‘योनी म्युजियममा चियाउँदा’ को रोमाञ्चकता
‘योनी म्युजियममा चियाउँदा’ नियात्राकार कृष्ण बजगाईँको भर्खरै २०७९ साल मङ्सिरमा प्रकाशन भएको ‘उमिहोतारु’ नियात्रासङ्ग्रह भित्रको एउटा यात्रानिबन्ध हो। त्यसो त मलाई नियात्राकार कृष्ण बजगाईँसँग भेटिएको गफिएको तथा चिया सँगै पिएको सन्दर्भ याद छैन।
सायद भौतिक रूपमा हामी अचिनारु हौँ। सामाजिक सञ्जालमा भने हामी यारीदोस्तीमा छौँ। बेलायतलाई कर्मथलो बनाएका नियात्राकार कृष्ण बजगार्इँ जन्मले धराने हुन्। नेपालको हिसाबमा पनि मेरा जिल्लागत गौवाँ (गाउँले) हुन्।
मैले भन्नु परोइन कि कृष्ण बजगाईँ नेपाली साहित्यमा स्थापित नाम हो। उनका रचनाहरू नेपाल तथा भारतका विश्वविद्यालयहरूमा पाठ्यपुस्तक बनेका छन्। विविध विधामा कलम चलाउने कृष्ण बजगार्इँ मेरालागि मूलत नियात्राकार, लघुकथाकार, बालसाहित्यकार हुन्।
तर यो संक्षिप्त आलेखमा म उनको नियात्राकार व्यक्तित्वलाई ‘योनी म्युजियममा चियाउँदा’ शीर्षकको नियात्रानिबन्धका आधारमा विशेषताहरू केलाउन गइरहेको छु।
मलाई लाग्छ कि कुनै लेखनी नियात्रा भयो वा भएन भनेर पर्गेल्न नियात्राको ३ पाङ्ग्रे सिद्धान्तलाई बुझ्नु पर्ने नै हुन्छ। नत्र नियात्रा भनेको सिर्जना यात्राविवरण मात्र बनिदिन्छ। केही खास तत्त्वलाई अगाडि राखेर मात्र सिर्जनाको परख गर्नु पर्ने हुन्छ।
यद्यपि नियात्राका बारेमा विविध विद्वानले विविध अर्थ तथा परिभाषा गरेका छन्। त्यो अर्कै कुरा हो। तर म आफू भने नियात्रामा तीन सूत्रको प्रयोग हुनुपर्छ भन्छु। तीन तत्त्वको समान सहभागिताबिना नियात्रा बन्दैनजस्तो लाग्छ।
पहिलो तत्त्व यात्रा हो। यात्राबिना नियात्रा लेखनको कल्पना पनि गर्न सकिन्न। यात्रा अपरिहार्य हुन्छ। यात्रा नगरी कल्पनाका आधारमा वा गुगल हेरेर नियात्रा लेख्न सकिन्न। त्यसकारण नियात्राको आधारभूत सर्त हो यात्रा। यात्राको सूचना भन्नेबित्तिकै को? कहाँ? किन? कहिले? कसरी? भन्ने सूचना आवश्यक पर्छ।
प्रस्तुत ‘योनी म्युजियम चियाउँदा’ भन्ने नियात्रामा नियात्राकार एक्लै यात्रा गरेका छन्। बेलायतको योनी म्युजियमको यात्रा भएको छ। किन नियात्रा गरेको याने यात्राको प्रयोजन के हो? के कारणले गर्दा यात्रा गरेको भन्ने विषयमा नियात्राकार कृष्ण बजगार्इँले आफैँले लेखेका छन्-‘म ताजा हुन र ज्ञान बटुल्न निकै समयपछि यात्रामा निस्किएको थिएँ’।
यो भनाइले उनको यात्रा प्रयोजन ताजा हुन र ज्ञान बटुल्न रहेको देखिन्छ। यात्रा जुन २१, २०२१ म भएको छ। नियात्राकारले रेलबाट यात्रा गरेका छन्। नियात्राकार आफू बसेको ठाउँबाट गन्तव्य स्थानमा पुग्दाका अवस्थाको गतिशील वर्णन यात्रा तत्त्वभित्रकै एक पाटो हो।
नियात्राको दोस्रो सर्त त्यो ठाउँको महत्त्व तथा सूचना हो। यात्रा गरिएको गन्तव्यको के महत्त्व छ? सांस्कृतिक, प्राकृतिक, धार्मिक, सामाजिक वा अन्य धेरै कुरा। किनभने महत्तव नभएको ठाउँमा यात्रा नै हुँदैन। अझ भनूँ बिनामहत्त्वको ठाउँ पनि हुँदैन। यो नियात्रानिबन्धमा नियात्राकारको गन्तव्य योनि म्युजियम रहेको छ।
त्यसैले योनि दर्शनका आधारमा योनी म्युजियमको आधारमा देखिने महत्त्व नै प्रस्तुत नियात्राको महत्त्व हो। संसारमा त्यसै पनि योनी महत्त्वपूर्ण कुरा हो। त्यसमाथि पनि योनीको म्युजियम नै बनेको कुरा त असाध्य महत्त्वपूर्ण कुरा तथा योनि म्युजियमका बारेमा भौतिक तथा मनोवैज्ञानिक सूचना पाठकका लागि प्रदान गर्नु आवश्यक नै हुन्छ।
यसो भएकाले नियात्रालाई योनि सम्यता, योनिमाथि भएका विभेद, योनिचेतनाको शास्त्रीय तबरले सूचना दिएर आकर्षक बनाइएको छ। समग्रमा योनीको इतिहास नै बताइएको छ। यसले गर्दा नियात्राको महत्त्व पक्ष झन दर्बिलो भएर आएको छ।
निजात्मकता नियात्राको तेस्रो र महत्त्वपूर्ण तत्त्व हो। कोरा वर्णन मात्र नियात्रा हुन सक्दैन। यात्रा क्षणमा नियात्राकारको मनमस्तिष्कमा विषयसँग सम्बन्धित भएर आएको कुरा अभिव्यक्त हुनु नियात्राको धर्म हो।
त्यसो भएकाले नियात्रा प्रथम पुरुष दृष्टिबिन्दुमा लेखिनु पर्छ। र, यो नियात्रा पनि प्रथम पुरुष दृष्टिबिन्दुमा लेखिएको छ। नियात्राभित्र नियात्राकारको चिन्तन, मनन तथा निजात्मकता प्रचुर हुनु जरुरी छ।
‘योनी म्युजियममा चियाउँदा’ नियात्राभित्र नियात्राकारको निजात्मकता अत्यन्त धेरै र सुमधुर तथा रोचक तरिकाले अभिव्यक्त भएको छ। नियात्राकारको चिन्तनमननको व्यापकता नियात्राभरि छचल्किन्छ। योनिसँग सम्बन्धित दर्शनको ज्ञानको व्यापक क्षितिज देखिन्छ।
कस्तो लेखनी नियात्रा हुन्छ र ‘योनि म्युजियममा चियाउँदा’ भित्र कस्तो लेखनी छ भन्ने बारेमा संक्षेपमा चर्चा गरेपछि पाठकका मनमा एउटा जिज्ञाशा उत्पन्न हुन्छ कि कस्तो नियात्रा सफल भएको मान्ने? मलाई लाग्छ नियात्राकार जहाँ जहाँ पुग्छ, त्यो ठाउँमा पाठक आफैँ पुगेको अनुभूति भयो भने नियात्रा सफल भएको मान्नु पर्छ। नियात्राकारको व्यक्तिगत वर्णनले पाठकलाई दिक्क लाउनु हुँर्दैन नियात्राले।
यो बुँदा अलि गाह्रो पनि छ। यात्राको कैरन ल्याउँदा व्यक्तिगत अनुभव आवश्यक छ एकातिर भने अर्कोतिर पाठकीकरण गर्न नसकिने व्यक्तिगत गन्थन नियात्राको बाधा पनि हो। यस्तो चोके अवस्थाबाट नियात्राकारले नियात्रा लेख्नु पर्छ।
यो नियात्रा पढिरहँदा मलाई एउटा पाठकको हैसियतमा तततत ठाउँमा नियात्राकारसँग घुमेको अनुभूति भयो। त्यसैले मेरा विचारमा यो नियात्रा अब्बल छ र सफल पनि छ। नियात्रा विशेषताहरूले सुसज्जित छ।
यो नियात्राको सबभन्दा महत्त्वपूर्ण विशेषता भनेको नियात्राभरि नियात्राकार कृष्ण बजगार्इँको निजात्मक अनुभूति हो। यो अनुभूति असाध्य घनिभूत भएर आएको छ।
बाटोको वर्णन, योनी म्युजियममा पस्न टिकट काट्ने लाइनमा बस्ता आफूभन्दा अगाडि र पछाडि लाइनमा उभिएका तरुनीलाई हेर्दा/देख्दा नियात्राकारको मनमा निजात्मक अनुभूतिको बाढी लागेको छ।
महिलाको गोप्य अङ्ग हेर्नु छ र हेर्ने लाइनमा महिला छन् भनेपछि त्यो म्युजियम हेर्नु कि फर्किनु भन्ने अन्तरद्वन्द्व देखिएको छ। निजात्मक अनुभूति बेजोड छ।
नियात्रा भनेको तत्कालीन समयको इतिहास पनि हो। संस्कृति पनि हो। जुन बेला याने २०२१ मा नियात्रा लेखिएको छ, त्यो बेला भनेको विश्वको महामारी कोरोनाले आक्रान्त पारेको अवस्थाको थियो। त्यसैले यात्रामा नियात्राकारको मुखमा मास्क र गोजीमा स्यानिटाइजर छ।
दूरी राखेर मात्र लाइनमा उभिएको दृश्य छ। यसले त्यो बेलाको कोरोना कहरलाई सम्झाएको छ। त्यसैले त्यो बेलाको कोरोना कहरको साक्षी पनि बनेको छनियात्रा ।
योनी नाम सुन्नेबित्तिकै महिला तथा पुरुषका मनमा एकप्रकारको अलग भाव आउँछ। यो अलग भावलाई नियात्राकारले नियालेका छन्। योनीका प्रति पुरुषको चिन्तन व्यापक छ।
योनीलाई केन्द्रमा राखेर आउने पुरुष मनोविज्ञानले व्यापकता पाएको छ। नियात्रामा विश्व समाजमा योनीको अपरिहार्यता तथा महत्तवलाई ज्यादै मिहिन तरिकाले प्रस्तुत गरिएको छ।
योनीसँग सम्बन्धित भएर हुने महिनाबारी तथा प्रजनन स्वास्थ्यबारे राम्रो जानकारी छ यो नियात्रामा। महिनावारी प्राकृतिक कुरा हो। यसमाथि हुने गरेको अपहेलना वा विभेदलाई राम्रोसँग चिरफार गर्नु यो नियात्राको राम्रो विशेषता हो। महत्त्वपूर्ण पक्ष हो।
नियात्राको केन्द्रीय विषय नै योनी र योनिजन्य महिनावारीका बारेमा प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउनु रहेको छ। योनीसँग सम्बन्धित महिनावारीका बारेमा जानकारी दिने अथाह भण्डार छ यो नियात्रामा। योनि तथा महिनावारीका बारेमा अध्ययन गर्न चाहनेका लागि यो नियात्रा शैक्षिक केन्द्र बनेको छ।
नियात्राभित्र हिन्दु धर्म र संस्कृतिमा रहेको योनिको शक्ति र सौन्दर्यको शास्त्रीय विवेचन गरिएको छ। शिवपार्वती, लिङ्ग तथा योनी पुजनको नेपाली परम्परालाई पनि उद्धृत गरिएको छ।
नेपाल मात्र होइन; संसारभरिका महिनावारीका अवस्था, व्यवस्था तथा प्रचलनहरूको वर्णन गरिएको छ। यहाँ सम्म कि नेपालको छाउपडीका बारेमा पनि सो म्युजियममा जानकारी तथा सूचनाहरू छन्। पढ्दा अचम्म लाग्छ। नेपाली भएकाले कुरिकुरि लाग्छ।
वास्तवमा नेपालका मानिसमा योनी तथा महिनावारीका बारेमा सोच र व्यवहार याने बोलाइ र गराइमा आउने गरेको फरक कुरा पनि औँल्याइएको छ।
नियात्रा लेखनमा नियात्राकारको लेखनी इमान्दारितामा आधारित हुनु जरुरी हुन्छ। कतिपय नियात्राकारले आफ्ना नियात्रामा आफ्नै कुरा बढाइचढाइ गरेको पाइन्छ। नियात्रालाई व्यक्तिगत विवरण बनाएर बोझिलो बनाइदिएका हुन्छन्।
तर यो नियात्रामा नियात्राकार इमान्दारिताका बारेमा सचेत देखिएका छन्। सामाजिक तथा पारिवारिक कारणले नियात्राकारले बेच्न राखेको ममको योनि किन्न खोजेर पनि सकेनन्। कारण समग्र सामाजिक अवस्था, बन्धन तथा परिवेशको चित्रण त्यत्ति एउटा घटनाले गरेको छ।
नेपाली समाजले योनी तथा माहिनावारीका प्रति बनाएको सामाजिकमनोविज्ञान यही प्रसङ्गबाट पनि बुझ्न सकिन्छ। यो इमान्दार लेखनीको प्रमाण हो। यसैगरी नियात्राभित्र अनेकन प्रसङ्गमा नियात्राकार इमान्दार लेखकका रूपमा देखिएका छन्।
नियात्राभित्र विशेषताका रूपमा नियात्राकारले कलात्मकता तथा कल्पनाशिलताको व्यापक प्रयोग गरेका छन्। कल्पनाशीलता तथा कलात्मकता अत्यन्त व्यापक छ। योनी तथा महिनावारीका विषयमा नियात्राकारको कल्पनाशीलता संसारभरि पुगेको छ। नियात्राको बुनौट, प्रस्तुति र समापन कलात्मक छ।
नियात्रा मूल रूपमा ज्ञानवर्धक र सन्देशमूलक छ। नियात्राले योनी तथा महिनावारीका बारेमा ज्ञानवर्धक र सन्देशमूलक सामग्री पस्किएको छ। नियात्राको अन्तिममा लेखिएको सन्देश ‘तपाईँलाई महिनावारी हुनेगरेको भए वा नभए पनि महिनावारीका बारेमा साथी र परिवारसँग कुरा गर्नुहोस्। अरूलाई जानकारी दिनुहोस्।
महिनावारीकाे सामग्री प्रयोग गर्नबाट वञ्चित महिलाहरूका लागि खोलिएका परोपकारी संस्थाहरूलाई दान दिनुहोस्। महिनावारी हुनु कुनै कलङ्क होइन। यो लाज मान्नु पर्ने विषय होइन। उठ्नोस र खुलेर कुरा गर्नुहोस्’ ले यो कुरा प्रमाणित गरेको छ।
‘योनि म्युजियम चियाउँदा’ नियात्रा पढिरहँदा म एउटा पाठक हुँ। जसरी स्रष्टा आफ्ना लेखनीका बारेमा सार्वभौम अधिकार राख्छ, त्यसैगरी पाठक पनि स्रष्टाका सिर्जनामाथि आफ्नो विचार राख्न स्वतन्त्र र सार्वभौम हुन्छ। त्यसैले एउटा पाठकका हिसाबबाट मेरा मनमा अनेकन खुल्दुलीहरू यो नियात्राले उब्जाएको छ।
योनि म्युजियमको ठ्याक्कै बेलायती नाम चाहिँ के थियो होला? नियात्राकार त रेलबाट गन्तव्य पुगेका छन् तर अरू कुनकुन साधनबाट त्यो ठाउँमा पुग्न सकिन्छ होला? म्युजियमको बारेको सूचना अलि कम भयो कि? म्युजियम कहिले, कस्ले, किन कसरी बनाए होलान् भनेर मेरा मनमा जिज्ञाशा उत्पन्न भइरहेको छ।
फेरि अर्को तरिकाले हेर्दा योनी सङ्ग्रहालयको भौतिक तथा व्यवस्थापकीय चर्चा कम र योनीको शास्त्रीय चर्चा बढी भएको हो कि भन्ने पनि लागेको छ। किनभने नियात्राको आधा भागमा पुगेपछि मात्र योनी म्युजियम पुगेका देखिन्छन् नियात्राकार। आखिर म एउटा पाठक त हो। पाठकलाई त जे पनि लाग्न सक्छ नि।
मैले एउटा पाठकको हिसाबबाट हेर्दा नियात्रामा गतिशीलता कम महसुस गरेको छु। घरबाट निस्केर योनी म्युजियमसम्म पुगेको भौतिक, प्राकृतिक तथा अन्य सुन्दरताको वर्णनको गति धिमा भएको जस्तो लाग्छ।
रेलको झ्यालबाट बाहिर हेर्दा कस्तो दृश्य थियो भन्ने कुरा पनि गतिशीलताको पक्ष हो। यद्यपि नियात्राकार त्यो बेला मनोवैज्ञानिक तथा अनुभूतिका सबालमा गतिशील छन्। तर भौतिक गतिशीलता पनि पस्केको भए झन् सुनमाथि सुन्दर हुने थियो जस्तो लागेको छ।
नियात्राको बारेमा सोच्दा योनि म्युजियम भन्नाले खास प्रकारको म्युजियम होला भन्ने ठानेको थिएँ। तर मेरो सोचाइ विपरीत त्यहाँ त प्राचीन, मध्य र आधुनिक युगमा महिलामा हुने महिनावारीका कथा र व्यथा छन्।
तथापि मेरो यो ‘अल्प ज्ञानी भयङ्करी’ का कुरालाई एकातिर पन्छाएर वर्तमान नियात्रावृत्तमा आँखा लाउने हो भने तथा नियात्राका बारेमा सारमा भन्ने हो भने मानक बनेको छ यो नियात्रा।
म आफू पनि नियात्रा कहिलेकाहिँ लेख्ने सिकारु भएकाले यो नियात्राकृति मेरो लागि बहुमूल्य र पथप्रदर्शक भएको छ। यस्तो सुन्दर नियात्रा तथा नियात्राकृतिका लागि हार्दिक बधाई नियात्राकार कृष्ण बजगार्इँ सर। नियात्राकृति ‘उमिहोतारु’ को सफलताको शुभकामना।
Facebook Comment