने यस प्रतियोगिताको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । फिफा विश्वकप पहिलो पटक खाडी मुलुकमा हुँदैछ ।
विश्वकपमा कुल ३२ टोलीको सहभागिता रहेको छ । यसमा एसियाका ६ टोली छन् । टी–२० विश्वकपमा च्याम्पियन र उपविजेतासहित अन्य सबै टिमलाई वितरण गर्ने पुरस्कार राशी घोषणा गरिएको छ । अब फिफा विश्वकपमा उपाधि र पुरस्कार राशिका लागि टिमहरू भिड्दैछन् ।
क्रिकेट र फुटबल विश्वकप जित्ने दुवै टोलीले कति पैसा पाउँछन् भन्ने जान्न फ्यानहरू पनि उत्सुक छन् । दुबै विश्वकपको च्याम्पियन टोलीले पाएको पुरस्कार राशिमा करिब २६ गुणाको अन्तर रहेको छ । अर्थात् टी–२० विश्वकप जित्ने टोलीले जितेको रकमभन्दा फिफा विश्वकप विजेता टोलीले २६ गुणा बढी पाउनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टि-२० विश्वकपका लागि कुल ५.६ मिलियन डलरको पुरस्कार राशि तोकेको थियो, जुन सबै १६ टोलीहरू बीच फरक-फरक रूपमा बाँडिएको थियो। फाइनलको च्याम्पियन टोलीलाई १.६ मिलियन डलर पुरस्कार दिइएको थियो । जबकि उपविजेता टोलीले करिब ८ लाख डलर प्राप्त गरेको छ ।
यसपटक फिफा विश्वकप कतारले आयोजना गर्ने भएको छ । यसका लागि पुरस्कार राशि पनि घोषणा गरिएको छ । यस पटक विश्वकपभर वितरण हुने पुरस्कार राशि ४४० मिलियन डलर तोकिएको छ । जसमा विश्वकप विजेता टोलीले ४२ मिलियन डलरपाउनेछ । यो अघिल्लो अर्थात २०१८ विश्वकपको तुलनामा ४ मिलियन डलर बढी हो ।
Facebook Comment