नयाँ संसदका चुनौतीहरू
गत जेठमा सम्पन्न स्थानीय निकायको चुनावमा केही नयाँ अनुहारहरू स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुँदा प्रमुख राजनैतिक घटकका केही नेताहरूले यो घटनालाई ज्यादै साधारण रूपमा लिएर हल्का प्रतिकृया जनाएका थिए।
हालैको निर्वाचनको समयमा पनि राजनैतिक पार्टीहरूले चुनावी गठवन्धन बनाएर व्यापारीले झैं कार्टेलिङ नै गर्न खोजे भने झट्ट हेर्दा मुलुकमा दुई पार्टी प्रणाली भएको जस्तो पनि देखियो। धेरै नयाँ अनुहारहरू स्वतन्त्र वा नयाँ पार्टी नै दर्ता गरेर चुनावी मैदानमा उत्रिए।
ती मध्ये कैयन्ले हार व्यहोर्नु पर्यो भने कतिले निर्वाचनमा सानदार विजय पनि हासिल गरे। दुई नयाँ पार्टी त सबै नयाँ अनुहारहरू सहित संसदमा पुगे र ती मध्येको एक मुलुककै तेस्रो ठूलो पार्टी हुन सफल भयो र सो पार्टीका अध्यक्ष टेलिभिजन प्रस्तोता/पत्रकार रवि लामिछाने पहिलो पटकको सफलतासँगै उपप्रधान तथा गृह मन्त्री बन्न सफल भए।
सरी पनि सरकारमा पुग्नै पर्छ भन्ने पुराना पार्टीका नेताहरूको सोचको फाइदा उठाएर भनौँ वा नयाँ पिँढीको राजनैतिक चातुर्यले गर्दा यो सम्भव भएको हो। एक प्रकारले मुलुकमा सत्ता परिवर्तनको शुरुवात पनि भएको हो भन्न सकिने ठाउँ बनेको छ भने नयाँ अनुहारहरूको कार्यशैली हेर्न बाँकी नै छ।
पुराना पार्टीहरूमा बुढापाकाको वर्चश्व अझ पनि कायम रहेको, पार्टी फुटको संघारमा पुगेर आफू आफूमा नै प्रतिष्पर्धा भएकोले कैयन् राम्रा तथा नराम्रा नेताहरूले हार ब्यहोर्नु परेको, टिकट नपाएको झोकमा स्वतन्त्र भएर निर्वाचनमा भाग लिएका वरिष्ठ नेताले पनि हार ब्यहोर्नु परेको तथा केहीले त्यसरी पनि जित हात पारेका वृत्तान्तहरू यसपाली देखिए।
राम्रै काम गरिरहेका केही नेताहरू आफ्नै पार्टीको नराम्रो छवीले गर्दा हार खान वाध्य भए। यसरी यसपालीको संसदमा नयाँदेखि पुरानासम्म र २० देखि ८० को उमेर पार गरेका नेताहरू पुग्न सफल भए भने ती मध्ये केही चिकित्साशास्त्रका र केही अन्य विधाका डाक्टर पनि छन् र केही अनुभवी तर मुस्किलले १० पासहरू।
दुई विशाल छिमेकी राष्ट्रहरूलाई विश्वासमा पारेर दुवैको आर्थिक विकासबाट फाइदा उठाउने भन्दा पनि तिनका राजदूत र गुप्तचरी निकायका अधिकृतहरूसँग निकट हुन र तिनका हुकुम सिरोपर गर्न नै अधिकांश नेताहरू लागिपरेका कुरा विगतमा सुन्नमा आउँदा हामीले लिएको बाटो कति सही वा गलत रहेछ भन्ने कुरा सबैले मनन गरेकै हुन्।
चुनाव प्रचारको निम्ति शहर फोहर हुने गरी पोस्टर र ब्यानर यसपाली नगण्य मात्र देखिए भने मुख्य प्रचार सामाजिक सञ्जालबाट नै हुन गयो। मुलुकका जनता निक्कै नै सचेत भइसकेका र सामाजिक सञ्जाल पनि ज्यादै व्यापक हुँदै गएकोले आउँदा दिनहरूमा राम्ररी कार्यसम्पादन नगर्ने र भ्रष्ट तथा अल्छी मनोवृत्ति भएका नेताहरूलाई निक्कै गाह्रो हुन जाने देखिन्छ।
सबैजसा दलले महिला उम्मेदवार ज्यादै कम उठाएकाले संसदमा महिलाहरूको सहभागितामा निक्कै कमी आएको छ। यसो हुनुमा विभिन्न राजनैतिक दलहरूले महिलाहरूलाई दिने उम्मेदवारीको टिकटमा नै कन्जुस्याईँ गरेकोले हो भने समानुपातिक तर्फ पनि निक्कै कम महिला र दलितहरूलाई प्राथमिकता दिनाले उनीहरूको संख्या ज्यादै न्युन हुन पुगेको छ। मुलुकमा ठूलो राजनैतिक परिवर्तन आउन थाले पनि प्रमुख दलका नेताहरू आफ्ना पत्नी तथा नातेदारलाई समानुपातिक उम्मेदवारी दिन अझै चुकेका छैनन्।
यस्तै यस्तै विविध कारणले गर्दा यसपल्ट धेरै नयाँ मुहारहरू संसदमा पुग्न सफल भएका छन् भने यिनले राम्रो काम गर्न सकेको खण्डमा आउँदा दिनहरूमा नेपालको राजनैतिक नेतृत्वमा ठुलै परिवर्तन आउने देखिन्छ। हामीले के पनि बिर्सन हुँदैन भने नयाँ पिँढीले मात्र मुलुकलाई सही दिशामा डो¥याउन सक्छन् र पुराना मानिसहरू काम लाग्दैनन् भन्ने विचार शत प्रतिशत सही भने होइन।
विभिन्न मुलुकहरूमा वृद्ध व्यक्तिहरू नेतृत्वमा छँदा पनि मुलुकले ज्यादै धेरै उन्नती गरेको छ। त्यसैले नयाँ, अनुभवी र पुराना सबै प्रकारका व्यक्तिहरू राजनैतिक, प्रशासनिक र अन्य नेतृत्वमा सहभागी भएर मुलुकको विकासमा दृढ भएर लागे भने मुलुकले अवश्य नै ठीक बाटो लिँदै अघि बढ्ने छ।
वि.सं. २०४८-४९ तिर भर्खरै प्रजातन्त्रको पुनर्वहाली हुँदा संसदमा दिनहुँजसो हंगामा मच्चिन्थ्यो। हामीले बिहानको चियाको समयमा यो बारे पिताजीसँग कुरा गर्दा उहाँ वारम्वार भन्ने गर्नुहुन्थ्यो कि ‘हाम्रा सांसदहरू भर्खरै सिक्ने क्रममा छन्।
त्यसैले अहिले नै गाली गर्ने वा उनको गल्ती खुट्याउने बेला भइसकेको छैन। जसरी पौडी सिक्ने क्रममा पौडी पोखरीमा पहिला ३ फिटमा सिकेर बिस्तारै ५,७,८ गर्दै गहिरो पोखरीमा छलाङ लगाउन सकिन्छ, त्यसैगरी यिनीहरूलाई पनि सबै कुरा सिक्न समय लाग्दछ।’
तर हाम्रा सांसद, राजनीतिज्ञ, र राजनैतिक पार्टीहरूले अनुशासनको कुरा सिक्नु त परै जाओस् सधैं नै ३ फिटमा नै रहि रहे। बरु धेरैले चप्पल पड्काएर काँधमा झोला बोकेर हिँडेको विगत बिर्सेर द्रव्य मोहमा चुर्लुम्मै डुबे।
विगतमा जेल नेल सहेर प्राप्त गरेको प्रजातन्त्र निरिह जनताको हित र समृद्धिको निम्ति ल्याएको भन्ने कुरा पनि बिर्से भने आफू र आफ्नै परिवारको ढुकुटी भर्ने तथा गाडी, वंगला र छोराछोरीलाई विदेश पठाउने कुरामा नै सम्पूर्ण समय ज्यादै निर्लज्जताका साथ व्यतित गरे। हुँदा हुँदा संसदबाट नै राष्ट्रघाती प्रस्तावहरू पारित गराउन पनि पछि परेनन्।
शेरबहादुर जस्ता पढेलेखेका लालुप्रसाद र रामचन्द्र तथा माधवकुमार जस्ता मुखमा राम राम, बगलीमा छुराहरूले अब सन्यास लिएकै राम्रो हो। काङ्ग्रेसका पुरानामा शेखर कोइराला र नयाँमा गगन थापा जस्ता पार्टी हाँक्न सक्ने नेताहरूलाई लाखापाखा लगाएर शेरबहादुर मण्डलीले नेतृत्व सम्हालिरहनु भनेको अब यो पुरानो पार्टीलाई भुमरीमा पार्नु जस्तै हुन्छ।
उमेरको हिसाबले ओलीबा र प्रचण्ड पनि उकाली लाग्न थालिसकेका भएता पनि नेपालमा यी दुई जस्ता आँटेमा केही गर्न सक्ने खालका नेताले अब भने केही गरेरै इतिहासमा अलिकति भएपनि नाम लेखाउन सक्नु पर्छ। यो उनीहरूको निम्ति अन्तिम जस्तै अवसर भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा जस्ता धुर्त नेताहरू आन्तरिक चुनावमा पराजित भएपछि पार्टी नै फुटाउने मेलोमा लागे। राजा ज्ञानेन्द्र सत्तामा होउञ्जेलसम्म राजतन्त्रको हिमायती भएका उनले जीवनभर नै अवसरवादी भूमिका नै खेलिरहे र यसपाली जनताले उनलाई आफ्नै साइजमा ल्याइदिए।
बरु राप्रपाका लिङ्देन लगायत नयाँ नेतृत्वले आउँदा दिनमा केही सफा राजनीति गर्ने संकेत दिएका छन्, त्यसैले पनि यसपालीको प्रत्यक्ष निर्वाचनमा राप्रपाले ७ सिट सहित समानुपातिकबाट अझ बढी सिट जित्न सफल भयो। तर ७ मध्ये २ धुर्त र भ्रष्ट सांसदबाट भने उनीहरू सतर्क रहनु नै पर्दछ।
प्रचण्डले गत आमनिर्वाचन अघि नै अबको एक दशकमा आर्थिक विकास र समृद्धिको कार्यमा सबै दलहरू लाग्नु पर्ने कुरा बताएका थिए। टाढा जानै पर्दैन। भारत र चीनलाई नै हेरे पुग्छ।
भारतमा जवाहरलाल नेहरु, इन्दिरा गान्धी र मनमोहन सिंह जस्ता राजनेताले मुलुकलाई समृद्ध र शक्तिशाली बनाउन धेरै काम गरेर इतिहासमा सुनौलो अक्षरले नाम लेखाउन सफल भए भने हालका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ र गराईको लेखाजोखा हुन अझै बाँकी नै छ।
तर पनि लक्षण राम्रै देखिएको छ। उता चीनमा माओको नेतृत्वमा खडा भएको कम्युनिष्ट शासन व्यवस्थामा चाउ एन लाइ, डेङ शियाओ पिङ, जियाङ जेमिन र हालका सी जिन पिङ जस्ता नेताको अहम् भूमिकाले गर्दा चीनले दु्रत विकास र प्रविधिका साथै शक्तिशाली बन्न पनि ठूलो फड्को मार्दै गएको छ।
त्यसैले नेपालमा हाल बनेको सरकारको नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको टोलीले यसपाली मुलुकको आर्थिक विकास, छिमेकीसँगको सम्बन्ध सुधार र दीगो राजनैतिक स्थिरताको क्षेत्रमा केही ठोस काम गर्न सके यी नेताद्वयलाई यस युगका नायक र इतिहासका हिरो हुन सक्ने अवसर थियो, नत्र अरु कोही नै उनीहरूको ठाउँ लिन सफल होलान् आउँदा दिनमा।
राजनीतिमा उचाल्ने र पछार्ने खेल त जहाँ पनि हुन्छ। ओली पनि आफ्नै पार्टीका माधवबाट नराम्ररी पछारिएका थिए भने अहिले माधव जनताबाट र शेरबहादुर ओली र प्रचण्डबाट पछारिन पुगेका छन्। भोलि फेरी को को पछारिने हुन् त्यो समयले नै बताउला।
