भैरहवा-वुटवलको रोमाञ्चक यात्रा (भाग २)

कुनै बेलाको घ्यूको शहरमा बोकाको मासु

कपिल लोहनी
९ पुष २०७९ ८:३९

भैरहवाको मिलनचोकमा रहेको प्रख्यात पवन मिष्ठान्न भण्डारमा पेडा, बर्फी र दही खाएपछि हामी त्यहीँ नजिकमा रहेको एक पसलमा चाट तथा फुल्का खान गयौँ। यस्ता खानेकुरामा भैरहवा निक्कै प्रख्यात छ।

वृटिश सेनामा काम गर्ने मगर, गुरुङ तथा अन्य जाति, पहाडीया तथा मधेसी समुदायका मानिसहरू र मारवाडीहरू तथा हिन्दू, वौद्ध र मुस्लिम धर्मावलम्वीको समेत बसोवास रहेको भैरहवा तथा वुटवललाई वास्तवमा बहुसांस्कृतिक शहर भन्दा पनि अत्युक्ति नहोला।

हाल आएर तराईमा पहाडीयाहरूको बसोवास बाक्लै भएको भएता पनि आजभन्दा ५०-६० वर्ष अघिसम्म पनि औलोको डरले माघ–फागुन पछि गर्मीयामभर पहाडीयाहरू तराइमा बस्न वा काम विशेषले समेत जाँदैनथे।

केही वर्ष अघि निर्माण सम्पन्न भएको भैरहवाको देवकोटाचोकदेखि पुर्वपट्टिबाट झण्डै दाउन्ने पुग्ने हुलाकी मार्गले पनि यो क्षेत्रको कायापलट गरेको छ।

हिजो आज भैरहवा र नवलपरासी वा पूर्वका चितवन, मकवानपुर आदि वा काठमाडौँ नै जान पनि वुटवल भएर जानु भन्दा यो मार्ग पक्रेर केही छिटो पुगिन्छ भने यो मार्गको दायाँ-बायाँको भूभागमा तीव्र रूपले शहरीकरण हुँदै गएको छ।

यी सडकहरू र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै भैरहवामा ठूला ठूला भवन तथा होटेलहरू खुल्ने क्रममा पनि ज्यादै नै वृद्धि भएको छ। केही वर्ष अघिसम्मको धुले, पुरातन र शून्य शहर भैरहवा र वुटवल आज एक आधुनिक शहरको रूपमा परिचित हुँदै गएका छन्।

क्यासिनो सहितका ५ तारे होटेलदेखि साना साना सुविधाजनक होटेलहरू अब प्रसस्त संख्यामा खुलिसकेका छन्। त्यस्तै भाटभटेनी सुपरमार्केट तथा अत्याधुनिक सपिङ मल र फिल्म हल अनि विभिन्न प्रकारका खानाको आनन्द लिन मिल्ने स्तरीय रेष्टुरेन्टहरू र शारीरिक सुगठनको निम्ति आधुनिक जिमखानाहरू पनि भैरहवादेखि वुटवलसम्म नै ठाउँ ठाउँमा खुलेका रहेछन्।

यात्राको बेलामा प्रातःकालीन वा कुनै पनि बेलाको पैदल भ्रमणमा निस्कन सकियो भने धेरै कुराहरू हेर्ने मौका मिल्छ। भोलिपल्टको यस्तै पैदल यात्रामा निस्कँदा मिलनचोकबाट उत्तरतर्फको बाटोमा मैले एक ठाउँमा ‘आवा मार्ग’ भनेर लेखिएको वोर्ड देखेको थिएँ।

त्यो वास्तवमा आकाशवाणी मार्ग रहेछ। आजको जमानामा आकाशवाणी भन्ने शव्द नै लोप भइसकेको छ। तर ४० को दशक अघिसम्म टेलिफोनको समेत राम्रो विकास नहुँदा एउटा शहरबाट अर्को शहरमा सूचना पठाउन आकाशवाणी गर्नु पर्दथ्यो वा तार (टेलिग्राम) पठाउनु पर्दथ्यो र त्यसो गर्नको निम्ति आवा अड्डा वा हालको शब्दमा भन्दा दूरसञ्चार कार्यालयमा जानु पर्दथ्यो। स्वास्थ्यको निम्ति एकाबिहानै हिँड्न निस्कनेहरूको संख्या पनि धेरै नै बढेको रहेछ। एकल वा समूहमा हिँड्नेहरू बाटोमा देखिन्थे।

