पूर्ण र सम्पूर्ण दृष्टि

शंकरप्रसाद रिजाल
१८ पुष २०७९ १०:३१

स्त्री र पुरुषबीच भएको असीम मायाको बीचबाट सृष्टि भएका समस्त प्राणीको उद्बिज नै परमात्माको सृष्टि हो। दुवै सृष्टिको स्वरुप अचम्म, आश्चर्यजनक, गुमनाम र रहस्यमय छ। मानिसको शिरदेखि खुट्टाको बुढी औंलासम्म मिलाएर परमात्माले सृष्टिको रचना गर्नु भएको छ।

एउटा शरीरको कुनै पनि भाग बढी भएमा पनि कुरुप देखिने, कमी भएमा पनि कुरुप देखिने, कुनै एक भाग एक ठाउँभन्दा अर्को ठाउँमा सार्दा पनि कुरुप देखिने आफैंमा अत्यन्त अकल्पनीय संरचनाको सृष्टि वास्तवमा अशीम छ भन्ने कुरा धर्मशास्त्रमा उल्लेख छ।

तर विज्ञान यस बिबेचानामा समर्थन नगरी डार्विनको सिद्धान्त अनुसार बाँदर र चिम्पान्जी प्रजातिबाट बिकसित भएको उच्च कोटीको मानवजातिको सृष्टि भएको हो भन्दै आइरहेको छ। तर जे होस् मानिसको सृष्टि जसले गर्‍याे  त्यो अत्यन्त बिचित्र छ।

ईश्वरले सृष्टि गरेको नै भएपनि मानिसलाई सबै दिए। तर जुन दृष्टि दिए त्यो आँखाले किन हाम्रै शरीरको अगाडिको भागमात्र देखिने तर आफैंलाई र आफ्नो पछाडि पटक्कै नदेखिने, यो कस्तो दृष्टि जुन आँखाले आधा र खण्डित दृश्यमात्र देख्न सक्तछन्।

एउटा कुनै ठाउँमा हेर्दा सम्पूर्ण देखिँदैन। आधी वा टुक्रा मात्र देखिन्छ। सायद आखाको गोलाई शरीरको तुलनामा धेरै सानो भएकोले होला वा मानिसलाई जति दृश्य र परिदृश्यको खाँचो पर्दछ त्यत्तिमात्र हेर्न दिएको हो कि।

तर जे होस् हामीले पूर्ण देखिएको भने पनि यो आफैंमा सम्पूर्ण चाहिँ पटक्कै होइन। यस्तो अपूर्ण दृश्य देखिने दृष्टिले सारा संसार र प्रकृतिलाई के सम्पूर्ण दृष्टिले मानिस हेर्न सक्लान्? यो असंभव छ।

टुक्रा टुक्रा हेरी पढी जानेका बिद्या र अध्ययनले के सम्पूर्णता पाउला? यो गोलो संसारमा रात देखे दिन नदेखिने, दिन देखे रात नदेखिने, अगाडि हेरे पछाडि नदेखिने, यता हेर्‍यो उता नदेखिने र उता हे¥यो यता नदेखिनेलाई हामी फेरि सम्पूर्ण हेरेको भनेर दम्भ गर्छौं। यो मानिसको अपुरो बिचार र दृष्टिकोण हो। यही कुरामा आएर हामी आफैं प्रश्न गर्छौ, खै त दृष्टि पूर्ण रुपमा एकै चोटी।

अतः यो संसारमा हामी पूर्ण बन्ने कोशिश नगरौं जहाँ सारको कुनै गुन्जायस छैन। कुवाको भ्यागुताले कुवा माथिको सानो संसार देखेर संसार देखें भने जस्तो मानिसले पनि एक ठाउँमा बसेर सारा संसार देखेजस्तो गरी गुड्डी हाँक्ने, १०० वटा किताब लेखेर, पढेर संसार हल्लाएँ भने जस्तो गरि गफ छाँट्ने विद्वान मुर्खहरुलाई के भनौं? हामी आधा संसारको आधाभागको एक निमेषमा आफ्नो अस्तित्व जोगाई हिँड्ने निरीह प्राणी हौँ।

हामी हाम्रो वरिपरी पूर्णमात्र छौं तर सम्पूर्ण छैनौं। संसार यसरी निर्माण भएको छ कि एकले देखे गरेको, सुनेको, बोलेको, खाएको, सुतेको र देखेको सपना अरुले अनुभब गर्न सक्तैन।

यो नै सम्पूर्णताको अभाव हो। सम्पूर्णता संसारमा नै छैन। किनकि संसारमा जन्मिने हर प्राणी खण्डित सोच र बिचारमा आफूलाई पूर्ण ठाने पनि सम्पूर्णमा भने अवश्य छैनन्। किनकि सोच र बिचारमा खण्डित भएको कारणले नै मानिसले आफूलाई सधैं होसमा राख्न असमर्थ बनेका छन्।

त्यसै कारणले त होश हराई भीरबाट लड्छन्, गरेका कामहरुबाट असफल बन्दछन्, ठूल्ठूला गाडी, हवाइजाहाज, मेसिन दुर्घटनामा परी मानिसले जीवन गुमाई रहेका छन्।

