लुम्बिनी प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय

डिसी नेपाल
२० मंसिर २०७९ १२:५३

दाङ। लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ। यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्ने छ।

मुख्यमन्त्री कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयका सामानसहितका सामग्री स्थायी राजधानीमा भालुवाङ पु¥याइएको हो। दाङको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरिएपछि त्यहाँ मुख्यमन्त्रीको कार्यालय आवास गृह, मुख्य सचिवको कार्यालय र आवास गृह निर्माण गरिएको छ।

मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार आइतबारबाट मुख्यमन्त्री कार्यालयले देउखुरीबाटै सेवा प्रवाह गर्नेछ। उहाँले यही हप्ताभित्र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखानियन्त्रण कार्यालय पनि ल्याउने तयारी गरिएको जानकारी दिए।

नवनिर्वाचित प्रदेशसभा सदस्यलाई भालुवाङमै सपथ खुवाउनेसमेत तयारी गरिएको छ। प्रदेशसभा भवनसमेत निर्माणको अन्तिम चरणमा छ। २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो। विसं २०५० मा स्थापना भएको राप्ती गाउँपालिका – ५ स्थित राप्ती प्राविधिक शिक्षालय १६ बिघा क्षेत्रफलमा फैलिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *