मुख्यमन्त्रीको कार्यालयमा साइत हेरेर प्रवेश गरे मुख्यमन्त्री केसी

सुरक्षा व्यवस्था मिलाउन निर्देशन

डिसी नेपाल
२३ मंसिर २०७९ २१:५५

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा गृह प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बुटवलबाट देउखुरी सारिएको स्थायी राजधानी स्थलमा निर्मित मुख्यमन्त्री निवासमा साइत हेरेर मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ९ बजे शुभ साइत पारेर गृह प्रवेश गरेका हुन् । साबिक राप्ती प्राविधिक शिक्षालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवास तयार पारिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको औपचारिक सेवा सुरु गर्ने योजना रहेको छ तर मुख्यमन्त्री गृह प्रवेश कार्यक्रम सुनेर समाचार सङ्कलन गर्न पुगेका पत्रकारलाई भने रोक लगाइएको थियो ।

विसं २०७७ असोज २० मा प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको राजधानीको टुङ्गो लगाएको थियो । निर्णय भएको दुई वर्ष दुई महिनापछि मुख्यमन्त्री कार्यालय राजधानी क्षेत्रमा स्थापना गरिएको छ । अन्य मन्त्रालयसमेत स्थापनाको तयारी भइरहेको छ ।

मुख्यमन्त्री केसीले राजधानीको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा उपस्थित भएका सुरक्षा निकायका प्रमुखहरूलाई राजधानीको स्थायी मुकामको विषयलाई लिएर कसैले पनि राजनीति गर्न नहुने भन्दै सबै संयम भएर प्रदेशसभाले गरेको निणर्यलाई कार्यान्वयनका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गरे ।

लुम्बिनी प्रदेशको राजधानीका लागि सुरक्षाको दृष्टिले निकै संवेदनशील विषय भएको बताउँदै उनले सिसी क्यामरा जडान, ट्राफिक कार्यालयको व्यवस्थापन, मन्त्रालयको सुरक्षा, मुख्यमन्त्री एवं मन्त्रीहरूको सुरक्षालगायतको विषयमा व्यवस्था मिलाउनका लागि निर्देशन दिएको मुख्यमन्त्री केसीका प्रमुख राजनीतिक सल्लाहकार अम्मरबहादुर डाँगीले बताए । “आज मन्त्रालयमा आयोजित सुरक्षा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीज्युले यस प्रकारको निर्देशनदिनु भएको छ”, प्रमुख सल्लाहकार डाँगीले भने ।

मुख्यमन्त्री केसीले राजधानी कार्यन्वयनका लागि सबै सुरक्षा निकायले आ–आफ्नो टोलीबाट अगाडि बढाउनुपर्ने बताए । सुरक्षा निकायले सरकारको कामलाई सहजीकरण हुने गरी सुरक्षाको प्रत्याभूति दिलाउन उनले आग्रह गरे ।

बैठकमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून एवं सञ्चारमन्त्री तिलकराम शर्माले सुरक्षा निकायको समन्वय गरी अगाडि बढाउनका लागि मन्त्रालय तयार रहेको बताउँदै सुरक्षा निकायको सहकार्यमा मात्र अन्य काम गर्न सकिने बताए । अस्थायी राजधानी बुटवलबाट मन्त्रालयका सम्पूर्ण सामानहरू स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) ल्याउनका लागि सुरक्षाकर्मीको पनि महत्वपूर्ण साथ रहेको सञ्चारमन्त्री शर्माले सुरक्षाकर्मीको खुलेरै प्रशंसा गरे ।

सुरक्षा समितिको बैठकले तत्कालका लागि सवारी साधनको गति व्यवस्थापन, झण्डोत्तोलन जस्ता कार्यलाई तीव्रता दिएर अगाडि बढ्ने भएको छ । बैठकमा नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सुरक्षा प्रमुखहरूको उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *