रोनाल्डोले साउदी अरेबिया पुगेर अल-नासरमा सामेल हुनुको कारण बताए
काठमाडौं । विश्वका महान् फुटबल खेलाडी मध्येका एक क्रिस्टियानो रोनाल्डोले अल-नासर फुटबल क्लबसँग खेल्ने बारे आफूले यस निर्णयमा गर्व गरेको बताएका छन् । रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका थिए ।
उनले साउदी अरेबियाको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्डमा सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो २०२५ सम्म क्लबसँग रहनेछन्।
साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरेबिया पुगेपछि रोनाल्डोले अल–नासरमा आबद्ध भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् । साथमा उनी र उनको परिवारललाई गरिएको स्वागतको पनि प्रशंसा गरे।
पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले पत्रकार सम्मेलनमा भने, ‘जीवनमा यति ठूलो निर्णय लिएकोमा मलाई गर्व छ । युरोपमा मेरो काम सकियो। मैले धेरै जितेको छु र युरोपका सबैभन्दा महत्त्वपूर्ण क्लबहरूसँग खेलेको छु। यो अब नयाँ चुनौती हो।’
उनले भने कि अल-नासरले विश्वमा साउदी फुटबलको छवि मात्र होइन देशको धारणा पनि परिवर्तन गर्नेछ।
आफूलाई अद्वितीय खेलाडीको रुपमा व्याख्या गर्दै उनले भने, ‘म एक अद्वितीय खेलाडी हुँ । यहाँ हुनु राम्रो छ। मैले त्यहाँका सबै कीर्तिमान तोडेको छु र यहाँ पनि केही रेकर्ड तोड्न चाहन्छु । म यहाँ जित्न, खेल्न र खेलको आनन्द लिन आएको छु।’
रोनाल्डोले अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट आएका धेरै आकर्षक अफर अस्वीकार गरेको बताए । उनी साउदी फुटबलमा योगदान दिन चाहन्थे।
अल-नासर क्लबका अध्यक्ष मुसाली अल मुअम्मरले पनि रोनाल्डोलाई स्वागत गर्न पाउनु आफ्नो उपलब्धि बताए ।
रोनाल्डोको म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि उनको भविष्यका बारेमा धेरै अड्कलबाजी गरिएको थियो ।
यो रोनाल्डोको करियरको सूर्यास्त हो भनेर सामाजिक सञ्जालमा समेत लेखिएको थियो ।
तर साउदी अरेबियाको फुटबल क्लबसँगको यस्तो महँगो सम्झौतापछि केही समयका लागि यी अड्कलहरूको अन्त्य भएको छ ।
Facebook Comment