भैरहवा-वुटवलको रोमाञ्चक यात्रा (भाग १)
यसपालीको दशैँ-तिहार र छठ जस्ता चाडपर्व सकिए पछिको शून्यता। जलवायु परिवर्तनले नै गर्दा हुनुपर्छ, कार्तिकको तेस्रो हप्तासम्म पनि जाडोको शुरुवात भएको संकेत पाइएको थिएन।
मुलुकभर नै डेङ्गीको महामारीमा केही कमी आएको भएता पनि खासगरी काठमाडौँमा अझै पनि यसको कारण विरामी परेका मानिसहरू बारेका समाचार प्राप्त भइ नै रहेको अवस्था। यस्तैमा परिवारका केही सदस्य मोटरगाडीमा सिद्धार्थनगर (भैरहवा) पुगेका।
चितवनदेखि भैरहवा पुग्न साँढे ३ घण्टा लाग्यो अरे। बाटो चौडा पार्ने काम ठप्प रहेको र खाल्डा खुल्डीहरू केही सम्याइएकोले केही महिना अघिको वर्षायाममा भन्दा केही राहत मिलेको कुरा। तर पनि धुलोले गर्दा निक्कै सास्ती पाइयो रे।
भैरहवा पुगेपछि भने मौषम ज्यादै अनुकुल भएकोले गर्मीको कहाली लाग्दो वातावरण नै बिर्सेको अनुभव भयो रे परिवारजनलाई। मलाई पनि हवाइजहाजमा आउने निम्तो आयो। वास्तवमा मेरो ससुरालीको मधेशको थलो पनि भैरहवा नै हो, पहाडको पुर्खौली थलो भने गुल्मीको भार्से।
सासु-ससुरा पनि वेलायतबाट नेपाल आएर भैरहवाको घरतिर जानु भएको अवसर। मेरा ससुरा बृटिश गोर्खा सेनाका अवकासप्राप्त अधिकृत। उहाँको आत्मवृत्तान्त र सेवाको अनुभव बारेको अङ्ग्रेजी पुस्तकको लेखनमा पनि मेरो सहयोग रहिरहेकोले उहाँको वाल्यकाल र बिदाको समय बितेको ठाउँ घुमेर लेखनलाई अझ बढी प्रभावकारी बनाउन सक्ने अवसर।
कार्तिक २२ गते मङ्गलबार। बादल र तुवाँलोरहित काठमाडौँको खुला आकाश। बिहानको नास्ता पश्चात छोरी र ज्वाईँसँग बिदा भएर ढोकामा राखेको घडामा सिक्का राख्दै शुभयात्राको मनोकामनाका साथ विमानस्थलतर्फ लागेँ।
नातिनीहरूलाई छोडेर केही दिन बाहिर जानु पर्दा मन खिन्न। हाम्रा बाजे बज्यैले हामी साना छँदा भन्ने गरेको ‘सावाँको भन्दा ब्याजको माया’ भन्ने उक्ति ज्यादै सही रहेछ।
सन् २०२० को प्रारम्भबाट नेपालमा शुरु भएको कोरोनाको महामारी भरी नै मैले हवाइजहाजको यात्रा गरेको थिइन्। विश्वमा नै कोरोनाको कहर शुरु हुन थालेको बेलामा भने अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमण र मेल्वोर्न, सिड्नी र अकल्याण्डमा मेरो प्रथम पुस्तकको सार्वजनिकीकरण कार्यक्रम सकेर म नेपाल फर्केको थिएँ। त्यसैले पनि लामो समय पश्चातको हवाई उडानको एक प्रकारको भिन्दै उत्साह।
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा यो लामो अन्तराल बीच धेरै सुधारहरू भइसकेका रहेछन्। यात्रु प्रतिक्षा कक्ष पहिले भन्दा निक्कै ठूलो र सुविधाजनक भएको रहेछ। ठाउँ ठाउँमा टेलिभिजन र सफा शौचालय अनि यथेष्ट कुर्सीसहितको प्रतिक्षालय। वुद्ध एयर र यती एयरलाइन्स जस्ता प्रमुख विमानसेवाका आआफ्नै यात्रु प्रतिक्षालयहरू रहेछन् वाईफाईसहित।
