राजधानी तोकिएकै ठाउँमा स्थापना गर्नु लुम्बिनी सरकारको दायित्व होः मन्त्री खड्का

रुपन्देही । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रदेशको राजधानी तोकिएकै ठाउँमा स्थापना गर्नु सरकारको दायित्व भएको बताएका छन् ।
राप्ती, भेरी र लुम्बिनीको भावनालाई समेटेर दाङको देउखुरीमा राजधानी राख्ने निर्णय प्रदेशसभाले यसअघि नै गरिसकेकाले सरकारले त्यसलाई कार्यान्वयन गर्न लागेको उनले बताए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा मन्त्री खड्काले प्रदेशसभाले बहुमतका साथ पारित गरेको विषयलाई अतिरञ्जित नगर्न सबैमा आग्रह गरे।
उनले देउखुरीमा प्रदेशसभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै विषयगत समिति र संसदीय दलका कार्यालय बनिसकेकाले अब मन्त्रिपरिषद्सहित अन्य मन्त्रालय सबै स्थापना हुने बताए । उनले तत्कालका लागि राप्ति प्राविधिक शिक्षालयको भवनमा मुख्यमन्त्री कार्यालय तथा अन्य मन्त्रालयको व्यवस्थापन गर्ने काम भइरहेको बताए ।
नेकपा (एमाले) का नवनिर्वाचित प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जनतासँगको सरोकारको विषयलाई हलुका ढङ्गले लिएर गठबन्धन सरकारले रातारात सामान सार्ने काम गलत भएको बताए । प्रदेशसभाले निर्णय गरेपछि राजधानी दाङ जाने कुरामा कसैको विमति नरहे पनि हतारहतारमा मन्त्रालय सार्दा सेवाग्राही र कर्मचारीलाई असर गर्ने उनको भनाइ छ ।
Facebook Comment