सुनसान सिंहदरबार !
काठमाडौं। गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम अन्तिम चरणमा रहेको छ । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो।
तर राजनीति माहोल तातिइरहँदा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भने यतिबेला सुनसान छ। चुनावअघिसम्म सिंहदरबारको रौनक बेग्लै हुन्थ्यो। राजनीतिक दलका कार्यालय, मन्त्रालयमात्रै होइन, सिंहदरबारभित्रका क्यान्टिन पनि भरिभराउ हुन्थे।
तर अहिले सिंहरबारमा केही मन्त्री, कर्मचारी र आवश्यक कामका लागि बाहेका अन्य प्रयोजनका लागि प्रवेश गर्नेको संख्या कम छ। सिंहदरबारको दक्षिण गेटमा भित्र प्रवेश गर्नेको संख्या खासै देखिँदैन।
सोमबार दिउँसो सिंहदरबार परिसरमा पुग्दा अधिकांश मन्त्रीहरुको उपस्थिति थिएन। प्रमुख राजनीतिक दलका संसदीय दलको कार्यलय खाली थिए भने मन्त्रालयमासमेत भीडभाड देखिएन।
मन्त्रालयका कर्मचारीहरुकोले आफ्ना काम सम्हालिरहँदा संसद सचिवालयमा भने प्राय सबै ढोका बन्द थिए। चुनाव सकिएसँगै अब नयाँ संसदमा नयाँ नयाँ पार्टीको पनि आगमन भएको छ। तर उनीहरुलाई संसदीय दललगायतको कार्यलय तथा कुनै पनि ब्यवस्थापनको काम भने सुरु गरेको छैन।
‘चुनावको समयमा सिंहदबार र विशेष गरी मन्त्रालय आउने पार्टीका कार्यकर्ताको संख्या कम भएको छ,’ संसद सचिवालय अगाडि घाम तापिरहेका एक कर्मचारीले भने, ‘अहिले त केही काम छैन, निर्वाचन आयोगले विजेताको सूचि नपठाइकन ब्यवस्थापन सुरु हँदैन, कुन दलको कत्रो आकार हुन्छ सोही अनुसार संसदीय दलको कार्यलय दिने हो अहिले कुनै तयारी छैन।’
उता मन्त्रालयको पनि हालत उस्तै छ। चुनाव जितेका बहालवाला मन्त्री विजय जुलुस र कार्यकर्ता भेटघाटमा आफ्नै क्षेत्रमा व्यस्त भएपछि हारेकाहरुपनि मन्त्रालयमा उपस्थित थिएनन् । बहालवाला ६ मन्त्रीले चुनाव हारेका छन्। निर्वाचन हार्नेमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राज्यमन्त्री उमेश श्रेष्ठ छन्।
सिंहदरबारभित्र प्रवेश गर्नेको संख्या कम भएपनि दैनिक दैनिक काम कारवाहीमा भने कुनै प्रभाव परेको देखिँदैन। सिंहदरवारभित्र रहेको संसद सचिवालय प्रशासनिक भवनको पुनःनिर्माणको काम धमाधम भइरहेको छ। सधैंजसो नेता, कर्मचारी तथा पत्रकारले भरिने सिंहबारभित्रका क्यान्टिन समेत सुनसान देखिन्छन्।
Facebook Comment