आज आकाशमा विमानहरू धेरै होल्डमा रहेनछन् क्यार, त्यसैले ठीक समयमा नै विमान तर्फ जाने बेला भयो। दायाँपट्टिको सिट नपाएकोले हिमाल हेर्न त्यति राम्ररी नपाए पनि दक्षिणतिरका पहाड र त्यसपछि शुरु हुने मैदान र नदीहरू हेर्दा हेर्दै र वुद्ध एयरको उडान पत्रिकामा नेवाः संस्कृति बारेको एउटा राम्रो लेख पढ्दा पढ्दै भैरहवा पुग्ने बेला भइहाल्यो। विमानले तल चौडा सडक तथा आधुनिक घरहरू छिचोल्दै धावन मार्गमा प्रवेश गरिहाल्यो।
गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि नयाँ धावनमार्गमा यो मेरो पहिलो अवतरण थियो। चौडा र लामो धावनमार्गमा उत्रेर आन्तरिक टर्मिनलतिर जाँदा नयाँ, भव्य तर सानो चिटिक्कको टर्मिनल भवन पनि देखियो।
अन्तर्राष्ट्रि उडानका कुनै पनि जेट विमान आइ नसकेकोले ज्यादै रित्तो देखिन्थ्यो विमानस्थल। तर हाम्रो विमान आन्तरिक टर्मिनल अगाडि रोकिने वित्तिकै हिमालय एयरलाइन्सको विमानले अवतरण गर्यो। सायद मलेशियाबाट यात्रु बोकेर आएको होला।
आज यो विमानस्थलको उद्घाटन भएको ७ महिना बितिसक्दा पनि यसलाई सुचारु गर्न नसक्नु हाम्रो सरकार र नागरिक उड्डयन प्राधिकरणको नै लार्पवाहीका प्रमुख पात्र हुन गएका छन्।
विमानस्थलको निर्माण प्रकृयासँगै भारतसँग हवाईमार्ग सम्बन्धि सहमति जुटाउन नसक्नु पनि सरकारको लाचारीको एउटा उदाहरण हो। त्यसमाथि बैशाख पुर्णीमाकै दिन लुम्बिनी पुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हाम्रा दिग्गज प्रधानमन्त्रीले हवाईमार्ग बारे कुरा राखेको समाचार पनि कतै सुन्नमा आएको थिएन।
सोही दिन उद्घाटन भएको सो विमानस्थलको वास्तवमा मोदीलाई स्थलगत अवलोकन गर्ने कार्यक्रम राखेर उनलाई त्यतैबाट बिदा गर्ने वन्दोवस्त गर्न सकेको भए सायद उनले स्वदेश फर्केर सम्बन्धित निकायलाई नेपाललाई हवाइमार्ग उपलब्ध गराउने बारे सकारात्मक निर्देशन पनि दिने थिए होलान्।
भैरहवाको यो विमानस्थलले अन्तर्राष्ट्रिय विमानस्थल हुने सौभाग्य पाइसकेको भएता पनि आन्तरिक टर्मिनलको हालत पहिलेको जस्तै नाजुक अवस्थामा रहेछ। एउटा साँघुरो र फोहर खुला कोरिडोरमा यात्रुहरू आफ्ना सामान बुझ्न आधा घण्टाभन्दा बढी समयदेखि उभिइरहेका, भित्ता भरी लामखुट्टे, माकुरा र अन्य किटाणुले डेरा जमाएका।
कानको पछाडि लामखुट्टेले टोकेको जस्तो महसुस र एक प्रकारको त्रास। गर्मी पनि खासै नघटेको। आन्तरिक टर्मिनलको यो बिजोग हेर्दा पुरानो घर भएका मानिसले पुरानो घरसँगै नयाँ घर बनाएर दुबै घरमा खुट्टा राखेर बसेका जस्तो भान हुन गयो।
विमानस्थलबाट बाहिर निस्केपछि पूर्वतिर पिपरहियातर्फ जाने गल्लामण्डीको बाटो पहिले निक्कै साँघुरो र भिडभाडयुक्त थियो, तर हाल ४ लेनको फराकिलो भएछ र यसको दुबैतर्फ आधुनिक घरहरू।
देवकोटा चोकबाट दक्षिणतर्फ अवस्थित एक निक्कै सुविधा सम्पन्न ४ तारे होटेलमा बास बस्ने बन्दोवस्ती पश्चात केही बेर आराम गरेर म्यौडीहवास्थित ससुराली घरतर्फ दिवा खानाको निम्ति प्रस्थान गरियो।
