यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-१ विजयी

डिसी नेपाल
१३ मंसिर २०७९ १५:१०

काठमाडौँ। यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ विजयी भएको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो।

मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। प्रदेश-१ को जीतमा सोनु अन्सारीले अविजित ४५ रन बनाउँदा सुभम गहतराजले अविजित २४ रन बनाए।

टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ दशमलव ३ ओभरमा अलआउट हुँदै ७० रन बनाएको थियो। मधेश प्रदेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

प्रदेश-१ का लागि विपिन महतो र कप्तान दिपेश कँडेलले समान तीन/तीन विकेट लिए भने सन्देश भट्टराईले २ विकेट लिए। त्यस्तै आशीष मगर र आश्विन महतोले समान १/१ विकेट लिए।

जीतसँगै प्रदेश-१ ले फाइनल पुग्ने सम्भावना जीवित राखेको छ। प्रदेश-१ को चार खेलबाट चार अङ्क भएको छ। पराजित मधेश तीन खेलमा अङ्कविहीन छ।

प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ। प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले एक लाख पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *