इङ्ल्याण्डले पाकिस्तानमै गएर २२ वर्षपछि पाकिस्तानलाई हरायो
काठमाडौं । मुल्तानमा भएको दोस्रो टेस्टमा इंग्ल्याण्डले पाकिस्तानलाई २६ रनले पराजित गरेको छ । योसँगै इंग्ल्याण्डले तीन टेष्टको सिरिजमा २–० को अपराजेय अग्रता बनाएको छ । यो खेल निकै रोमाञ्चक रह्यो ।
दोस्रो टेष्ट जित्न पाकिस्तानलाई ३५५ रन बनाउनु परेको थियो तर पाकिस्तानको टोली ३२८ रनमा आउट भएको थियो । खेलको नतिजा चौथो दिनमै आयो ।
पाकिस्तानका लागि दोस्रो इनिङ्समा साउद शकीलले ९४ र इमाम उल हकले ६० रन बनाए । जबसम्म यी दुई ब्याट्सम्यान क्रिजमा थिए, पाकिस्तानको क्याम्पमा जितको आशा थियो। पाकिस्तानका लागि मोहम्मद नवाजले ४५ रन बनाए ।
इंग्ल्याण्डका लागि मार्क वुडले चार र जेम्स एन्डरसनले दुई विकेट लिए ।
इंग्ल्याण्डले पहिलो इनिङ्समा २८१ रन र दोस्रो इनिङ्समा २७५ रन बनाएको थियो । इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले १०८ रन बनाए । पहिलो इनिङ्समा पाकिस्तानको टोली २०२ रनमा समेटिएको थियो ।
इंग्ल्याण्डले पहिलो टेष्ट खेल ७४ रनले जितेको थियो । शृङ्खलाको तेस्रो र अन्तिम टेस्ट खेल १७ डिसेम्बरदेखि कराँचीमा हुनेछ ।
Facebook Comment