पोखरामा प्रचण्डले गरेका थिए गैरराजनीतिक ब्यक्तिलाई राष्ट्रपति बनाउने संकेत

शरद रिजाल
१ पुष २०७९ ७:१९

काठमाडौं। सरकार निर्माणको तयारी सुरु भएसँगै दलहरुबीच सत्ता साझेदारीको घनिभुत छलफल जारी छ। यसैक्रममा सरकारको नेतृत्व लगायत अन्य राज्यका महत्वपूर्ण पद बाँडफाँटमा दलहरु सहमतिको लागि प्रयासरत छन्।

यही तयारीकाबीच बिहीबार गैरराजनीतिक चरित्रका ब्यक्तिलाई राष्ट्रपति बनाउने बालुवाटारको तयारीबारे सञ्चारमाध्यममा बाहिरिएपछि अनेकौं अड्कलबाजी सुरु हुन थालेको छ। कतिपयले यसलाई दलीय राजनीतिमा आएको स्खलन र विकृतिको उपज भन्दै टिकाटिप्पणी गरेका छन्।

पहिलो संविधानसभा विघटनपछि मन्त्रिपरिषद अध्यक्षको जिम्मेवारी सम्हालेका तत्कालीन प्रधानन्यायाधीश खिलाराज रेग्मीको चर्चा चुलिएको छ। उनलाई पुनःराष्ट्रपति बनाउने तयारी थालिएको बताइएको छ। यद्यपि उनको सचिवालयले भने यसलाई खण्डन गर्दै निराधार भएको बताइसकेको छ।

तर, बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीबीच भेटघाट भएको भने पुष्टि भइसकेको छ। तथापि भेटवार्ता के विषयमा केन्द्रित रह्यो भन्ने खुल्न सकेको छैन।

बिहीबार चर्चामा आएसँगै यसको संकेत भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले बुधवार केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश पदाधिकारीस्तरीय बैठकमा गरिसकेका थिए।

उनले बुधवार पोखरामा आयोजित केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पदाधिकारीको बैठकमा राष्ट्रपति गैरराजनीतिक ब्यक्तित्व हुन सक्ने संकेत गरेको बैठकमा सहभागी एक नेताले बताए।

ती बैठकमा सहभागी नेताका अनुसार प्रचण्डले खिलाराज रेग्मी भनेर प्रष्टताका साथ नभने पनि गैरराजनीतिक क्षेत्रको ब्यक्ति राष्ट्रपति बन्न सक्ने बताएका थिए।

उनका अनुसार प्रचण्डले नयाँ र राजनीतिक वृत्तभन्दा बाहिरको ब्यक्ति राष्ट्रपति बन्ने खुलाशा गरेका थिए। ‘नयाँ र राजनीतिक ब्यक्तित्व भन्दा अलग नै राष्ट्रपति बन्न सक्ने पर्याप्त संभावना रहेको छ। दलीय राजनीति भन्दा बाहिरको जोसुकै हुन सक्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘प्रधानमन्त्रीमा मेरो दाबी यथावत छ र बन्ने संभावना प्रबल छ। सहमतिमा राष्ट्रपतिमा अन्य बाहिरको राष्ट्रिय ब्यक्तित्व बन्ने पनि हुन सक्छ। ’

ती नेताका अनुसार प्रचण्डले खिलाराज रेग्मीको नाम भने किटानकासाथ उल्लेख गरेनन् तर सांकेतिक रुपमा दलभन्दा बाहिरको पनि हुनसक्ने प्रष्ट रुपमा बताएका हुन्। प्रचण्डले संकेत गरेको भोलिपल्टै बाहिरिएको यस विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गठबन्धनका दलहरुबीच आन्तरिक तयारी थालेरै यो बाहिरिएको त होइन भन्ने आशंका समेत उठेको छ।

सोही कार्यक्रममै प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दाबी समेत गरेका थिए। उनले आगामी सरकारको नेतृत्व आफूले नै गर्ने भन्दै कार्यकर्तालाई प्रधानमन्त्री बन्ने आश्वासन समेत दिएका थिए।

उनले सरकारको नेतृत्व कांग्रेससहितको सरकारको गर्ने वा नयाँ समिकरण बनाएर गर्ने विषयमा भने केही नभएको बैठकमा सहभागी ती नेताले बताए।

अध्यक्ष प्रचण्ड प्रमुख अतिथि रहेको उक्त बैठकमा प्रदेश इन्चार्ज हितराज पाण्डे, पोलिटब्यूरो सदस्य हरिराज अधिकारी लगायतका नेता र गण्डकीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारीहरुको सहभागिता रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *