हार्दिक पाण्ड्याले भने- ‘म सूर्यकुमार यादवको ब्याटिङ देखेर निराश हुने थिएँ, यदि…’

डिसी नेपाल
२४ पुष २०७९ १४:०३

काठमाडौं । शनिबार भारत–श्रीलंकाबीचको टी–२० खेलमा सुर्यकुमार यादवको तुफानी ब्याटिङको कप्तान हार्दिक पाण्ड्याले प्रशंसा गरेका छन् । टी–२० सिरिजको अन्तिम खेलमा भारतले २–१ ले जित हात पारेको छ ।

राजकोटको सौराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा भएको उक्त खेलमा सूर्यकुमार यादवले ४५ बलमा शतक प्रहार गर्दै भारतको स्थिति बलियो बनाएका थिए । उनले ५१ बलमा अविजित ११२ रन बनाए । सूर्यकुमारको टी–२० खेलमा यो तेस्रो शतक हो ।

उनको तुफानी ब्याटिङको आधारमा भारतले पहाड जस्तै रन बनाउन सफल भयो । भारतले श्रीलंकालाई ५ विकेट गुमाएर २२९ रनको लक्ष्य दिएको थियो । त्यसको जवाफमा श्रीलंकाले १६.४ ओभरमा १३७ रन बनाएको थियो ।

सूर्यकुमार यादवको यो उत्कृष्ट प्रदर्शनमा कप्तान हार्दिक पाण्ड्याले भने, ‘उनले आफ्नो ब्याटिङले हरेक इनिङ्समा सबैलाई चकित पारिरहेका छन् । एक हिसाबले उनले ब्याटिङ निकै सजिलो छ भन्ने पारिदिए ।’

उनले भने, ‘यदि मैले उनलाई बलिङ गरिरहेको भए म उनको ब्याटिङ, उनको शट देखेर निराश हुने थिएँ । उनले अन्धाधुन्ध खेलेका छन् ।’

भारतीय ब्याट्सम्यान इशान किशन एक रन, शुभमन गिल ४६ रन, राहुल त्रिपाठी ३५ रन, हार्दिक पाण्डे ४ रन र दिपक हुडा ४ रन बनाएर आउट भए ।

यो खेलमा सूर्यकुमार यादवले नयाँ कीर्तिमान पनि बनाए । ओपनिङ ब्याट्सम्यान नभएर पनि उनी टी–२० खेलमा तीन शतक बनाउने पहिलो ब्याट्सम्यान हुन् ।

टी-२० खेलमा सबैभन्दा छिटो १५०० रन बनाउने ब्याट्सम्यान पनि उनी बनेका छन् । उनले ४५ टी–२० खेलमा १५७८ रन बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *