अब माधव नेपालको बाटो : सत्ता कि प्रतिपक्ष ?

शरद रिजाल
१३ पुष २०७९ ६:४३

काठमाडौं। अप्रत्याशित रुपमा भएको माओवादी एमाले सत्ता समीकरणले सबैभन्दा बढी अन्यौलमा माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) परेको छ। गठबन्धनको सहयात्री दल माओवादीले कित्ता परिवर्तन गरेर अन्यत्र मोडिँदा माधव नेपालको पार्टी अन्यौलग्रस्त बनेको हो।

एमालेसँग बिभाजित भएर बनेको एकीकृत समाजवादी गएको वर्ष २०७८ भदौ ९ मा निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको थियो। उक्त पार्टीले भर्खरै सम्पन्न भएका तीन तहका निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन सकेन।

स्थानीय, संघ र प्रदेशको निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनसहितको गठबन्धनको सहायताले एक महानगर र अर्को उपमहानगरसहित केही स्थानीय तहमा जित हात पारेको छ। प्रदेशतर्फ केही प्रदेशसभामा सामान्य उपस्थिति देखाएको उसले प्रतिनिधिसभा सदस्यमा दश सिट ल्याएको छ।

कांग्रेस माओवादीसहितको चारदलीय गठबन्धनमा सामेल उक्त पार्टी पछिल्लो राष्ट्रिय राजनीतिमा आएको फेरबदलपछि कुनै ठोस निर्णय लिन सकेको छैन।

आइतबार राष्ट्रिय राजनीतिमा नयाँ समिकरण बने लगत्तै बसेको केन्द्रीय सचिवालयको बैठकले समेत बदलिएको राजनीतिक परिवेशलाई सुक्ष्म रुपले अध्ययन गर्दै राष्ट्रहित अनुरुपको निर्णय लिने अमूर्त र द्वैध चरित्र अवलम्बन गरेको छ।

प्रतिनिधिसभाको निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेको उक्त पार्टीले राष्ट्रिय दलको मान्यता समेत पाउन सकेन। सोही पार्टीबाट निर्वाचित दश जना सांसदहरुको संसदीय हैसियत स्वतन्त्र कायम भएको छ।

माधव नेपालको पार्टीका तेस्रो वरियतामा रहेका नेता मुकुन्द न्यौपानेले सार्वजनिक रुपमा अब तीन जना भन्दा बढी सांसद पार्टीमा माधव नेपालसँग नरहने उद्घोष गरिसकेका छन्। यस्तो विषम परिस्थितिमा माधव नेपाललाई आफ्नो पूर्ववत साख जोगाउन निकै सकसपूर्ण रहेको देखिन्छ।

२०५० सालमा मदन भण्डारीको दासढुंगा जिप दुर्घटनामा रहस्यमय मृत्यु भएपछि नेकपा (एमाले) को महासचिवको कार्यभार सम्हालेका नेपाल २०६४ को निर्वाचनमा रौतहट र काठमाडौंबाट पराजित भएसँगै पार्टीबाट राजीनामा दिएका थिए।

एमाले अध्यक्ष ओलीले पटक-पटक गरेको संसद बिघटनलनई प्रतिगमन भन्दै विद्रोह गरेका नेपालले सहयात्रा गरेको दल माओवादी केन्द्र एमालेसँगै नयाँ सत्ता सहकार्य गर्न पुगेको छ अर्को दल नेपाली कांग्रेस सरकारको पुनःनेतृत्व गर्ने मनसायले ब्याप्त हठका कारण संघदेखि प्रदेशसम्म सरकारमा आफ्नो उपस्थिति गुमाएको छ।

अध्यक्ष नेपालले आफूलाई कुनै जानकारी नदिइ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीसँगथ सहकार्य गरेको भन्दै तुस ब्यक्त गरिरहेका छन्। उनले ओलीसँग तत्काल सहकार्य नगर्ने बताइरहेका छन्।

माओवादी नेताहरु भने नेपाललाई साथमै लिएर अगाडि बढ्नुपर्ने बताउँछन्। माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले माधव नेपालको पार्टीलाई गठबन्धनमा सामेल गराउने बताए। उनले त्यस बारेमा आन्तरिक तयारी गर्दै छलफल थालिएको जानकारी दिए।

उनले नेपाललाई सँगै लिएर हिँड्नुपर्ने धारणा पार्टीले सार्वजनिक रुपमा ब्यक्त गरेको बताउँछन्। सचिव आचार्यले भने, ‘उहाँहरु पनि यहीँ गठबन्धनमा सामेल हुनुहुन्छ। छलफल भइरहेको छ। ढिलोचाँडो यतै आउनेमा विश्वस्त छौं।’

उनले माधव नेपाललाई कांग्रेससहितको गठबन्धनमा ल्याउने मूलभूमिका पनि माओवादीकै रहेको हुँदा अव नयाँ वाम गठबन्धनमा सामेल गराउने जिम्मेवारी पनि आफूहरुकै रहेको बताए। माधव नपाललाई नयाँ गठबन्धनमा ल्याउन पार्टीभित्रबाट पहल भइरहेको उनको भनाइ छ।

तथापि एकीकृत समाजवादीका नेताहरु एमाले माओवादीको नयाँ गठबन्धनमा तत्काल सामेल हुने कुनै संभावना नरहेको बताउँछन्। महासचिव बेदुराम भुसाल भने तत्काल सहकार्य गर्न नसकिने बताउँछन्। उनले कुनै सहकार्य गर्ने ठोस एजेण्डा र मुद्दा नभएकाले नयाँ गठबन्धनमा सामेल हुने कुनै संभावना नरहेको डिसी नेपाललाई बताए।

उनले भने, ‘कुनै खास योजना र मुद्दा केही पनि छैन। उहाँहरुको विशुद्ध सत्तास्वार्थबाट प्रेरित भएर बनेको गठबन्धनमा सामेल हुने कुनै संभावना छैन। उनले उक्त गठबन्धन वाम नभएको प्रष्ट्याउँदै अगाडि थपे, ‘त्यो गठबन्धन कसरी वाम हुनसक्छ राप्रपादेखि अन्य राजनीतिक शक्तिहरु त्यसमा आवद्ध छन्। त्यसमा सहभागी भएका दलहरुलाई हेर्दा त्यो वाम भएको कसरी पुष्टि हुन्छ?’

अहिलेको अवस्थामा पार्टीले सत्ता गठबन्धनमा सहभागिताबारे कुनै निर्णय नगरेको हुँदा आगामी दिनमा एमाले माओवादीसहितको गठबन्धन सरकारको कामका आधारमा निक्र्योल गर्ने उनले बताए।

महासचिव भुसालले आफ्रनै पार्टीका शीर्ष नेता मुकुन्द न्यौपानेले माधव नेपालसँग अब तीन सिटमात्रै हुन्छ भनेर गरेको कटाक्षलाई ब्यक्तिगत धारणा भएको बताए। उनले कसैको निजी विचारको विषयमा आफूले जवाफ दिन नसक्ने बताउँदै पन्छिए। उनले भने, ‘त्यो उहाँको निजी विचार हो। माधव नेपालसँग सांसद रहने होइन। सांसद पार्टीसँगै रहने हो। उहाँको भनाइको पष्टोक्ति उहाँसँगै लिनुस् मसँग होइन। ’

सोमबार प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा देखिएका एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बारा–४ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ(किसान)ले पुराना कुरा विर्सिएर सहकार्य गर्नुपर्ने बताएका थिए।

सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले नयाँ शिराबाट पुनःसहकार्य थाल्नुपर्ने धारणा ब्यक्त गरेका थिए। श्रेष्ठले भनेका थिए, ‘हिजो एउटा परिस्थितिमा बिभाजित हुँदा वामशक्तिको मत बाहिरियो। अब सबैले आत्मआलोचना गरेर संवाद थाल्दै सहकार्य गर्नुपर्छ।’

उनले एउटा सन्दर्भमा विगतमा तिक्तता बढेपनि आगामी दिनमा सहकार्यको वातावरण बनाउन सबैले जोड दिनुपर्ने बताएका थिए। वाम शक्ति मिलेर निर्वाचनमा सहभागी भएको अहिलेको भन्दा उत्कृष्ट परिणाम आउनेमा विभाजनको कारणले परिणाम सन्तोषजनक आउन नसकेको उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *