पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने तुवाचुङ नगरको तयारी
खोटाङ । पाठेघर खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले घर–घरमा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको छ । पाठे घर खस्ने समस्याका कारण दर्दनाक दिनचर्य विताइरहेका महिलाको पहिचान गर्दै उपचारका लागि नगरपालिकाले घर–घरमा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको हो ।
पाठेघरको समस्या भएका कतिपय महिला लाज मानेर स्वास्थ्य संस्था वा स्वास्थ्य शिबिरसम्म जान हिच्किचाउने गरेको पाइएपछि नगरपालिकाले आगामी माघ १ गतेदेखि माघ ९ गतेसम्म घर–घरसम्मै स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरेको हो । घर–घरमा पुगेर पाठेघर खसेका समस्याको पहिचानका लागि नगरपालिकाले ११ वटै वडाका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई सुनौलो परिवार नेपालबाट प्रशिक्षक ल्याएर तालिम दिइएको छ ।
महिला स्वास्थ्य स्वयंसेविका र आमा समुहमार्फत पाठेघर खसेका महिलाको पहिचान गर्ने र उपचार प्रवन्ध गर्ने तयारी गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए । पाठेघर झरेर पहिलो र दोश्रो स्टेजमा पुगेका महिलाको उपचारका लागि रिङप्रेसरी राख्ने र घाउ उपचारका लागि औषधि प्रदान गरिने छ । तेश्रो र चौथो स्टेजमा पाठेघर खसेका महिलाको तथ्यांक संकलन गरेर जिल्ला अस्पतालसँग समन्वय गरेर शल्यक्रीयाको प्रवन्ध मिलाइने स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए ।
जिल्ला अस्पतालसँग पाठेघर खसेका महिलाको शल्यक्रीया गर्ने अवस्था नभए जिल्ला बाहिरका स्वास्थ्य संस्थामा लगेर भए पनि उपचार व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । पाठेघरको समस्या लुकाउँदै आएका महिलालाई काउन्सिलिङको व्यवस्था गरिने छ । ‘पहिलो र दोश्रो स्टेजमा पुगेका पाठेघरको उपचारका लागि रिङप्रेसरी राखिदिन्छौँ । घाउ भएको रहेछ भने औषधि दिन्छौँ,’ घिमिरेले भने, ‘तेश्रो र चौथो स्टेजमा पुगेका पाठेघरको शल्यक्रीयाको व्यवस्था गर्छौँ । शल्यक्रीयाको लागि जिल्ला अस्पतालसँग समन्वय गर्छौँ । जिल्ला अस्पतालमा जनशक्ती ल्याएर उपचार गर्ने अवस्था भएन भने अन्यत्र लगेर भए पनि पाठघेरको उपचार गरिदिने छौँ ।’
अघिल्लो वर्ष पनि नगरपालिकाले बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटारमा पाठेघर खस्ने समस्याको उपचार शिबिर सञ्चालन गरेको थियो । तर शिबिरमा पाठेघर खसेका महिलाको अपेक्षित उपस्थिति नरहेपछि नगरपालिकाले घर–घरमा सहयोगी सहितको स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरिएको मेयर बिमला राईले बताईन् । गत शिबिरमा स्वास्थ्यकर्मीले खिचेको आङ सिरिङ पार्ने पाठेघर खसेको तस्विर देखेपछि स्वयं मेयर राईले पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने निर्णय गराएकी हुन् ।
Facebook Comment