त्यहीँ पछाडि खेतमा उब्जाएको चामलको भात र लोकल तरकारी र कुखुराको मासु सहित तिख्खर अचार खाँदै जिब्रो पड्काएर बाहिर खुला आँगनमा बसेर चियाको चुस्की लिँदै गफिँदा निक्कै मज्जा आयो। धेरै दिन पछि मैले यसरी मज्जाले जमेर दालभात खाएको थिएँ।
हामी ससुराली घरको त्यो क्षेत्रदेखि दक्षिणपट्टि अवस्थित खेतै खेत हुँदै पश्चिमतर्फ घुम्न निस्कियौँ र भैरहवा विमानस्थलको छेवैमा पर्ने धरमपुर र शंकरापुर क्षेत्रमा पुग्यौँ। विमानस्थलको विस्तारले गर्दा यसको चारैतर्फ सडकको सञ्जाल बन्न पुगेको तथा निकट भविष्यमा यो क्षेत्रमा होटेल तथा अन्य व्यवसाय फस्टाउने अनुमानका साथ धमाधम खेतीयोग्य जमीन प्लटिङ हुँदै बिक्न शुरू भएको पनि देख्यौँ।
साँझ ससुराली घरमा चिया पिउँदै आँगनमा बसिरहेको बेलामा मेरो हातको कमिजको बाहुला समेत छेडेर एउटा लाम्खुट्टेले टोकेको आपैmले प्रत्यक्ष रूपमा देखँे र हतपत त्यो लामखुट्टेलाई मारेपछि निकै दिनसम्म डेङ्गीको वा मलेरियाको ज्वरो पो आउने हो कि जस्तो भान भइरह्योे।
बेलुकीपख म्यौडीहवाबाट त्यहाँको पुरानो झण्डीबजार हुँदै पक्लीहवास्थित कृषि क्याम्पस (साविकको वृटिश क्याम्प) हातामा गयौँ। भारत स्वतन्त्र भएपछि बृटिश सेनाले गोरखपुरको साटो भैरहवाको पक्लीहवामा सैनिक भर्ती क्याम्प खडा गरेर पश्चिमतर्फका गोर्खा सैनिकको भर्तीको कार्य शुरु गरेको थियो।
ठूलो भूभाग ओगटेको यो क्याम्पभित्र बृटिश सरकारले अस्पताल, विद्यालय, खेलकुद मैदान र पौडी पोखरीदेखि गोरा अधिकृत र गोर्खाली अधिकृत तथा जवानहरू बस्ने भिन्दा भिन्दै क्वार्टर, मन्दिर, मेस, परेड मैदान र मोटर गाडीको मर्मतस्थल तथा सम्पूर्ण बन्दोवस्तीका अड्डाहरू निर्माण गरेर धेरै वर्षसम्म बसेको रहेछ। पूर्वमा धरानको घोपामा यस्तै विशाल सैनिक भर्ती क्याप्प खडा गरेको थियो वृटिश सेनाले।
त्यो क्याम्प बन्द भएपछि त्यहाँ हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ। पक्लीहवा क्याम्पमा पनि केही अवधिसम्म अस्पताल रहेता पनि पछि त्यो परिसर कृषि क्याम्पसको स्वामित्वमा आयो।
हाम्रा ससुरा यही क्याम्पबाट ब्वाईमा भर्ती हुनु भएर यहाँ पटक पटक बस्नु भएकोले उहाँसँग सो परिसरमा गएर त्यहाँ क्याम्प छँदा कुन कुन भागमा के के थियो भन्ने जानकारी लिन पाइयो। साथै त्यहाँ अध्ययनरत होस्टेलमा बस्ने छात्र-छात्राहरूसँग पनि केही बेर गफिने मौका पायौँ हामीले।
त्यो क्याम्प भएको ठाउँको नजिकमा पहिले डण्डी वन पनि रहेको रहेछ र त्यसको केही भाग अझ पनि रहेछ। त्यस्तै त्यो क्याम्पको केही पुर्वमा निक्कै टाढा उत्तरदेखि बग्दै आएको डण्डी खोला आज पनि बग्दो रहेछ र त्यो खोला त्यहाँबाट ज्यादै नजिक रहेको भारतीय सीमाबाट भारततर्फ पस्दो रहेछ।
त्यही क्षेत्रमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पनि अवस्थित छ। पुरानो समयमा राजा तथा राणा शासकहरूका नाता पर्ने भारदारहरूका सन्तान बस्ने गरेको दरवार र रानीगाउँ र पछि बनेको नयाँ गाउँ पनि त्यहीँ अवस्थित रहेछ। उनीहरूको परिवारको बसाईँ हाल पनि त्यहाँ रहेछ।
उनीहरू राजनीति र समाज सेवामा पनि सकृय रहेका रहेछन्। भारतको सिमाबाट ज्यादै नजिक त्यो क्षेत्र र विमानस्थलको दक्षिणी भेगमा रहेका खेतबारीहरू धमाधम प्लटिङ गर्दै घर बनाउनको निम्ति विक्री भइरहेका छन्।
केही वर्षपछि त्यो क्षेत्रले घना वस्तीको रूप लिने पक्का पक्की छ, तर भारतीय सिमा नजिकको त्यो कृषियोग्य जमिनमा आगामी दिनहरूमा भने धान, तोरी र गहुँ तथा तरकारी फलेको देख्न पाइने छैन। विकासले निम्त्याउने तीव्र विनाश भनेको यस्तै होला।
भैरहवाको मुख्य चोक यानी मिलन चोकबाट पश्चिममा गल्लामण्डी हुँदै विमानस्थल जाने छोटो बाटो, पुर्वमा नेपाल राष्ट्र बैङ्क, सेनाका व्यारेक र भीम अस्पताल हुँदै बेलहिया-भैरहवा-वुटवल मार्ग छुने देवकोटा चोक, उत्तरतर्फ विभिन्न बैङ्कका शाखाहरू र प्रहरी कार्यालय भएको बाटोबाट ६ लेनको बेलहिया-भैरहवा-वुटवल मार्ग भेट्ने वुद्धचोक तथा दक्षिणमा प्रख्यात पवन मिष्ठान्न भण्डार हुँदै म्यौडीहवा र पक्लीहवा जाने बाटो। मुख्य सडकहरूसँगै थुप्रै शाखा सडकहरू पनि निर्माण गरेर कालोपत्रे गरिएका रहेछन्।
भैरहवाको वुद्धचोकदेखि पश्चिमतर्फ लुम्बिनीसम्म पनि चौडा सडक बनेर पुरा भइसकेको रहेछ। लुम्बिनीको बारेको आलेख आउँदा भागमा प्रकाशन गरिने छ। भैरहवाका मुख्य सडकहरू तथा बेलहिया-भैरहवा-वुटवल र भैरहवा-लुम्बिनी मार्गलाई चौडा बनाएर स्तरोन्नती गर्न एशियाली विकास बैङ्कको ऋण सहयोगको उपयोग गरिएको छ।
भैरहवा र वुटवलमा भएझैं नेपालका धेरै शहरहरूमा मिलन चोक रहेको छ। हुँदा हुँदा काठमाडौँको मध्य वानेश्वरमा पनि विगत करिव ३ दशकदेखि एक चोकको नाम मिलन चोक नामाकरण गरिएको छ।
नेपालमा करिव साँढे ५ दशक पहिले वर्मेली नेपाली शरणार्थीहरूको ओइरो लागेर राजा महेन्द्रले उनीहरूलाई तराईका विभिन्न स्थानमा जग्गा वितरण गरेर नागरिकता दिएपछि त्यस्ता शहरका वर्मेलीहरू बस्ने क्षेत्रको नाम वर्मेली टोल रहन गएको थियो।
भैरहवामा पनि वुद्धचोकबाट उत्तरतर्फ आन्तरिक राजश्व विभाग रहेको ठाउँलाई वर्मेली टोल भनेर चिनिन्छ। पछि राजा वीरेन्द्रको पालामा नेपालमा भुटानबाट अन्यायमा परेर भागेर नेपाल पसेका नेपाली मूलका भुटानी शरणार्थीहरू आएर झापा र मोरङका शरणार्थी क्याम्पमा बसेका थिए।
उनीहरूले निक्कै समय घरबार र मुलुकविहिन भएर बस्नु पर्यो भने आखिर अधिकांश भुटानी शरणार्थीहरूलाई विभिन्न विकसित देशहरूले आफ्ना मुलुकका नागरिक बनाएर लिएर गए।
त्यतिबेला हाम्रै नेपाली मूलका ती मानिसहरूलाई न त राजा वीरेन्द्रले, न पञ्चायती सरकारले न नै हालको बहुदलीय व्यवस्थाका सरकार वा नेताहरूले दया गरेर नेपाली बनाउने चेष्टा गरे।
बरु भारतबाट बिहे गरेर आउने सबै चेलीहरूलाई उपहारस्वरुप झट्ट नागरिकता दिन पो तम्सेका छन् त हाम्रा शासकहरू। भूटानी शरणार्थीले पनि नेपालमा वर्मेलीहरूले जस्तै सँधैको लागि बस्न पाएको भए आज ठाउँ ठाउँमा भुटानी टोल पनि हुन्थे होलान्।
……बाँकी अर्को अङ्कमा ।
Facebook Comment