‘मालिक’ बन्ने हुती नभएका यी ‘दास’ कांग्रेसहरु
काठमाडौं। शेरबहादुर देउवाले नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि चुनाब जितेका छन्। एक वर्षअघि पार्टीको सभापतिमा जितेका देउवाले अहिले संसदीय दलको निर्वाचन पनि जिते। यससँगै उनले पार्टीभित्र हालिमुहाली गर्ने लाइसेन्स पाएका छन्।
र, उनको यो चलाखीमा अरु दलका नेताहरु समेत लोभिए भने उनले देशमाथि नै हालिमुहाली गर्ने अवसर पनि पाउनेछन्। उनको दल देशकै सबैभन्दा ठूलो दल भएकोले उनले यो अवसर पाउने सम्भावना पनि उच्च छ।
उनको सम्भावना यसकारण पनि उच्च छ कि कांग्रेसको विधानअनुसार पार्टीले प्रधानमन्त्री बन्ने अवसर पाएमा संसदीय दलको नेता नै प्रधानमन्त्रीका दावेदार हुन्छन्। तर, देउवाले जसरी यो शक्ति आर्जन गरे त्यसको पछाडिका कारकहरुलाई हेर्दा भने उनीहरुलाई हुतीहारा भन्दा फरक पर्दैन।
विगत कैयौं वर्षदेखि शेरबहादुर देउवाको नेतृत्वमाथि असन्तुष्टि जनाउँदै आएका कांग्रेसका प्रभावशाली नेताहरु नै पुच्छर लुकाउँदै देउवाको पछाडि लागेको देख्दा कांग्रेसका यी नेताहरुबाट परिवर्तनको आशा गर्न सकिँदैन भन्ने प्रस्ट हुन्छ।
पदको लोभमा आफ्नो अडानसमेत फेर्न पछि नपर्ने र उधारो आश्वासनमा लोभिएर यथास्थितिमै रमाउने यी नेताहरुले परिवर्तनका कुरा गरेको सुन्दा पनि फोस्रा गफ लगाएजस्तो लाग्छ। एक वर्षअघि नेपाली कांग्रेसको महाधिवेशन भइरहेको थियो।
महाधिवेशनअघि देउवाको नेतृत्व सही नभएकोले नेतृत्व परिवर्तन गर्नुपर्ने अडान राख्दै आएका पार्टीका पाका नेता रामचन्द्र पौडेल महाधिवेशनको मुखमा आइपुग्दा देउवाका अगाडि लम्पसार परे।
पार्टीमा देउवाबाहेकको नेतृत्वको वकालत गर्दै आएका उनले अन्तिम समयमा सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई आफ्नो समर्थन रहेको भन्न समेत सकेनन्। जबकि त्यसको केही दिन अघिसम्म उनी देउवाको नेतृत्वको चर्को आलोचक थिए। यसको बदलामा उनले के पाए उनै जानुन्।
मालिकका विरुद्ध केही युवाहरुले कांग्रेसभित्र विद्रोहको सानो झिल्को देखाएका छन् यसपटक। यी युवा फेरि दासमा परिणत नहुन् र त्यो झिल्को विशाल विद्रोहमा परिणत भई कांग्रेसभित्र दासयुगको अन्त्य होस् र देशले असक्षम मालिकहरुबाट मुक्ति पाओस्।
सभापतिमा देउवाविरुद्ध उम्मेदवारी नै दिएका प्रकाशमान सिंह पनि आफू सभापतिको दौडबाट बाहिरिएपछि देउवाकै पोल्टामा गएर पोखिए। यसवापत सम्भवतः उनले काठमाडौं महानगरको मेयरमा श्रीमतीका लागि पार्टीको तर्फबाट टिकट पाए। टिकट त पाए तर जिताउन भने सकेनन्।
सभापतिमा शेरबहादुर देउवविरुद्ध उम्मेदवारी दिने अर्का नेता विमलेन्द्र निधि पनि पछिल्लो समय देउवाको विरुद्ध जान सकेनन्। उनी पनि देउवाकै पोल्टामा पोखिए। र, अहिले संसदीय दलको निर्वाचनमा पनि त्यही भयो। वीपीका छोरा शशांक समेत देउवाको विरुद्धमा जाने हिम्मत गर्न सकेनन्।
कांग्रेसका नेताहरु आफ्नो पार्टीलाई देशकै ठूलो प्रजातन्त्रवादी पार्टी भन्छन्। कांग्रेसभित्र आन्तरिक लोकतन्त्र भएको उनीहरु दावी गर्छन्। अरु दलहरुले बिना निर्वाचन संसदीय दलको नेता छानेको अवस्थामा आफ्नो पार्टीले गोप्य मतदान नै गरेर नेता छानेकोले आफ्नो पार्टीभित्र आन्तरिक लोकतन्त्र भएको दावी उनीहरु अझै पनि गर्लान्। तर,‘मालिक’ले प्रायोजित निर्वाचन गराउने र ‘दास’हरुले उनकै पाउमा परेर उधारो आश्वासनमा मतदान गर्ने निर्वाचनलाई कसरी लोकतान्त्रिक भन्न सकिएला?
कांग्रेसहरु आफूलाई लोकतान्त्रिक भन्छन् तर लोकतान्त्रिक पद्धतिमै विश्वास गर्दैनन्। लोकतान्त्रिक पद्धतिमा जनता मालिक हुन्छन्। जनताबाट निर्वाचित भएर गएकाहरु जनताको सेवक हुन्छन् । तर, नेपाली कांग्रेसभित्र जनता दास हुन्छन् र जनताबाट निर्वाचित भएर गएकाहरु मालिक हुन्छन्।
यदि यस्तो हुँदैनथ्यो भने आउटडेटेड र पटक पटक असक्षम प्रमाणित नेतृत्वसँग विद्रोह गरेर लोकतान्त्रिक विधिबाट त्यो नेतृत्वलाई विस्थापित गर्दै अर्को नेतृत्व ल्याउन सकिँदैनथ्यो? अवश्य सकिन्थ्यो, तर त्यसको लागि नेतृत्वविरुद्ध मतदान गर्ने हुती हुनुपर्छ।
अरु बेलामा नेतृत्व भएन भन्दै भाषण गर्दै हिँड्ने तर अन्तिम समयमा उधारो आश्वासनमा लोभिएर उसैको पक्षमा जाने रामचन्द्र पौडेलहरुले यी कुरा बुझ्दैनन्। कांग्रेसभित्र अझै पनि दास मानसिकता हावी छ। ती दासहरु मालिकबाट आस गर्छन्।
मालिकले निर्वाचनमा टिकट देलान्, मन्त्री देलान्, राष्ट्रपति, सभामुख वा यस्तै पद देलान् भन्ने आश गर्छन्। यही आशाको त्यान्द्रोमा झुण्डिएर उनीहरु मालिकको अगाडि लम्पसार पर्छन्। कांग्रेसका नेताहरुले यसअघि धेरै पटक नेतृत्वप्रति असन्तुष्टि जनाएको कुरा सबैलाई थाहा छ।
अहिले ती असन्तुष्टहरुले निर्णायक कदम चाल्ने अवसर थियो। कांग्रेसका सांसदहरुसँग अहिले असक्षम मालिकलाई विस्थापित गरेर आफू मालिक बन्ने अवसर थियो। तर, उनीहरुले मालिक बन्ने अवसरलाई सदुपयोग गरेनन् बरु दास नै बनेर बस्न स्वीकार गरे।
शेरबहादुर देउवाले संसदीय दलको नेता जित्नु आश्चर्यको कुरा थिएन। उनले एक वर्ष अगाडि नै पार्टीको महाधिवेशनका बेला आश्वासन बाँडिसकेका थिए। त्यतिबेला आफ्नो आश्वासनमा लोभिएकाहरुलाई उनले यसपटक निर्वाचनमा टिकट बाँडफाँडमा पनि आफ्नो प्राथमिकतामा राखे।
समानुपातिकमा पनि त्यही अनुसार आफ्ना वफादारहरुलाई सूचिमा अगाडि राखे। त्यही अनुसार सांसद छाने। अब ती वफादार दासहरुले मालिकको नुनको सोझो नगर्लान् भनेर कसरी पत्याउनु? उनीहरुलाई मालिकबाट अझै धेरै आशा छ।
जबसम्म दास बनेर लोभ र आशा गरिन्छ तबसम्म परिवर्तन सम्भव छैन। तर, मालिकका विरुद्ध केही युवाहरुले कांग्रेसभित्र विद्रोहको सानो झिल्को देखाएका छन् यसपटक। यी युवा फेरि दासमा परिणत नहुन् र त्यो झिल्को विशाल विद्रोहमा परिणत भई कांग्रेसभित्र दासयुगको अन्त्य होस् र देशले असक्षम मालिकहरुबाट मुक्ति पाओस्।
Facebook Comment