‘लोभी’ रामचन्द्रको टिठलाग्दो अवतरण
काठमाडाैं। २०५१ सालको मध्यावधि निर्वाचनपछि सभामुख बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल यस्ता एकमात्र पात्र हुन् जो त्यसपछि त्योभन्दा तल्लो पदमा समेत रहे। सभामुख भइसकेपछि उनी पटक पटक मन्त्री बने।
उनीबाहेक पूर्व सभामुखहरु कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती वा अग्नी सापकोटा कोही पनि तल्लो पद खान अघि सरेका छैनन्। पूर्व सभामुखमध्ये कृष्णप्रसाद भट्टराई भने त्योभन्दा माथिल्लो पद प्रधानमन्त्री नै भए।
२०४७ को संविधानदेखि अहिलेको संविधानसम्म सबैमा ‘सम्माननीय’ वरियतामा राखिएको सभामुख पदमा पुगिसकेपछि त्यसबाट तल झरेर ‘माननीय’ पद खाने एकमात्र पात्र रामचन्द्र पौडेल हुन्। र, यो दृष्टान्तबाट उनी नेपाली राजनीतिका ‘लोभी’ पात्र हुन् भन्ने निष्कर्षमा पुग्न गाह्रो नहोला।
नेपाली कांग्रेसभित्र पुस्तान्तरणको वकालत गर्ने व्यक्ति पनि रामचन्द्र पौडेल नै हुन्। पटक–पटक पार्टीभित्र नेतृत्वसँग विद्रोह गर्ने खेमाको समर्थन गर्दै आएका उनी अन्तिम समयमा भने विद्रोही समूहबाट अलग्गिएर भाग्ने पात्रका रुपमा चिनिएका छन्।
२०५८ सालमा नेपाली कांग्रेस विभाजित हुँदा तत्कालीन कांग्रेस प्रजातान्त्रिक गठन गर्ने शेरबहादुर देउवालाई सुरुमा समर्थन गरेका पौडेल अन्तिम समयमा देउवा पक्षमा गएका थिएनन्।
अब करिअरको अन्तिम समयमा आइपुग्दा उनले अहिलेसम्म जे पाए त्यसमा सन्तोष गरेर नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने काममा निर्णायक भूमिका निभाउने अपेक्षा गरिएको थियो। तर, अन्तिम समयमा पनि एकपटक राष्ट्रपति खान्छु भन्ने उनको लोभले अन्ततः उनको हात रित्तो भएको छ।
सुरुदेखि नै देउवाको विद्रोहलाई समर्थन गर्दै आएका उनलाई अन्तिम समयमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले फकाएर आफूसँगै बस्न भनेको र पौडेल पनि लोभिएर संस्थापन पक्षमै रहेको दावी गरिन्छ।
नेपाली कांग्रेसको गत वर्ष भएको १४ औं महाधिवेशन अगाडिसम्म पौडेल देउवा नेतृत्वको कट्टर विरोधी थिए। नेतृत्वबाट देउवालाई विस्थापित गरेर अर्को नेतृत्व ल्याउनुपर्ने कुराको चर्को वकालत गर्दै आएका उनी अन्तिम समयमा भने विद्रोही पक्षको साथमा रहेनन्।
अन्तिम समयमा आइपुग्दा उनले देउवाविरुद्ध सभापतिको उम्मेदवार शेखर कोइरालालाई आफ्नो समर्थन रहेको भनेर खुलेर भन्न पनि सकेनन्। यतिबेला पनि उनलाई सभापति देउवाले ललिपप देखाएर लोभ्याएको र पौडेल त्यसैमा लोभिएर आफैंले हुर्काएको समूहलाई धोका दिएको विश्वास गरिन्छ।
केही दिनअघि नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन भयो। वर्षौंदेखि देउवाको नेतृत्वको विकल्प खोज्ने कुराको वकालत गर्दै आएका पौडेलले यसपटक देउवाको विपक्षमा आउने उम्मेदवारलाई साथ दिन्छन् भन्ने आशा धेरैको थियो।
कांग्रेसभित्रकै धेरैले पौडेल यसपटक पुस्तान्तरणको पक्षमा उभिनेछन् भन्ने अपेक्षा गरेका थिए। पछिल्लो निर्वाचनमा पनि जनमत पुस्तान्तरणकै पक्षमा देखिएको थियो र युवा उम्मेदवारसहित आएका नयाँ र पुनर्गठित दलहरुले राम्रो सिट जितेका थिए।
देशव्यापी माहोल पनि पुस्तान्तरणकै पक्षमा देखिएको र कांग्रेसभित्र पनि एक वर्षअघि पार्टी सभापतिको उम्मेदवार रहेका शेखर कोइरालाले समेत युवा नेता गगन थापालाई समर्थन गरिसकेको अवस्थामा पौडेलबाट धेरै आशा गरिएको थियो।
तर, यसपटक पनि पौडेलले अन्तिम समयमा आफैंले हुर्काएको समूहलाई धोका दिए। देउवाबाट राष्ट्रपति पदको प्रलोभन पाएका पौडेल लोभिए र देउवाकै पक्षमा गए।
नेपाली कांग्रेसबाट यति लामो राजनीतिक करिअरमा शीर्ष पद नपाए पनि पौडेलले सत्ताको लाभ भने प्रशस्तै पाएका छन्। उनी सभामुखसहित धेरै पटक मन्त्री बनेका व्यक्ति हुन्।
अब करिअरको अन्तिम समयमा आइपुग्दा उनले अहिलेसम्म जे पाए त्यसमा सन्तोष गरेर नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने काममा निर्णायक भूमिका निभाउने अपेक्षा गरिएको थियो। तर, अन्तिम समयमा पनि एकपटक राष्ट्रपति खान्छु भन्ने उनको लोभले अन्ततः उनको हात रित्तो भएको छ।
नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन जित्ने क्रममा पार्टी सभापति तथा प्रधानमन्त्री रहेका देउवाले पार्टीका सांसदहरुलाई आफ्नो पक्षमा तान्न प्रशस्तै आश्वासन बाँडेका थिए। तिनैमध्येका एक पात्र रामचन्द्र पौडेल पनि थिए।
देउवाले यतिसम्म धेरै आश्वासन बाँडेका थिए कि ती सबै आश्वासन पूरा गर्न नयाँ सरकार गठनपछि अधिकांश पद कांग्रेसले पाउनुपर्ने हुन्थ्यो। तर, सत्ता साझेदारी गरेर पद लिने आकांक्षी अरु दलहरु पनि थिए। माओवादी र माधव नेपाललाई पनि साथमा लिँदा समेत देउवाको पक्षमा बहुमत पुग्ने अवस्था थिएन।
यस्तोमा देउवालाई धेरै पद चाहिने, अरु दललाई पनि पद चाहिने तर पद थोरै भएको अवस्था आइलाग्यो। अन्ततः पदको बाँडफाडमा भाग पुगेन, गठबन्धन भत्कियो।
गठबन्धन भत्किएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पासा फ्याँके। उनी आफू कुनै पद नलिइ बस्न तयार भए। आफैंले पद नलिने शर्तमा उनले सत्ता साझेदार सबै दलहरुलाई भागबण्डा मिलाइदिए।
राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयको अन्तिम चरणमा अर्को गठबन्धन बन्यो। नयाँ गठबन्धन बनेसँगै ‘झर्ला र खाउँला’ भनेर बसेका कांग्रेसभित्रका लोभीहरुले लोप्पा खाए। र, लोप्पा खोमध्येका एउटा लोभी रामचन्द्र पौडेल थिए।
नयाँ गठबन्धन बनेसँगै अब पदहरु यही गठबन्धनका साझेदार दलहरुबीच बाँडफाँड हुनेछ। यो बाँडफाँडमा कांग्रेसले कुनै भाग पाउने छैन। भविष्यमा सही प्रतिनिधिसभाबाट अर्को सरकार गठन हुने सम्भावनालाई नकार्न भने सकिन्न। भविष्यमा त्यसरी कांग्रेस नेतृत्वमा सरकार बनिहालेका देउवाले प्रधानमन्त्री र अरु केहीले केही थान मन्त्री पाउलान्। तर, प्रधानमन्त्री बन्ने देउवा नै हुन्।
कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ। त्यो पद जित्न देउवाले केही दिनअघि जे गरे त्यो देखेकाहरुले देउवाले प्रधानमन्त्री छाड्लान् भनेर पत्याउन सक्दैनन्।
प्रधानमन्त्री र केही मन्त्री कांग्रेसले पाइहाले पनि पौडेलको हात भने रित्तो हुनेछ। किनकि उनले प्रधानमन्त्री वा मन्त्रीको आश्वासन पाएका त होइनन्। उनले त राष्ट्रपतिको आश्वासन पाएका थिए। अहिलेको गठबन्धनबाट राष्ट्रपति बनिसकेपछि त्यो राष्ट्रपतिलाई हटाउन सजिलो छैन।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभाको मात्रै सामान्य बहुमतले हटाउन सकिन्छ र सामान्य बहुमतबाटै अर्को सरकार गठन गर्न सकिछ। तर, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख जस्ता पदमा रहेका व्यक्तिलाई हटाउनु फलामको चिउरा चपाउनु सरह हुनेछ।
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलाई सामान्य बहुमतले हटाउन सकिन्न। उनीहरुलाई हटाउन महाभियोग लगाउनुपर्छ। महाभियोग दुई तिहाइ बहुमतले मात्र पारित हुन सक्छ।
त्यो पनि प्रतिनिधि सभाको मात्रै नभइ राष्ट्रिय सभाको पनि दुई तिहाइ बहुमत चाहिन्छ। यस्तो अवस्थामा अब निर्वाचित हुने राष्ट्रपतिलाई विस्थापित गरेर राष्ट्रपति बन्नु भनेको पौडेलको लागि ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै हो।
भएजति पद आफैंले खोज्दा अहिले कांग्रेस र रामचन्द्र पौडेलले ‘भुइँको टिप्न खोज्दा पोल्टाको पनि पोखेका’ छन्। अब पौडेलका लागि अर्को अवसर आउन सम्भवतः पाँच वर्ष कुर्नुपर्ला । त्यतिबेलासम्म जे होला हेर्दै जाउँला।
Facebook Comment