मदिरा सेवनपछि हत्या, हत्यापछि आत्मसर्मपण
काठमाडौं। कैलालीको जोशीपुरमा तीन जनाबीच मदिरा सेवन गरी झगडा हुँदा नातामा साला पर्नेको हत्या भएको छ।
कैलाली प्रहरीका अनुसार जोशीपुरका कान्ते भनिने गौरीलाल ढुंगानाले नातामा साला पर्ने पदम भण्डारीको हत्या गरी राति १ बजे प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनले राति १ बजेतिर इलाका प्रहरी कार्यालय बौनीयाँमा आत्मसमर्पण गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेद जोशीका अनुसार आत्मसर्मपणपछि उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको छ।
जोशीपुर गाउँपालिका-६ कुमारीबागका कान्ते भनेर चिनिने ५० वर्षका ढुंगानाले घरेलु हतियार प्रयोग गरेर साला नाता पर्ने ३३ वर्षका पदम भण्डारीको हत्या गरेको र अर्का साला नाता पर्ने ४० वर्षका जयराम भण्डारी घाइते भएका थिए।
उनीहरु सबैजना एउटै टोलका बासिन्दा समेत हुन्। तीनै जनाले सँगै मदिरा सेवन गरेपछि विवाद भएको र विवादको क्रममा ढुंगानाले भण्डारीको हत्या गरेका थिए। मदिरा सेवनकै क्रममा उनीहरुबीच घरायसी झगडालाई लिएर विवाद भएको बताइएको छ।
भिनाजु ढुंगानाले दिदीलाई प्रायःजसो कुटपिट गर्ने गरेपछि सालाहरुले त्यसो नगर्न भनेर सम्झाएका थिए। यही विषयमा उनीहरुबीच विवाद चर्केको थियो। प्रत्यक्षदर्शीका अनुसार ढुंगानाले भण्डारीद्वयलाई मारिदिने धम्की दिएका थिए।
उनीहरुले सक्छौ भने मारेर देखाउ भनेपछि ढुंगाना घरबाट हँसिया लिएर आएका थिए। ढुंगानाले एकाएक दुवैजना माथि हसिया प्रहार गरेको स्थानीयले बताए।
उनीहरुकाबीच यसअघि समेत झैझगडा हुने गरेको स्थानीयले बताएका छन्। केही समयअघि ढुंगानाले सालालाई सावर्जनिक मुद्दा लगाएका थिए। तत्कालीन अवस्थामा समेत उनीहरुबीच झैझगडा भएको थियो।
Facebook Comment