प्रातःकालीन भ्रमणकै सिलसिलामा त्यहाँको नगरपालिका कार्यालयको शहर सफाई बारेको कार्यको पनि छोटो अध्ययन गर्ने मौका पाइयो। एकातर्फ ट्राक्टरहरूले शहरका घरघर र पसलहरूबाट बिहान सबेरैदेखि फोहर उठाइरहेका थिए भने अर्कोतिर त्यहाँ सयौँको संख्यामा घुम्ने छाडा चौपायाहरूले बाटैमा दिसा पिसाब गर्ने गरेकोले सडक फोहर र दुगन्धित। मुख्य शहरी क्षेत्रमा जताततै पान खाएर थुक्ने तथा चुरोट र सुर्तिका प्याकेटहरू बाटोमा फ्याँक्ने क्रम यहाँ पनि उस्तै रहेछ।

आमचुनावका कारणले विभिन्न पार्टीका झण्डा र चुनाव चिन्हसहित मोटरगाडीबाट चुनावको प्रचार गरिरहेका तथा ठाउँ ठाउँमा प्रचार प्रसारका लागि कार्यालयहरू बिहानैदेखि खुलेका।

सत्ता गठवन्धनका उम्मेदवारहरूको साझा प्रचारमा बिहानै देखि एउटै गाडीमा विभिन्न खाले झण्डा र चुनाव चिन्ह टाँसेर प्रचार भइरहेको। यसपालीको गठवन्धनको चुनावले कता कता निर्दलीय भनिएको एकदलीय पञ्चायती व्यवस्थाको झझल्को दिइरहेको थियो।

त्यो रात करिव २ बजेतिर दीपायल र रारा ताललाई केन्द्र बिन्दु बनाएर ६.६ रेक्टर स्केलको बलियो भूकम्पको धक्काको महसुस भैरहवामा पनि भएको थियो भने यसले २०७१ सालको महाभुकम्पको याद समेत दिलाएको थियो। हालै भारतको राजधानी नयाँदिल्लीको भ्रमण गर्दा त्यहाँ बस्ने साथीहरूले सो भूकम्पले दिल्ली शहरमा पनि राम्रैसँग कम्पन गराएको र अग्ला अपार्टमेन्ट भवनमा बस्नेहरूले त भूकम्पको धक्का झनै बढी महसुस गरेको कुरा बताउँथे।

अक्सर बोकाको मासु दशैँमा देवीलाई बोको बलि दिएपछि खाने गर्छन मानिसहरू। हामीले भने बलि प्रथा बन्द गरेको झण्डै २५ वर्ष बितिसकेकोले बोकाको मासु खासै खाइँदैन। तर बोकाको मासु मन पराउनेहरूको लागि भने कैयन् मासु पसलहरूमा यस्ता मासु उपलब्ध हुँदा रहेछन्। त्यस माथि पनि उपभोक्ताको चाहना मुताविक कम गन्हाउने वा धेरै गन्हाउने वा अति नै गन्हाउने छिप्पिएका बोकाको मासु पनि उपलब्ध हुन्छन्।

त्यतिबेला पनि दिउँसोको समयमा भैरहवामा गर्मी नै थियो। होटेलको छतमा रहेको पौडी पोखरीमा पौडँदै शहरको परपरसम्मको दृश्यावलोकन गर्दा निक्कै रमाइलो महसुस भयो। करिव एक दशक अघिसम्म पनि भैरहवा ज्यादै उराँठ लाग्दो शहर थियो। तर आज आएर यसले विशाल शहरको रूप धारण गर्दै अघि बढिरहेको छ।

करिव २२ किलोमिटरको दूरीमा रहेका यी दुई शहर भैरहवा र वुटवलको बीचमा पर्ने अन्य साना शहरहरू अब एउटै शहर जस्तै नै भएर जोडिइ सकेका छन्।

भारतको सुनौली हुँदै बेलहियाबाट शुरु भएर भैरहवा र वुटवल पुगेको ६ लेनको अत्याधुनिक सडकले गर्दा वुटवल र भैरहवाको बीचमा पर्ने जोगीकुटी, मणिग्राम, तिलोत्तमा आदि पुराना बस्ती र साना शहरहरू पनि अब त यी दुई शहरमा नै भौतिक रूपले गाभिएर भव्य शहरको रूपमा बदलिइसकेका छन्। विराटनगर, दुहवी, खनार र इटहरी पनि यसै गरी जोडिएर विशाल शहरको रूप लिँदै गइरहेका छन्।

त्यो दिन अपह्रान्हपख हामी वुटवलतर्फ एकजना नातेदारको निम्तोमा रातीको खाना खानेगरी गफ गर्न वुटवल गयौँ। यही अवसरको फाइदा उठाएर मैले मेरो नयाँ पुस्तक ‘विविध आयाम’ भैरहवा र वुटवलका दुई पुस्तक पसलहरूमा पनि विक्रीको लागि राखेँ।

त्यस्तै हाल भैरहवामा नै बसोवास गरिरहेका जनमोर्चाका नेता चित्रबहादुर केसीलाई फोन गर्दा उनी वाग्लुङमा चुनाव लड्नको निमित्त गएकाले उनलाई अग्रिम वधाई दिएर उनको पार्टीका कार्यकर्ता आलमजीलाई वुटवलमा भेटेर हाम्रो प्रकाशनका केही पुस्तक उपहार स्वरुप दिएँ।

वुटवलको एक स्थानीय होटेलमा त्यहाँको प्रख्यात साग र सुकुटीको पनि मज्जा लियौँ। राँगाको सुकुटीमा साग मिसाएर पकाएको त्यो परिकार ज्यादै स्वादिलो थियो। भैरहवा–वुटवलमा हाँसको छोएला पनि निक्कै राम्रो पाइन्छ।

विभिन्न ठाउँका मानिसहरू आएर बसोवास गरेकाले पनि यसरी विविध प्रकारका खानाहरू उपलब्ध भएका होलान्। हाम्रा नातेदारको घरमा अन्य परिकारका साथै बोकाको मासु पनि खाइयो।

अक्सर बोकाको मासु दशैँमा देवीलाई बोको बलि दिएपछि खाने गर्छन मानिसहरू। हामीले भने बलि प्रथा बन्द गरेको झण्डै २५ वर्ष बितिसकेकोले बोकाको मासु खासै खाइँदैन। तर बोकाको मासु मन पराउनेहरूको लागि भने कैयन् मासु पसलहरूमा यस्ता मासु उपलब्ध हुँदा रहेछन्। त्यस माथि पनि उपभोक्ताको चाहना मुताविक कम गन्हाउने वा धेरै गन्हाउने वा अति नै गन्हाउने छिप्पिएका बोकाको मासु पनि उपलब्ध हुन्छन्।

सुखी वा उच्च जीवनयापन गर्न राजधानीमा नै बस्ने जमाना अब सकिइसकेको छ। नेपालका जुनैसुकै शहरमा बस्ने खासगरी मध्यम वर्ग वा सो भन्दा माथिका मानिसले आजकल काठमाडौँमा पाइने सबैजसो सुख-सुविधाको भोग गर्न सक्ने अवस्थाको सिर्जना भइसकेको छ।

तराईका शहरहरूमा गर्मी हुने भएता पनि आफ्नो गक्ष मुताविक एयरकण्डीशनर, एयरकुलर, पङ्खा तथा रेफ्रिजिरेटर राख्न सक्ने मानिसहरूको संख्या पनि बढ्दो छ आजकल।

विद्युतको आपुर्तिमा सहजता बढ्दै जानाले पनि यो कुरामा मद्दत पुगेको छ। त्यस्तै मोटरसाइकल, स्कुटर र मोटरगाडी खरिद गरेर चढ्ने हैसियतका मानिसहरू पनि जुनै ठाउँमा पनि छन् आजकल।

भारतीय सिमाबाट शुरु हुने ६ लेनका बाटाहरू जस्तै जोगवनी-विराटनगर-धरान, रक्सौल-वीरगञ्ज-पथलैया, जलेश्वर-जनकपुर, रुपेडीया-नेपालगञ्ज-कोहलपुर, अत्तरिया-धनगढी आदि जस्तै सिद्धार्थ राजमार्ग अन्तर्गतको बेलहिया-भैरहवा-वुटवल सडकले पनि यो क्षेत्रमा निक्कै धेरै समृद्धि ल्याएको छ।

अन्य ठाउँका ६ लेनका सडकहरू भन्दा यो सडक यस अर्थले पनि फरक छ कि यस सडकको बीचको डिभाइडरमा निक्कै लोभ लाग्दो हरित उद्यान र वुद्धका मुर्तिहरू हरेक २०-२५ मिटरमा निर्माण गरिएका छन्।

बाटोका हरेक चोकहरूको अगाडि बटुवाहरूको लागि बाटो काट्ने ओभरहेड पुल बनाइएका छन् र ती पनि अपाङ्गमैत्री। त्यस्तै सडकका दुवैतिर पक्की सर्भिस लेन र चौडा सडक पेटीहरू।

यस्तो भएकोले बीचका मुख्य ४ लेनमा मानिसहरू हिँड्दैनन्, त्यसैले सवारी आवागमनमा कुनै रोकावट आउँदैन। सडकमा ट्राफिक लाइट पनि जडान हुनुका साथै रातिको समयमा पुरै २२ किलोमिटरको यो सडकमा बल्ने बत्तीले पुरै शहरमा नै निक्कै झिलिमिली देखिन्छ।

नेपालको पश्चिमी भेगको औद्योगिक शहरको रूपमा नै चिनिएको भैरहवाको सेरोफेरोमा विभिन्न नयाँ उद्योग व्यवसायहरू खुल्न थोलेका छन्। सिमेन्ट, छड, खाद्य पदार्थ तथा अन्य औद्योगिक वस्तुहरू भैरहवादेखि वुटवलसम्मै उत्पादन हुन थालेका छन्।

भैरहवाबाट भारतको सिमानाको केही पूर्वमा यो क्षेत्रको सुख्खा बन्दरगाह र औद्योगिक प्रशोधन क्षेत्रको निर्माण भएको छ तर त्यसको सञ्चालन भने त्यति राम्ररी हुन सकेको छैन।

गुल्मी, अर्घाखाँची, स्याङ्ग्जा तथा पाल्पा जस्ता पहाडी जिल्लाहरूबाट घिउ, अदुवा, बेसार, कन्दमुल, कोदो, फापर, मकै तथा अन्य पहाडिया कृषि उपज तथा जडिबुटी हप्तौँसम्म बोकाएर ल्याई बेच्ने बजारको रूपमा विकास भएको सानो बुटौली आज विशाल शहरमा परिणत भएको छ।

तिनाउ नदीको किनारमा बसेको यो शहरको निक्कै हदसम्म योजनावद्ध तवरले विकास गरिएको छ। संरक्षित वन क्षेत्र, नगर विकास योजना अन्तर्गत प्लटिङ गरिएका जमिन तथा पानीको समस्या नरहेको यो शहर बस्नको निम्ति अति उत्तम स्थान भएको छ। भैरहवाबाट यहाँ आउन आज ज्यादै सहज भएता पनि पाल्पा, अर्घाखाँची, गुल्मी आदिबाट यहाँ आउन भने राजमार्ग भएर पनि त्यति सहज छैन ।

वुटवलबाट उत्तरतर्फ पाल्पातिर जान शुरु गर्ने वित्तिकै सिद्धबाबाको मन्दिरदेखि निक्कै परसम्म बाह्रमासै पहिरो जाने गरी बाटो जिर्ण र खतरनाक भएको छ। त्यसपछिको बाटोमा पनि मर्मतको काम खासै नगरेकोले पाल्पा, स्याङ्जा र पोखरासम्मै ठाउँ ठाउँमा सडकको अवस्था खराब देखिन्छ। यो पहिरोको प्रकोप क्षेत्रलाई छल्न यो ठाउँमा सुरुङमार्ग बनाउने पनि कुरा छ तर त्यसले सार्थकता पाउने भने कहिले हो थाहा छैन। यस्ता योजनाहरू हाम्रा नेता तथा मन्त्रीहरूले कुनै सोच विना नै सार्वजनिक गर्दछन् तर त्यसको कार्यान्वयन पक्ष भने ज्यादै फितलो छ हाम्रो नेपालमा।

तिनाउ नदीको किनारामा अवस्थित वुटवलमा बस्ती बस्न थालेको १०० वर्षभन्दा बढी भइसक्यो। एकाध चोकमा केही घरबाट शुरु भएको बटौली बजार २०१५ सालतिर निक्कै गुल्जार हुँदै गयो। पछि पछि यहाँ पहाडी व्यापारी तथा व्यवसायीहरूले घडेरी जोडेर घर नै बनाई बस्न थाले।

पाल्पाका नेवार, स्याङ्जाका बाहुन-क्षेत्री, अर्घाखाँची, गुल्मी र गोर्खा-लम्जुङदेखि मगर-गुरुङहरू र मुस्ताङ तथा कास्कीका थकालीहरूसमेत बटौलीमा बसेर व्यवसाय चलाउन थाले।

२०२२ सालमा सिद्धार्थ राजमार्ग बनेपछि बसेको खस्यौली बजार पनि पछि बटौलीमा मिलेपछि यो बस्ती झनै ठूलो हुँदै गएर पछि वुटवल शहरको रूपमा नै परिणत भयो। तत्पश्चात पूर्व–पश्चिम राजमार्ग पुर्वबाट नारायणगढ हुँदै वुटवल छोएर नेपालगञ्ज र अझ पश्चिममा जाने भएर निर्माण भए पछि यो शहरको गरिमा र महत्व अझै बढ्न थालेको हो।

पाल्पाका नेवार, स्याङ्जाका बाहुन-क्षेत्री, अर्घाखाँची, गुल्मी र गोर्खा-लम्जुङदेखि मगर-गुरुङहरू र मुस्ताङ तथा कास्कीका थकालीहरूसमेत बटौलीमा बसेर व्यवसाय चलाउन थाले। २०२२ सालमा सिद्धार्थ राजमार्ग बनेपछि बसेको खस्यौली बजार पनि पछि बटौलीमा मिलेपछि यो बस्ती झनै ठूलो हुँदै गएर पछि वुटवल शहरको रूपमा नै परिणत भयो।

आज आएर वुटवल ज्यादै ठूलो र व्यवस्थित शहर बनिसकेको छ भने बेलहिया-भैरहवा-वुटवल मार्ग ६ लेनको भव्य बनेपछि भने अब यो सबै क्षेत्र मिलेर एक वृहत महानगर बन्न सक्ने अवस्था बनिसकेको छ। संघीयताको कार्यान्वयनसँगै वुटवलमा लुम्बिनी प्रदेशको राजधानी राख्ने कुरा चलेको भएता पनि अब सो राजधानी दाङ उपत्यकामा बन्ने भएको छ।

वुटवलबाट नारायणगढसम्मको पूर्वपश्चिम राजमार्ग खण्डलाई चार लेनको बनाउने काम शुरु भएको पनि ३-४ वर्ष भइसक्यो तर कोभिड तथा अन्य कारण देखाएर चिनीयाँ ठेकेदार र सरकारले आजसम्म २० प्रतिशत काम पनि सक्न सकेको छैन भने सडक विस्तारको नाममा सडकको दायाँबायाँ खण्डको कामको साथै बीचको राम्रै अवस्थाको सडक पनि बिगारेर त्यो राजमार्गको अवस्था निक्कै बिजोगको भएको छ। सडक मर्मत तथा विस्तार गर्दा यात्रु तथा मालवाहक गाडीहरूलाई अप्ठ्यारो नपर्ने गरी निर्माण गर्न किन नसकेको हो, सो भने बुझ्न सकिएको छैन।

सय वर्षअघि पहाडबाट घिउ ओसारेर बटौलीमा ल्याई त्यहाँका मारवाडी र कसौधन समुदायले ज्यादै ठूला ठूला फलामे कराहीमा घिउ खारेर टिनका बट्टाहरूमा हालेर वाराणसी लगायत भारतका विभिन्न ठाउँहरूमा घिउ बेच्ने गर्दथे।

पछि यो व्यवसाय ओझेलमा पर्दै गयो। २०३०को दशकमा राजपरिवारको पनि शेयर रहेको एक घिउ कारखाना निजी क्षेत्रले यहाँ सञ्चालन गरेकोमा पछि त्यो बन्द हुन पुग्यो। नेपालभित्रै सडक सञ्जाल बढ्दै जानाले पहाडिया घिउ व्यापारीहरूले अन्य ठाउँहरूमा घिउ पठाउन थालेका तथा पहिलेको दाँजोमा पहाडमा घिउको उत्पादन पनि घटेकोले बुटवलको घिउ व्यवसाय सुक्दै गयो।

त्यतिबेलाका घिउ खार्ने बडेमानका फलामे कराहीहरू अझै पनि कैयन् पुराना व्यापारीका घर परिसरमा फ्याँकिएका अवस्थामा भेटिएका छन् अरे। त्यस्ता वस्तुहरू त्यहाँको स्थानीय सरकारले जम्मा गरेर वुटवलको इतिहास झल्कने संग्रहालयमा राख्नुपर्ने देखिन्छ।

आउँदो एकाध दशकभित्रमा नेपालका खासगरी तराई इलाकामा वरपरका शहरहरू गाभिएर विशाल शहरहरूको निर्माण हुँदै जाने पक्का छ। त्यस्ता शहरहरूमा झापा-धुलाबारी-भद्रपुर-बिर्तामोड, विराटनगर-दुहवी-खनार-इटहरी, वीरगञ्ज-कलैया-परवानीपुर–अम्लेखगञ्ज, पर्सा-चितवन-गैँडाकोट, भैरहवा-वुटवल–परासी, नेपालगञ्ज, कोहलपुर आदि प्रमुख रहने छन्।

आज नेपालमा जलविद्युत छेलोखेलो हुँदै गएको बेलामा यसको आन्तरिक खपत बढाएर पेट्रोलियम पदार्थको आयात र खपत घटाउनको निम्ति कम्तिमा पनि यस्ता ठूला शहरहरुमा विजुलीबाट चल्ने घरायसी सामान, यातायातका साधन र सडक बत्ती तथा झिलिमिलीलाई वढावा दिने कदमहरू चाल्नु जरुरी छ। यसको लागि विद्युतको महसुलमा पनि केही हेरफेर गरिनु जरुरी छ।

त्यस्तै फोहरमैला व्यवस्थापनको उचित तथा वातावरणमैत्री तवरहरू, खानेपानीको राम्रो व्यवस्थापन, बढ्दो जनसंख्या मुताविकको शैक्षिक तथा स्वास्थ्य केन्द्रहरूको विकास, वैज्ञानिक तवरले आवास, औद्योगिक-व्यापारिक क्षेत्र, बजार तथा पार्क क्षेत्रको विकास र सार्वजनिक यातायात र सञ्चारको क्षेत्रमा पनि अहिले देखि नै सोच बनाएर अघि बढ्नु पर्ने देखिन्छ। साथै यी शहरहरूको विगत झल्किने संग्रहालयहरूको निर्माण तथा वरपरका वनजङ्गल तथा पशुपंक्षी र चराचुरुङ्गीहरूको पनि संरक्षण हुनु जरुरी छ।

भैरहवा र वुटवलको केही दिनको रोमाञ्चक यात्रा सकेर भोलिपल्ट बिहान हामी सिद्धार्थ राजमार्गको वुटवल–पाल्पा–पोखरा खण्ड हुँदै नयाँ यात्रामा निस्कियौँ।

लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *