लुगा फेरेजसरी सोच फेर्ने कि प्रचण्डज्यू ?
मुलुकको सर्वोच्च कार्यकारी पदमा कुनै बेलाको सशस्त्र द्वन्द्वका नाइके पुष्पकमल दाहाल पदासिन भएका छन्। उनले आफ्नो पुरानै घोषित नीतिअनुसार पुरानो दुश्मन नेपाली कांग्रेसलाई ढाडमा टेकेर टाउकोमा हानेका छन्।
सानो दल भएर पनि ठूला दलहरुको काँधमा जुवा नारेर दाउन सक्ने उनको यो स्मार्ट खुबी र चलाखीलाई सकरात्मकरुपमा स्विकार गरौं र अपेक्षा राखौं त्यो अभूतपूर्वक क्षमता उनले अब राष्ट्ररक्षा र राष्ट्र बिकासमा लगाउने छन्।
एउटा हिंसात्मक विद्रोह पार लगाएर सत्तामा तेश्रो पटक पदासीन दाहालको लागि आफ्नो गुमेको छबि र दल बचाउको लागि यो दुर्लभ र अन्तिम अवसर हुन सक्दछ। नवनियुक्त प्रधानमन्त्रीलाई शंकाको लाभ दिनैपर्दछ।
उनको दलले शासन गर्ने गरी जनमत पाउन सकेको होइन तर गठबन्धनका उम्मेदवारका हैसियतमा उनी भने लोकप्रिय मतले बिजय भएका जनप्रतिनिधि हुन्।
बिद्रोह हुुँदै शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने प्रमुख पात्रको हात र काँधमा तमाम आश्वासन, प्रतिबद्धता र जिम्मेवारी पूर्ण जवादेहीताकासाथ पूरा गर्न बाँकी छ।
दिगो शान्ति र आर्थिक क्रान्ति आम जनताको अबको जोडदार माग र चाहना हो भन्ने कुरा राम्रोसँग बुझेका चतुर खेलाडी दाहाललाई त्यो जस् वा श्रेय आफैं लिऊँ भन्ने महत्वकांक्षा जाग्नु अन्यथा पनि होइन।
कथित् प्राचीन ठूला दल र २० औं शताब्दिका बुढा, जीर्ण, म्याद गुज्रिसकेका नेतृत्वहरु बिरुद्ध चुलिएको बितृष्णा, घृणा र तिरस्कार “नट एगेन र ईनफ ईज् ईनफ्” बाट उनी र उनका समकक्षी पूर्व पीएमहरु बालबाल जोगिएका मात्र हुन् र ती सबै भविष्यमा झन् झन् तिरस्कृत र बहिस्कृत हुँदै जाने सत्यप्रति उनी अवश्य पनि सचेत र सावधान छन्।
मुलुक आन्तरिक र बाह्य चक्रब्युहमा नराम्ररी फसिसकेको र अस्तित्व रक्षाको संकटमा पुगेको दोषबाट मुक्ति पाउन र असफलउन्मुख राष्ट्रलाई उद्धार गर्ने अभिभारा मेरै हो भन्ने जिम्मेवारीबोध र हिम्मत उनमा जागृत भएको हुनसक्दछ। र, राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय जगतमा गुमिसकेको विश्वशनीयता र छवि फर्काउने हो भने यो अन्तिम अवसर हो पनि।
कपडा परिबर्तन गरी दौरा सुरुवाल लगाएर शपथ ग्रहण गरेजस्तै प्रधानमन्त्रीले सोच परिवर्तन गरेको खण्डमा संकटग्रस्त मुलुकको उपचार संभव छ। हिजोसम्म सत्तो सराप गरेको त्यो पोशाकलाई अपनाउन सजिलो थिएन तर प्रचण्डले त्यसलाई सजिलै लिएको देखियो। जडता र उग्रताको पर्याय बन्न छाडेर मात्र मुलुकका लागि काम गर्छु भन्ने दृढता देखाउनु जरुरी छ। त्यो महान काम र श्रेयका लागि प्रधानमन्त्री साहसिक, पारदर्शी र त्यागी हुन जरुरी छ। त्यसपछि मात्र उनी युगनायकमा दर्ज हुनेछन्।
तसर्थ, उहाँको नेतृत्वमा गठन भएका बहुरंगी, बहुरुपी, बहुमार्गी सरकारलाई शंकाको लाभ दिँदै सफलताको शुभकामना पुकार्न यो आलेख पस्किएको छु।
चुनौतीको पहाड न केलाइसक्नु छ न बयान गरिसक्नु। राज्यको संविधानदेखि पुनर्संरचना हुँदै साशकीय स्वरुपको काइते गाँठो फुकाइनसक्नु छ। राजनीतिक, आर्थिक, सामाजिक, न्यायिक, प्रशासनिक, प्राबिधिक, परराष्ट्र र सुरक्षा अस्तब्यस्तता र भताभुङ्ग त्यही जटिल गाँठोका उपज (बाईप्रोडक्ट) हुन्।
सिधा भाषामा आफैंले लादेका ब्यवस्था हुन्। अरुभन्दा सृष्टिकर्ता नै संहारकर्ता हुन बान्छनीय हुनेछ। आफूले बिछ्याएको एम्बुसबाट आफू र राष्ट्रलाई उद्धार गर्न दाहालले सन्देह र बिलम्ब दुबै गर्नु हुँदैन।
“गर नत्र मर (डु अर डाई)” उहाँको भावी रोडमार्ग हुनुपर्दछ। नत्र उहाँ अर्को बिद्रोह गर्न अघि सर्नुपर्दछ। उमेर जे सुकै होस्। पूर्व बिद्रोह जष्टिफिकेसनको लागि। आर्थिक क्रान्तिलाई टुंगोमा पुर्याउनको लागि।
हिम्मतसाथ त्याग मात्र गर्ने हो भने उहाँ जस्तो चतुर खेलाडीलाई ट्रयाक बाहिर गएको देशलाई सुशासनको लयमा फर्काउन कठिन छैन। तर बिस्तारै अथवा अर्को पटक गरौंला भनेर बिलम्ब गर्ने छुट अब उहाँलाई छैन, किनभने अर्को पटक बुलेट रेल छुटिसकेको हुनेछ।
चुनौतीको चाङ हेर्न टाढा जानुपर्दैन। प्रधानमन्त्री जस्तो कार्यकारीले “म पासपोर्ट र सवारी चालक अनुमति पत्रको लामो लाईन अन्त्य गर्छु” भनेर पद बहाली गर्नुपर्यो। लाजको पसारो।
उपप्रधान र गृहमन्त्रीले “निर्मला छानबिन र सुरक्षाफौजको दुरुपयोग रोक्छु मात्र होइन मन्त्रिपरिषद भित्रै प्रतिपक्षको भूमिका निर्वाह गर्दछु” भन्नुको अर्थ पूर्व बिकृति र बेथितिहरु कति रहेछन् बुझ्न सकिन्छ।
गत ३२ बर्षमा हरेक सरकारले मातृभूमिलाई नाङ्गेझार पारेर ऐठन र पीडा हुने गरी लुट् मच्चाएका दुष्टान्त हुन ती। रोजगार, शिक्षा, स्वास्थ्यका लागि बिदेशिन र हिनताबोधमा बाँच्न बाध्य १ करोड नेपाली जनशक्ति त्यही बिकृतिका सिकार हुन्।
यो बिकृति र बिसंगतिको मुहान् अथवा कारखाना राजनीति हो। राजनीतिको चरम दुरुपयोग गर्ने अक्षम, नालायक, निकम्मा नेतृत्वहरुको अकर्मण्यताले हो आज मुलुकको अस्तित्व धाराशायी भएको।
तर, कपडा परिबर्तन गरी दौरा सुरुवाल लगाएर शपथ ग्रहण गरेजस्तै प्रधानमन्त्रीले सोच परिवर्तन गरेको खण्डमा संकटग्रस्त मुलुकको उपचार संभव छ। हिजोसम्म सत्तो सराप गरेको त्यो पोशाकलाई अपनाउन सजिलो थिएन तर प्रचण्डले त्यसलाई सजिलै लिएको देखियो।
जडता र उग्रताको पर्याय बन्न छाडेर मात्र मुलुकका लागि काम गर्छु भन्ने दृढता देखाउनु जरुरी छ। त्यो महान काम र श्रेयका लागि प्रधानमन्त्री साहसिक, पारदर्शी र त्यागी हुन जरुरी छ। त्यसपछि मात्र उनी युगनायकमा दर्ज हुनेछन्।
जसरी युद्धबिराम संभव भयो। अनि बिस्तृत शान्ति सम्झौता मार्फत सेना समायोजन गरेर राजनीतिक मूलधारमा सेफ ल्याण्डिङ संभव र फलिफाप् भयो। उसैगरी राजनीतिक, आर्थिक, सामाजिक, न्यायिक, साँस्कृतिक समायोजन संभव छ। प्रकृतिका अगाडि सबै समान् छन् र सम्पूर्ण प्राणी प्राकृतिक न्यायका हकदार हुन्।
सेना समायोजन बिश्वकै सफल र नमूना अभ्यास हो। दुई बिपरीत कित्ताका सेना र विद्रोहीहरुले अक्षरश सहमतिको पालना गरे। घाँटी जोडे। मुटु एक बनाए। भावनात्मक एकताको झण्डा फहराए। महाभूकम्प लगायत राष्ट्रिय बिपत्ति, कोभिड महामारी, डेंगु महामारी पार लगाउन अतुलनीय योगदान गरे।
आफूले बिछ्याएको एम्बुसबाट आफू र राष्ट्रलाई उद्धार गर्न दाहालले सन्देह र बिलम्ब दुबै गर्नु हुँदैन। “गर नत्र मर (डु अर डाई)” उहाँको भावी रोडमार्ग हुनुपर्दछ। नत्र उहाँ अर्को बिद्रोह गर्न अघि सर्नुपर्दछ। उमेर जे सुकै होस्।
लोकतन्त्रको प्राण निर्वाचनहरु शान्तपूर्वक सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्याए। क्षेत्रीय र अन्तर्राष्ट्रिय संयुक्त सैनिक तालिम अभ्यासमा सक्रियताका साथ भाग लिएर परराष्ट्र सम्बन्ध बिस्तारमा कोसे ढुंगाको काम गरे। विश्व शान्ति स्थापनामा झन् अब्बल सिद्ध भएर नेपालको नाम, सान र छवि माथि उठाए।
कति सुन्दर भाइचारा, मेलमिलाम र एकताको सन्देश। कति राम्रो धैर्यता, सहनशीलता र त्यागको अभ्यास। मेलमिलाप र एकताको कति ठूलो भोक तृष्णा र तृप्ति। परिवर्तन, सुधार र रुपान्तरणको कति सरल सफल घरेलु प्रयोग।
राष्ट्रिय अन्तर्राष्ट्रिय जिम्मेवारी सफलतापूर्वक पूरा गरेर कतिपय पूर्व लडाकुले स्वेच्छिक अवकास लिइसकेको र कतिपय लिने क्रममा रहेको कुरा आफैमा सुखद् हो।
त्यो अनुशासित, कर्मठ, प्रतिबद्ध, त्यागी राष्ट्रबादी शक्तिले समाजमा ब्याप्त राजनीतिक, सामाजिक, आर्थिक बिकृति र बिसंगति सफा गर्न र सुशासनको लयमा फर्काउने खबरदारी, संयोजनकारी अथवा नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा राखिएको छ। छापामार र राष्ट्रिय सेनाको अनुभव बटुलेको त्यो दुर्लभ र अद्भूत शक्ति समाज परिवर्तनको संवाहक हुन सक्दछ।
समायोजनले सिकाएका असल पाठकहरु अनगिन्ती छन्। खराब पाठ शून्य। सेना होस वा छापामार सवै नेपाली शान्तिप्रेमी, जनप्रेमी, राष्ट्रप्रेमी, बिकासप्रेमी छन् भन्ने पहिलो ठूलो पाठ हो।
दोश्रो पाठ, हामी परस्पर सुसम्बन्ध, समन्वय, मेलमिलाप, एकता, सहअस्तित्व, सहकार्यमा रमाउने जाति हौं। हामी उत्तिकै धैर्यवान्, लगनशील र सहनशील छौं।
कुटनीतिक नियोग, राजदूताबास र बाह्य इण्टेलिजेन्ससँगको सम्पर्क सम्बन्ध सल्लाह र एक्लाएक्लै गोप्य भेटघाटलाई प्रतिवन्ध लगाउने। र, लथालिङ्ग विदेश सम्बन्धलाई अनुशासित र मर्यादिन बनाउने।
इतिहास, धर्म संस्कृति, अग्रज, गुरुजन, अतिथि र चेन अफ् कमाण्डलाई हामी अन्तरात्मादेखि उच्च सम्मान गर्दछौं। सहमति, सम्झौता, सन्धी, आचारसंहिता हामी अक्षरश पालना गर्दछौं।
अब, आफू पूर्वलडाकुको सुप्रिम कमाण्डरको हैसियतले प्रधानमन्त्रीले यी असल प्रयोग र नजिरबाट पाठ सिक्ने कि नसिक्ने? माटो र जनतालाई शिरमा राखेर बक्ररेखा, बक्रदृष्टि र बक्रश्रापबाट सधै लथालिङ्ग राजनीति, अर्थनीति, परराष्ट्रनीतिलाई सरल रेखाबाट हिँडाउने कि नहिँडाउने। राष्ट्रिय एकताको महाअभियानमा समग्र मुलुकलाई गोलबद्ध गर्ने कि नगर्ने?
नयाँ सम्बन्ध र एकताको यो सेतुलाई उदाहरण मानेर दाहालले राष्ट्र बिकासको नयाँ क्रान्तिकारी पहलकदमी लिनुपर्दछ। सफल सेना समायोजनका सुत्रधारको हैसियतले दाहालले गर्नै पर्ने राष्ट्रिय सुरक्षा र सुशासनका एजेण्डाहरु यहाँ बुँदागतरुपमा प्रस्तुत गर्दछु।
१) राष्ट्रिय ईण्टेलिजेन्सलाई सबल सक्षम सशक्त बनाई राष्ट्रिय हित र सुरक्षाको खातिर सदुपयोग गर्ने।
२) राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त बनाउने।
३) नीति अनुसन्धान प्रतिष्ठानलाई अनुसन्धानको कारखाना बनाउने।
४) राष्ट्रिय गौरवको आयोजना द्रुत सडक मार्गको काम बिना रोकतोक समयमा सम्पन्न गराउन सहजीकरण गरिदिने।
५) नेपाली सेना लगायत सबै सुरक्षा निकायहरुलाई सबलीकरण र सशक्तिकरण गर्दै सेनालाई चुरे लगायत वाताबरण सुरक्षा र विकास निर्माणका थप जिम्मेवारी दिने।
६) बेरोजगार युवालाई जीवनपयोगी शिक्षा र ब्यावशायिक तालिम मार्फत सीप अभिबृद्धि गरेर दक्ष जनशक्ति उत्पाडनमा जोड दिँदै स्वरोजगारको अवसर सुनिश्चित गर्ने।
७) सुरक्षा निकायहरुलगायत शिक्षा, स्वास्थ्य क्षेत्र र कर्मचारीतन्त्रलाई अराजनीतिक ब्यावसायिक र निष्ठावान् राख्न लिएको सह्रानीय पहलकदमीको कार्यान्वयन सफल पारी छाड्ने।
८) सुरक्षा जनशक्तिको दुरुपयोग शून्यमा झार्न आफैंबाट उदाहरण प्रारम्भ गर्ने।
९) कुटनीतिक नियोग, राजदूताबास र बाह्य इण्टेलिजेन्ससँगको सम्पर्क सम्बन्ध सल्लाह र एक्लाएक्लै गोप्य भेटघाटलाई प्रतिवन्ध लगाउने। र, लथालिङ्ग विदेश सम्बन्धलाई अनुशासित र मर्यादिन बनाउने।
१०) मुलुकलाई बाह्य हस्तक्षेप मुक्त राख्न कडाभन्दा कडा कदम चाल्ने र स्वविवेक, स्वनिर्णय, आत्मनिर्भता, आन्तरिक एकताको मर्म र भावनालाई अक्षरश पालना गर्ने गराउने।
११) मुलुकको सार्वभौमसत्ता, भूअखण्डता रक्षा गर्न परम्परागत लगायतका सबै सिद्धान्त र विचारका शक्तिलाई समायोजन गरेर एक ढिक्का सिंगो नेपाल बनाउन बिलम्ब नगर्ने।
१२) कानुनी राज्य, बिधिको सुशासनमार्फत समृद्धिको गन्तब्यमा एकढिक्का भै तीब्र गतिमा अगाडि बढ्ने।
१३) सम्पत्ति शुद्धिकरण र अख्तियार दुरुपयोग निवारण आयोगलाई निर्वाधरुपमा स्वतन्त्र र सर्वाधिकारसम्पन्न बनाउने। र, उदाहरणीय बन्न आफ्नै सम्पत्ति छानविन गराएर कार्यको शुरुवात गर्ने।
अन्त्यमा, भगवान गौतम बुद्धको एक्लो त्याग, यत्न र ध्यान हेरौं। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले घरेलु टिमको मात्र साथ र सहयोग लिएर आजीवन राष्ट्र निर्माणको खातिर गरेको त्यागपूर्ण संघर्ष हेरौं।
हरेक राजनीतिक क्रान्ति मुलुकलाई अभिसाप र विदेशीलाई फलिफाप भएको छ। तसर्थ, अब पालो आर्थिक क्रान्तिको। ज्ञात होस्, तबमात्र क्रान्तिको साईकल पूरा हुनेवाला छ।
सबै ज्ञान र अनुभवले खारिएका माझिएका भुक्तभोगी प्रधानमन्त्रीलाई जनमैत्री, वाताबरण मैत्री बिकास र बहुअपेक्षित समृद्धि दिन कुनै महाभारत देखिँदैन, यदि उहाँ अन्तस्करणदेखि निषेध र प्रतिशोधको संकीर्ण राजनीति घेरा तोडेर बहुआयामिक र बृहत्तर समायोजनको लागि तयार हुने हो भने। शुभकामना छ नवनियुक्त प्रधानमन्त्री र महत्वकांक्षी उहाँको नया सरकारलाई।
Facebook Comment