अकालमा सानादेखि ठूला ठूला राजा बादशाहका साथै सन्त महन्तहरुले पनि आफ्नो जीवन छोटो समयमै छोडी गएको पाइन्छ। सोच र होसमा मानिस बाच्न सफल भएको भए मानिसले गल्ती गर्दैनथे, अकालमा मर्दैनथे, झुठ बोल्दैनथे, स्वार्थ बन्दैनथे, ठग र माफियाको जन्म हुँदैनथ्यो र संसार सुखमय हुन्थ्यो।

तर संसार खण्डित भएको कारणले नै यहाँ जन्मिएका सम्पूर्ण मानिसको दिल दिमाग खण्डित भई हरेक कुरा पूर्ण जस्तो देखिए पनि सम्पूर्ण भने आजसम्म कसैले पनि हासिल गर्न सकेका छैनन्। यसरी आधा संसारमा बसेका हामी हरपलमा बाँकी संसार छाडी हरपल बसेका छौँ। किनकि हरपल हाम्रा झिम्किने आँखाले संसार आधामात्र देखिने हो।

अतः हामीसँग दुई ठूला र तिखा आँखा भए पनि हामी आधा संसारमा सधैं रहने हुनाले हाम्रो बाह्य दृष्टि सधैं आधा र अपुरो नै छ। कसैले बनाइ दिएको सृष्टिमा सम्पूर्ण कसरी हुन्छ र? तसर्थ संसार कसैले सम्पूर्ण देखेको छु र बुझेको छु भन्ने महाज्ञाताहरु त कुन्नि के मा अल्झिएर र बल्झिएर यस्तो अन्जानको भजन गाउँदै हिड्छन् थाहा छैन।

यो उनीहरुको पूर्णता र सम्पूर्णता हैन केवल बडप्पन मात्र हो। तसर्थ आधा संसारलाई अगाडि राखी र आधा संसारलाई पछाडि राखेर हिँड्ने चेतनशील प्राणीहरुले यही बाह्य दृष्टिको आधारमा संसारको धाक लगाउनु त अमेरिकाको सिर्फ एक राज्यमा गएर सम्पूर्ण अमेरिकाको भ्रमणको धाक लगाउनु र भारतको बनारस वा दिल्लीको चादनिचोकमा पुगेर सारा भारतको पण्डित्याँइ गर्नमा कुनै मूल्य र अर्थ रहँदैन। बाटोमा हिँड्दा पनि सयौं मानिसलाई यो आँखाले कहाँ दृष्टि दिन सक्छन् र।

१५/२० मानिसहरुमा ३/४ जनालाई मात्र सम्झिएर सम्झानामा मात्र राख्न सकिन्छ। बाँकी सबै मानिस हामी हिँड्ने मानिसको दृष्टिबाट कहाँ र कसरी विलीन हुन जान्छन् थाहा हुँदैन। बस् यही हो पूर्णताको अभाब। सम्पूर्णता त कहाँ छ कहाँ। तर दम्भले हरदम भन्छन् कि मैले यो देखें,उ देखें, यहाँ गएको छु र उहाँ गएको छु।

एक ठाउँ छोड्दा अर्को भेटिने र एक भेट्दा अर्को छोड्नु पर्ने त्यो कुराको ख्याल कसैलाई पनि सायद छैन। ओशो रजनिसले धेरै देश घुमे होलान्, नेपालका पुगकर शाहले संसार घुमे होलान् र कैयौं पर्यटकहरुले पचासौं देशरु घुमे होलान् तर सम्पूर्ण पृथ्वीका सम्पूर्ण भूमिमा अबश्य टेकेका छैनन्। किनकि यो मानिसको लागि असंभव छ।

उनीहरुको पहुँच भन्दा बाहिरको कुरा छ। सुकरात्, प्लेटो, अरस्तु जस्ता महान दार्शनिक, महान सन्त गौतम बुद्ध, लाओत्से, सन्त कबीर, गुरुनानक, जेसशक्रायिष्ट, मोहम्मद पैगम्बर र कोन्फुसिउस जस्ता विश्वका उत्कृष्ट व्यक्तिहरु पनि केही हदसम्म पूर्णतामा गए होलान् र आफूले पाएका ज्ञानको दर्शनको ठेली बनाए होलान्। तर सम्पूर्णता कसैमा पनि देखिन्न।

झन्डै पूर्णताको दृष्टिले हेर्दा त विश्वका महान व्यक्ति बने भने सम्पूर्णताको शिखरमा पुगे भने परमात्माको दर्जा पाउन के बेर छ र। यही हाे मानिस र परमात्मा दुईबीचको फरक र पूर्ण र सम्पूर्णताको भिन्नता र दर्जा।

खै मानिसका पछाडि नदेखिएका रहस्यमय कुराहरु? त्यो त अन्जानमै रह्यो नि। कार्लमाक्स, माओ त्सेतुङ, स्टालिन र लेनिन जस्ता महान व्यक्ति ले पनि यस्तै आफ्नै अगाडि देखेको कुरालाई विश्लेषण गरी आफ्नो दर्शन बनाए तर आधी संसार त उनीहरुको दृष्टिबाट पनि पछाडिनै थियो। त्यसै कारणले त उनीहरुका दर्शन र बिचारहरु अझै बिबादास्पद रहेका छन्।

किनकि यी पूर्ण छैनन्। सम्पूर्णताको त कुरै छोडौं। संसारमा दृष्टिको आधारमानै सृष्टि हुने हो, गर्ने हो, लेखिने हो र कल्पना पनि त्यही आधारमा हुने हो। यो भन्दा बाहिर सम्पूर्णतामा कसैको जाने हिम्मत छैन सिर्फ परमात्मा बाहेक।

स्टेफेन हकिङ, आइन्स्टायिन्स, टेस्ला र अन्य प्रशिद्ध बैज्ञानिक, दार्शनिक, लेखक कबि र सन्त महान्तहरुले पनि आफूले देखेका टुक्रे संसारको बर्णन गरी संसार प्रशिद्ध भए तर खै तिनीहरुमा पनि सम्पूर्णताको जानकारी? सम्पूर्ण संसारलाई एकैचोटि एकै समयमा हेर्न पाए यहाँ यसको १०० गुणा बिकास हुन्थ्यो होला।

तर मानिस जति विद्वान भएपनि आफ्नो जीवनको सफरमा आफू भन्दा अगाडिका चीज बस्तु देखिने र पछाडिको अस्तित्वमा रहेका अरु बस्तुहरुलाई नदेखिने हुँदा मानिस सबै कुराहरुबाट पूर्ण र सम्पूर्ण कहाँ हुन सक्तछ र? एक विधामा अगाडि बढी हिँड्ने मानिसले अर्को विधाको ज्ञान नहुनु नै मानिसको आधी दृष्टिको सचित्र प्रमाण हो।

देखेको जानेको कुरा भन्दा नदेखेको र नजानेको कुरा हजारौं हुन सक्तछ। तसर्थ यो बिशाल ब्रम्हाण्ड संसारमा सम्पूर्ण चिज बस्तुहरु एकै चोटी देख्ने, पढ्ने र बुझ्ने कुनै एक शक्ति छ भने त्यो अमुर्त शक्ति केवल एक परमात्मा छ जसले सारा संसारलाई आफ्नो ब्यबस्थापनको मातहतमा राखी संसारलाई सृष्टि गर्ने, स्थिति गर्ने र त्यसको संभार गर्ने गर्दछ।

जसको महिमा बर्णन गर्न हजार जिब्रा भएका शेष नागले पनि सक्दैनन्। मानिस जाबो प्राणीको त कुरै छोडौं। यस्तो हुँदा हुँदै पनि पृथ्वीको नै पूरा अबलोकन र ज्ञान नभई मानिस एकै चोटी चन्द्रमा र मंगल ग्रहमा रित्तो आकासको भित्ता फोडेर जाने काम गरिरहेका छन्।

टन्न बम बारुदले पृथ्वी भरी यो यात्राको काममा निरन्तर जाँदा धेरै मूल्य चुकाउनु पर्ने हुन्छ। पृथ्वीलाई प्राकृतिक हिसाबले उजाड बनाई काल्पनिक रुख, बाटो र चौरले पृथ्वी सिंगारी मानिसले आफूलाई बैभपशाली नठाने हुन्छ। आवश्यकताको जति पूर्ति गरे पनि प्राकृतिक बिपद् सुनामी, हुरी बतास,बाढी पहिरो र भूकम्पमा मानिस अकमक्क नै परेको देखिन्छ।

रकेट युगमा पनि अरबौं मानिसहरु भोका नांगा हुनु, शोक र कुपोषणले तड्पी तड्पी र जलीजली मर्नु पर्दछ भने यो रकेट उडानको अर्थ कहाँ मेल खान्छ र। यही नै हो मानिसको दृष्टि पूर्ण र सम्पूर्ण छैन भनेको।

तसर्थ सम्पूर्ण दृष्टि गोचर गरी जीवन हेर्ने, देख्ने, पढ्ने र बिताउने हो भने आफूमा रहेको अर्को नेत्र खोली हेर्नु अत्यन्त आबश्यक छ जसलाई हामी तेश्रो आँखा खोल्ने भन्दछौं। जसले सबै कुरा सम्पूर्ण रुपमा दृश्यावलोकन गर्न सकिन्छ भन्ने कुरा हाम्रा वेद, पुराण, ग्रन्थ र उपनिषद्मा वर्णित भएको छ।

तसर्थ देखिएको संसार हैन पछाडिको संसार र आफ्नो अगाडिको मात्र हैन पछाडिको संसार पनि एकैसाथ दृष्टिगोचर गर्ने अभ्यास गरी संसारलाई सम्पूर्ण रुपमा हेरौं, देखौं र जानौं। यसैमा सम्पूर्णता झल्किई मानव मात्रको कल्याण हुने अवश्यमभावी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *