निर्वाचन परिणामको परिदृश्य : विद्यमान दल र नेताहरु असफल हुने खतरा

शरद रिजाल
५ मंसिर २०७९ ७:१२

काठमाडौं। आम निर्वाचन २०७९ को मतदान आइतबार सम्पन्न भइसकेपछिका केही दृश्यहरुले निर्वाचन परिणामको सम्भावित चित्र दर्शाएको छ। केही स्थानमा मतदाताको आशय मुलधारका दलहरुको विकल्प र स्वतन्त्र खोज्ने प्रयत्नले समेत चुनावी परिणाम परम्परागत नहुने आकलन राजनीतिक वृत्तमा गर्न थालिएको छ।

यसपटकको निर्वाचनमा मतदातामा उत्साह गएको स्थानीय तहको निर्वाचन जति पनि नदेखिनुले परम्परागत राजनीतिक दल र ती दलका नेताप्रति जनताको मोह घट्दो क्रममा रहेको देखिन्छ। जनतामा निर्वाचनले खासै उल्लेख्य परिवर्तन हुन्छ भन्ने आशा क्रमश पातलिदै गएको बोध मतदाताको उपस्थितिले जनाएको छ।

मतदाताको दलप्रतिको असन्तुष्टी र केही नयाँ अनुहारको लोकप्रियताले चुनावी परिणाम सोचेजस्तो नआउने देखिएको छ। दल र तिनका उम्मेदवारप्रति देखिएको वितृष्णा मतमा प्रकट हुने प्रबल सम्भावना यस पटकको निर्वाचनमा देखिन्छ।

विगत लामो समयदेखि उही पार्टी र उनै उम्मेदवारका पुरानै प्रतिवद्धताबाट मतदाता निराश भएको कतिपय घटनाले प्रष्ट्याउँछ। नयाँ शक्ति र वैकल्पिक राजनीतिको मुद्धा बोकेर नेपाली राजनीतिमा छिरेका अधिकांश पार्टीहरु उही पुरानै दलमा विलय भइसकेका छन् भने कतिपय अस्तित्व रक्षाको गम्भीर संकटमा रहेका छन्।

तर पछिल्लो समय सञ्चारकर्ममा लोकप्रियता कमाएका रवि लामिछानेको राजनीतिमा आगमन भएसँगै उनको नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीसमेत अब नेपालको संसदीय यात्रामा प्रवेश गर्न लागेको प्रचुर सम्भावना राजनीतिक वृत्तमा देखा परेको छ।

पुरानै विरासत कायम गरेका दल र नेताहरुको पूर्ववत प्रवृत्ति यथावत नै छ। यस्तो विषम परिस्थितिमा निर्वाचन परिणामको पूर्वअनुमान सही साबित नहुन सक्छ।

कतिपय राजनीतिक असन्तुष्टिको हालसम्म सम्बोधन हुन नसकेको यथेष्ट तथ्यसमेत निर्वाचनमा घटित केही हिसांत्मक गतिबिधिले चित्रित गरेको छ। केही टड्कारो देखिएका पूर्वसंकेत र सम्भावित पूर्वदृश्य यस्ता छन्।

पुराना दलहरुप्रति असन्तुष्ट हुँदा नयाँले अवसर पाउने संकेत

मतदाताको असन्तुष्टि केही स्वतन्त्रहरुले क्याच गर्ने अुनमान निर्वाचन सकिएसँगै बढेको छ। नयाँलाई उपयुक्त विकल्प ठानेर भन्दा पनि पुराना दलबाट वाक्क मतदाताले यसपटक नयाँलाई मत दिएर प्रशय दिने आकलन छ।

यसपालीको निर्वाचनमा केही स्थानमा स्वतन्त्र र केही ठाउँमा स्वतन्त्र नामक  राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय यात्राको थालनी गर्ने आकलन समेत हुन थालेको छ।

चितवन २ बाट रवि लामिछानेको संसद यात्रामा इन्ट्रीको सम्भावना बढेर गएको छ। उनको उम्मेदवारी र पछिल्लो माहोलले लामिछानेको संसदीय यात्रा सन्निकट देखिएको प्रतित हुन्छ।

उनको पक्षमा देखिएको माहोल र त्यहाँका मतदाताको प्रतिक्रियाले उनी जितको नजिक पुगेको आभास गराएको छ। लामिछानेको जितले पुराना संसदीय दलको असक्षमता साबित हुने खतरा बढेको छ। मतदान सकिएसँगै अनेकौं पूर्वानुमान सार्वजनिक हुन थालेको छ।

यस्तै ललितपुर ३ बाट समेत डा. तोसिमा कार्कीको संभावना बढेको हालसम्मको निर्वाचनको माहोलले देखिन्छ। कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेसँगै उनी थप चर्चामा आएकी थिइन्।

निर्वाचन आयोग विरुद्ध सर्वोच्च पुगेकी उनलाई अदालतले आयोगको निर्णय उल्ट्याइदिएको थियो। यस प्रकरणले थप चर्चामा आएकी उनले निर्वाचन जित्ने आकलन छ।

सम्भवत अबको एक सातामा वास्तविकता उजागर हुने नै छ। तथापि निर्वाचनमा मतदाताको उपस्थितिले पुराना दल र तिनका नेताहरुलाई राम्रै सवक सिकाउने यथेष्ट संकेत देखिएको छ।

देशभर करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगको दाबी छ। यद्यपि गएको स्थानीय तहको निर्वाचन भन्दा यो मत केही कम हुन आउँछ । देशभरका जनतामा वर्तमान राजनीतिक दलका नेताहरुको गतिबिधप्रति देखिएको असन्तुष्टि र वितृष्णाको उपज निर्वाचनमा उल्लासमय उपस्थिति नहुनु हो।

आगामी राजनीतिक परिदृश्य झनै अन्यौलता र सकसपूर्ण हुने मतदानले पूर्वसंकेत गरिसकेको छ। तर, परम्परागत दलका नेता र तिनीहरुकै प्रवृत्ति दोहोरिने संशयले मतदाता निर्धक्क छैनन्।

पुराना राजनीतिक दलहरुलाई विस्थापन गर्दै नयाँ आउनु राजनीतिमा अन्यथा होइन तर ती नयाँले उपयुक्त विकल्प दिन सक्छन् कि सक्दैनन् भन्न्ो प्रश्न अझै केही समयसम्म अनुत्तरित छ।

निराश मतदाताहरुको दल र नेताहरुप्रति वितृष्णा

वर्तमान पुराना दलहरुले देशलाई निकास दिन नसक्ने भन्दै नयाँ वैकल्पिक राजनीतिको अभ्यस समेत नगरिएको होइन। तथापि ती अभियन्ता समेत पुरानै दलमा विलय भइस्केपछि यसले मुर्त रुप लिन सकेन।

वैकल्पिक राजनीतिक शक्ति र तीनले सञ्चालन गरेको अभियानले केही समय अगाडि नै अस्तित्व रक्षाको संकटले थलिएका छन्। अहिलेको निर्वाचनमा उल्लेख्य उपस्थिति देखिएन।

विगतको राजनीतिक परिवर्तनको हिमायती ठान्ने दलहरुले समेत आफूलाई समयानुकुल परिवर्तन गर्न नसक्नु र जनताको तत्कालीन आवश्यकतलाई मनन नगरेकै कारण मतदाताले असन्तुष्टि स्वरुप मतदान प्रक्रियामा उल्लेख्य सहभागिता नभएको आकलन गर्न थालिएको छ।

दलहरुले व्यवस्था पविर्तनको वकालत गर्ने तर उक्त व्यवस्थाको अपनत्वबोध हुने उल्लेख्य कार्य नगर्ने प्रवृत्ति तारन्तार दोहोरिनुले समेत अहिलेको स्थिति सिर्जना भएको हो।

अहिलेको निर्वाचनको मतपरिणामले दल र तीनका नेताहरुको राजनीतिक बर्चस्वमा धावा बोल्ने अनुमान गरिएको छ। यस्तो परिस्थितिमा साबिक दलहरु नसच्चिने हो भने आगामी दिनमा थप संकट आउने संभावना बढ्दो छ। राजनीतिक उपलब्धी र व्यवस्था परिवर्तनको बखान गर्दै हिड्ने दल र तिनीहरुका नेताहरुलाई यसले सबक पक्कै सिकाउने छ।

देशको विद्यमान गरीबी, बेरोजगारी, वैदेशीक ऋण दिनानुदिन बढ्ने तर नेता रतिनका कार्यकर्ताको जीवनशैली रातारात परिवर्तन हुनुले समेत मतदाताको दलप्रतिको निराशा बढेको सहजै अनुमान लगाउन सकिन्छ।

देशमा नयाँ संविधान जारी भएको आठ वर्ष बित्नै लाग्दा जनताको जनजिविकामा उल्लेख्य परिवर्तन आएको महशुस गर्न पाएनन्। यसर्थ अहिलेको निर्वाचनमा जनताले असहमति जाहेर गर्न खोजेको देखिन्छ।

हिंसात्मक द्धन्दको अवशेष ब्याप्त

माओवादीले शशस्त्र सुरु गरेर नेपाल सरकारसँग शान्ति सम्झौता १७ वर्ष पुगिसकेको छ। तर हिंसात्मक द्धन्दका अवशेषहरु अझैसम्म ब्याप्त रहेको यो निर्वाचनले देखाएको छ।

एकातिर मतदाताको न्यून उपस्थिति भएको मंसिर ४ को निर्वाचनको समयमा छिटपुट हिंसात्मक कार्य भने देशभर भएका छन् । मतदान बहिस्कार गर्न उद्धत केही समूहले देशका कतिपय मतदानस्थलमा हिंसात्मक गतिबिधि गर्नुले समेत देशमा अझै पनि विद्रोहका स्वरहरु यथावत रहेको जनाएको छ।

यसले अझै पनि शान्ति सम्झौता सम्पन्न भएको लामोसमय पछि समेत विद्रोहीहरुको हिसात्मक गतिबिधिले पूर्णतया द्वन्द्व मथ्थर नभएको दर्शाएको छ।
विप्लवले नेतृत्व गरेको नेकपालगायत अन्य समूहले निर्वाचन खारेज गर्ने भन्दै देशका कतिपय स्थानमा मतदान प्रकिया अवरोध गर्ने प्रयत्न गर्नुले केही समूह वर्तमान व्यवस्थाप्रति नै असन्तुष्ट रहेको देखिन्छ।

तत्कालीन माओवादीले सुरु गरेको शशस्त्र संघर्षको उद्गम थलो रोल्पाको थवाङ गाउँपालिकाको एक मतदानस्थलमा कुनै पनि मतदाताले मतदान गरेनन्। सदैव विद्रोहको विम्वको रुपमा रहेको थवाङ यसपटक निर्वाचनमा समेत सामेल नहुनुले निर्वाचन र अहिलेको व्यवस्थाप्रति कतिपयको असन्तुष्टि सम्बोधन हुन नसकेको जनाउँछ।

द्वन्द्वरत पक्षको मुलसमूह वर्तमान राजनीतिक प्रणालीमा समाहित भए पनि अझै अधिकांश नेता,कार्यकर्ता  असन्तुष्ट रुपमै संगठीत छन्  भन्ने अभिप्राय आइतबारको निर्वाचनमा भएका हिंसात्मक घटनाबाट देखिएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *