मलाई मुर्ख देख्नेहरुका नाममा
अहिले २/४ दिन यता सञ्चार जगतमा मैले खुब चर्चा पाएको रहेछु। मलाई मूर्ख विद्वानको संज्ञा दिएको रहेछ। मूर्ख विद्वान होइन, मूर्ख नै भन्दिए नि हुन्थ्यो, किनभने मूर्खले सबैलाई आफू जस्तै मूर्ख नै देख्छ। २/४ वटा टुक्का फलाक्दैमा कोही पनि कवि हुन सक्दैन।
२/४ अक्षर लेख्दैमा कोही पनि लेखक हुन सक्दैन।विद्वान हुनलाई ता राज्य सञ्चालनका लागि शासक वर्गलाई सचेत गराउने निर्देशिक सिद्धान्तका वाक्य बोल्न सक्नु पर्छ।
यो भन्दा अघिल्लो कार्यकालमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले इतिहासविद् र संस्कृतिविद्हरुकाई परामर्शका लागि राष्ट्रपति भवनमा बोलाउनु भयो।
त्यसमा म पनि परेँ। हामी २०/२५ जना जति थियौँ। वरिष्ठ वरिष्ठ प्राध्यापक डाक्टरहरुले सम्माननीय राष्ट्रपतिज्यू समक्ष आ-आफ्नो Bio Data प्रस्तुत गर्नु भयो। राष्ट्रपतिज्यूले पक्कै पनि वहाँहरुको Bio Data सुन्न चाहेको त होइन होला।
मेरो पालो आए पछि म जगमान गुरुङ हुँ। जगमान गुरुङ नै मेरो परिचय हो भनेँ। नेपालको धार्मिक एवं सांस्कृतिक जगतमा सम्माननीय राष्ट्रपतिज्यूको भूमिका र दायित्त्व बारे अवगत गराएँ। सम्माननीय राष्ट्रपतिज्यू अत्यन्तै खुशी हुनुभयो।
उहाँले चाहनु भएको धार्मिक, सांस्कृतिक र सामाजिक परामर्श यही रहेछ तर सम्माननीय राष्ट्रपतिज्यूलाई सटीकरूपमा धार्मिक,सांस्कृतिक एवं सामाजिक परामर्श दिन सक्ने म कसै कसैको दृष्टिमा महामूर्ख ठहरिएको रहेछु।
अहिले चार महिना यता मलाई सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको समक्षमा दुई पटक आफ्नो शुभकामना मन्तव्य अभिव्यक्त गर्ने सुवर्ण अवसर प्राप्त भयो। मैले केवल भौतिक योजनाहरु मात्रै राष्ट्रिय गौरवको योजना हुन सक्दैन। प्राज्ञिक योजनाहरु पनि राष्ट्रिय गौरवको योजना हुन सक्छ।त्यसकारण राज्यले प्राज्ञिक योजनालाई उपेक्षा गर्न हुँदैन भनेँ।
अर्को एउटा कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्त्वका लागि यस प्रकारको योजना तर्जुमा गर्नुपर्छ भनेर नीति तथा कार्यक्रम प्रस्तुत गरेँ। मेरो मन्तव्यबाट सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू अत्यन्तै प्रभावित हुनु भयो र उहाँबाट म सुप्रसिद्ध प्रवल जनसेवाश्री विभूषणबाट विभूषित भएँ ।
तर सम्माननीय प्रधानमन्त्रीज्यूलाई राज्य सञ्चालनका लागि निर्देशिक सिद्धान्तको नीति प्रस्तुत गर्न सक्ने म कसैको दृष्टिमा मूर्ख ठहरिएको रहेछु।त्यसकारण मूर्खले सबैलाई आफू जस्तै मूर्ख देख्छ।
पहिलो कुरा मान्छेले कुरा जाने कै हुँदैन र दोस्रो कुरा मान्छेले कुरा जाने पनि आँट गरेर भन्न सक्दैनन्। म जातीय धरातलबाट माथि उठेर राजनीतिको साँघुरो घेराबाट माथि उठेर नेपाल राष्ट्रको सुदृढिकरण र नेपाली राष्ट्रियताको दिगो विकाशका लागि अर्जुन दृष्टिले दत्त चित्त रहने व्यक्ति हुँ। त्यसकारण नेपाल राष्ट्र र नेपाली राष्ट्रियता लागि म सधैँ खरो र दरो कुरा बोल्दछु। यो मेरो अवगुण हो कि त?त्यसैले म मूर्ख विद्वान ठहरिएको रहेछु।
(गुरूङकाे सामाजिक सन्जालबाट, शीर्षक हाम्रो हो)
Facebook Comment