तर अब प्रकृतिले आजका सबै शिर्ष नेताहरूलाई वृद्ध हुने बाटो पक्रन वाध्य बनाउन थालेको यस घडीमा उनीहरू सबै मिलेर मुलुक र जनताको निम्ति केही राम्रा काम गर्न सके भने विगतका भुलहरूलाई जनताले बिर्सेर उनीहरूको नाम स्वर्ण अक्षरले नै लेखिएला, होइन भने त अबका दिनहरूमा झन् धेरै नयाँ अनुहारहरू नेपालको राजनैतिक रङ्गमञ्चमा आएर आजका अनुभवी र खारिएका भनिएका नेताहरू ओझेलमा पर्दै जानेछन्।
आन्तरिक वा वाह्य हस्तक्षेप वा जे सुकै कारणले गर्दा हालको सरकारले अधिकांश पार्टी र सांसदको समर्थन पाउन सफल भएको भएता पनि यो मेलमिलापलाई कायम राखेर अबको केही समयको लागि सरकार र प्रतिपक्ष मिलेरै विभिन्न अहम् विषयमा राष्ट्रिय सहमति जुटाउने देखि लिएर अडमिल्दा कानुनलाई सच्याएर तथा सबै पक्षको सहभागिता हुने गरी विना कुनै विग्नवाधा मुलुकमा तीव्र गतिमा विकास निर्माण हुने र जनतामा समृद्धिको आभास हुने कार्य गर्न अग्रसर हुनु पर्दछ।
मुलुकको अखण्डता, धार्मिक र सांस्कृतिक सहिष्णुता तथा राष्ट्रियतामा आँच आउने कुनै पनि काम हुन नदिने प्रणालीकै विकास संसदले गर्नु पर्दछ ताकी भविश्यमा यस्ता विषयमा नै जकडिएर संसद, सरकार, जनता र न्यायालयले रुमल्लिइ रहन नपरोस्।
दुई विशाल छिमेकी राष्ट्रहरूलाई विश्वासमा पारेर दुवैको आर्थिक विकासबाट फाइदा उठाउने भन्दा पनि तिनका राजदूत र गुप्तचरी निकायका अधिकृतहरूसँग निकट हुन र तिनका हुकुम सिरोपर गर्न नै अधिकांश नेताहरू लागिपरेका कुरा विगतमा सुन्नमा आउँदा हामीले लिएको बाटो कति सही वा गलत रहेछ भन्ने कुरा सबैले मनन गरेकै हुन्।
भारत र चीनको बीचमा झण्डै १,२०० किलोमिटरको सिमानामा नेपालको अवस्थितिले गर्दा ती दुवै देशले आफ्नो सुरक्षा वजेटमा ठूलो धनराशी बचाउन सकेको तथ्य जगजाहेर हुँदा हुँदै यी दुवै मुलुकलाई विश्वासमा पारेर नेपालको सिमानाबाट यी दुवै मुलुकको सुरक्षामा कुनै पनि प्रकारको आँच आउन सक्ने कार्य हुन नदिने तथा यी दुई देशको व्यापारमा र सम्बन्धमा सुधार ल्याउन पनि नेपालले सहयोगी भूमिका खेल्ने दृढ आश्वासन हामीले दिन सक्नु पर्दछ। साथसाथै भारतसँगको हाम्रो सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धलाई हामीले अझ बढी सुदृढ गर्ने कोशिश गर्नुपर्दछ।
विगतका संसदहरूमा आफ्ना विचार प्रस्तुत गर्ने क्रममा कैयन् सांसदहरूले गैह्रजिम्मेवार कुराहरू बोल्ने गरेका, नेपाली भाषालाई प्राथमिकता दिने नगरेका तथा विरोधको निम्ति विरोधी आवाज मात्र उठाएकामा यस पटक संसदको पहिलो दिन र विश्वासको मतदान गर्ने दिनमा नै सांसदहरू निक्कै संयमित तवरले प्रस्तुत भएका, नेपाली भाषामा भाषण गरेका तथा जिम्मेवारीपुर्ण कुराहरू बोलेका र शिष्ट पहिरनमा देखिएकाले एक प्रकारको सन्तोष जागेको छ।
समय र परिस्थितिले मानिसलाई निक्कै बदल्दै लग्दो रहेछ भन्ने कुराको उदाहरण पनि हो यो। सी.के. राउत जस्ता कुनै समयमा उग्र विचार राख्ने व्यक्तिको रूपमा परिचित नेता आज आएर सांसदको रूपमा ज्यादै भद्र व्यक्तिमा परिणत भएका छन्।
शिक्षा र अनुभव निक्कै धेरै बटुलेका उनले मुलुक विखण्डनको बाटोमा नजाओस्, सबै समुदायले एकअर्काको कदर गर्न सिकोस् र गणतन्त्र आजमात्र आएको नभई नेपालको अति पुरानो इतिहासलाई हेर्दा त्यतिबेला पनि जनताले गणतान्त्रिक प्रणालीमा नै शासन गरेका तथ्यहरू भेटिएको कुरा उनले बताएका थिए। उनको वृहत विषयमा भएको ज्ञानले आउँदा दिनहरूमा सबै सांसदहरू लाभान्वित हुने संकेत देखिएको छ।
नेपालको विकासमा कृषि, जलश्रोत, पर्यटन र वैदेशिक रोजगारीको ठूलो योगदान रहेकोले यिनको विकासमा संसद र सरकारले धेरै काम गर्नु पर्नेछ। जलश्रोतको उपयोग सर्वप्रथम मुलुकभित्र नै गरेर पेट्रोलियम पदार्थको खपत र परनिर्भरता घटाउँदै औद्योगिक विकासमा पनि यसको उपयोग गर्नको निम्ति यसको विकासका लागि आवश्यक ऐन नियमलाई सरल बनाउँदै जानुका साथै जलविद्युतको खपत बढाउने उपायहरू अवलम्वन गर्नु जरुरी छ भने यसको निर्यातको निम्ति भारत, वङ्गलादेश, चीनसँग पनि समन्वय बढाइ नै राख्नु पर्दछ।
त्यस्तै पर्यटन विकासको निम्ति पनि यथेष्ट पुर्वाधार तयार गरेर र भएकाको उचित सम्भार गरेर भारत, चीन तथा अन्य राष्ट्रका पर्यटकलाई आकर्षित गर्ने प्रयासमा जुटी रहनु पर्दछ। कृषिमा विचौलियाको आधिपत्य घटाउन बजारको विकास, उन्नत विउ-विजन र मलखादको व्यवस्था तथा सुलभ ऋण र तालिम तथा भूमि व्यवस्थापनको कार्य गर्न पनि धेरै गृहकार्य गर्नु जरुरी छ।
वैदेशिक रोजगारीलाई नराम्रो व्यवसाय सम्झनु भन्दा पनि यस्तो रोजगारीमा जाने व्यक्तिहरूलाई आवश्यक तालिम दिनुका साथै उनीहरूले विभिन्न प्रकारका दुख झेल्न नपर्ने वातावरण तयार गर्न हाम्रा राजदूतावास, श्रम तथा तालिम सम्बन्धि निकायहरू र वैदेशिक रोजगारीका निकायहरूलाई सक्षम र उत्तरदायी बनाउनुका साथै आवश्यक कानुन बनाएर कार्यान्वयनमा ल्याउनु पर्दछ।
यसको साथसाथै मुलुकको शिक्षा र स्वास्थ्य प्रणालीको दायरा बढाएर भएकाको स्तरोन्नती गर्नुका साथै मुलुकमा वातावरण मैत्री यातायातको पनि तीव्र विकास गर्नु पर्नेछ।
माथि उल्लेखित सबै काम सरकारको मात्र नभइ संसद, सरकार, न्यायालय, प्रशासनिक निकाय र राजनैतिक पार्टीको पनि भएकोले सबैले समन्वयात्मक रूपमा एक साथ हिँडेमा मात्र यो काम सम्भव हुन सक्दछ। यसो गर्न मुलुकमा केही राजनेता र त्यागी तथा मेहनती नेताहरूको जरुरत पर्दछ।
हाल संघीय संसद र प्रदेश सभा तथा स्थानीय निकायमा कति जना यस्ता नेताहरू पुगेका छन् र आउँदा दिनमा उनको भूमिका कस्तो हुन्छ, त्यसमा नै हाम्रो मुलुकको सुख, शान्ति र समृद्धि निर्भर गर्दछ।
लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन्।
Facebook Comment