अमेरिकामा त्यसै हुने हो र सम्बन्ध विच्छेद ?

दक्षिण एसिसाली पुरुषले ध्यान दिनु पर्ने ब्यबहारहरु

सुनिता बस्नेत थापा
३० पुष २०७९ ७:४४

अहिले अमेरिकी समाजमा देखिएको विविध सामाजिक समस्यामध्ये घर फुट्ने समस्या चिन्ताको विषय बनेको कुरा घरदेशदेखि परदेशसम्म चर्चाको विषय बनेको छ। ‘आहा कति सुन्दर घर, परिवार थियो,अमेरिका पुगेर सबै लथालिंग भयो।’

“फलानाको स्वास्नीलाई अमेरिकाको हावा लागेछ।” आदि इत्यादि टिकाटिप्पणी नेपाली एवं दक्षिण एशियाली जमघटमा कानेखुशी गर्ने विषय नै बनेको छ। समाजमा भएका पारपाचुकेका घटनालाई हेर्ने हो भने धेरैजसो सम्बन्ध महिलाहरुको मागमा विच्छेद भएको देखिन्छ त कहिले महिला धेरै स्वच्छन्द भएको सहन नसकी श्रीमानले पारपाचुके दिएको कुरा सुनिन्छ।

डेढ दशकभन्दा बढी अमेरिकाको बसाइको अनुभव एवं मानसिक स्वास्थ्य शिक्षासँगको लगावको आधारमा विशेष गरेर दक्षिण एशियाली समुदायमा श्रीमानहरुको टड्कारै देखिने केही व्यवहारहरु जसले श्रीमतीहरुलाई सम्बन्ध तोड्न या छुट्टिएर बस्नेतर्फ आकर्षित गरेको अड्कल गरिन्छ। समयमा नै त्रुटीहरु सच्च्याउन सकेमा कसैको घरबार टुट्दैन थियो कि भन्ने हेतुले वुंदागत रुपमा केही सुझाव यहकका प्रस्तुत गरेकी छु।

१. अहमता/नियन्त्रणमा लिन खोज्नुः– म लोग्ने हुँ । मलाई मानसम्मान चाहिन्छ। म बाउ हुँ मैले भनेको मान्नु पर्छ भन्ने सबैलाई आफ्नो निर्णय लाद्न खोज्ने, श्रीमती बच्चाबच्चीलाई बोल्न नदिने, बोल्न खोजे अपमान गरेको सम्झिने भन्ने खालको सोचले परिवारको डोरीलाई खुकुलो पारेको देखिन्छ।

अमेरिकाको एक मुल मन्त्र भनेको व्यक्तिगत स्वतन्त्रता र समानता हो। यहाँ आइसकेपछि कोही पनि कसैको अधिनमा बस्न मन गर्दैनन्। आत्मसम्मान खोज्नु मानव स्वभाव नै हो। त्यसैले पुरुषबादी अहमता छोडेर परिवारका सदस्यहरुसँग समानरुपमा मिल्न सकेमा त्यो परिवार सफल हुन्छ। केही बर्षअगाडि एक पाकिस्तानी पुरुषले आफ्नी छोरीले भनेको मानिन भनेर छोरीको हत्या नै गरेको समाचारले समाजलाई नै रुवाएको थियो।

२. माया/प्रेम प्रदर्शनः– अमेरिकन संस्कृतिमा संवेगलाई तुरुन्त प्रस्तुत गर्ने चलन छ। मन पर्नु, माया गर्छु भन्न बर्षौं कुर्नु पर्दैन। प्रेम प्रदर्शन छोएर, अंकमाल गरेर,चुम्वन गरेर या मुखले बोलेर तुरुन्तै देखाइन्छ।

प्रेमी/प्रेमिका या श्रीमान/श्रीमतीलाई परिवार एवं समाजको अगाडि नै माया गर्दा खुशी हुने चलन छ । साथै सानो सानो कुरामा पनि प्रसंसा गरिहाल्ने, सुख/दुखमा साथै बस्ने, मन नपरेको कुरा अगाडि नै भनिहाल्ने चलन छ। जुन कुरा हाम्रो समाजमा पाच्य हुँदैन र संवेग देखाइहाल्ने चलन छैन। जस्तैः अस्पतालमा बच्चालाई जन्म दिँदा बच्चाको बावुलाई प्रशव पीडामा भएकी श्रीमतीसँगै राखेर हौसला दिन लगाइन्छ।

३. बोली/ब्यवहारः– हाम्रो समुदायमा अझै पनि कतिपय पुरुषहरुमा श्रीमतीसँगको वार्तालापमा रवाफ जमाउने प्रवृत्ति देखिन्छ जुन अमेरिका आइसकेकी र सबल भएकी श्रीमतीको लागि पाच्य हुँदैन। कमजोर कुराकानी (poor communication) को कारण पनि संबन्धमा दरार परेको पाइन्छ।

केही महिनाअगाडि एउट मलमा सामानहरु किनमेल गरिरहेकी थिएँ। एक कर्कस स्वरले सबैजसो ग्राहकहरुको ध्यानाकर्षण गरेको थियो। मैले पनि आवाज आएकोतिर हेरेँ। भद्र भलाद्मी लाग्ने खालका अधबैंशै दक्षिण एसियन पुरुष महिलातिर हेरेर के के भनिरहेका थिए।

बर्षौं बैवाहिक जीवन विताएका लोग्ने स्वास्नी पनि यौनका कुरा गर्न हिचकिचाउने गरेको देखिन्छ। दर्जनौ बच्चाहरु पाइसकेका जोडीहरुलाई पनि ‘चरम उत्कर्ष/ orgasm’ को अनुभव गरेका हुँदैनन् भन्ने कुरा रिसर्चमा भेटेकी थिएँ भनेर एक मानसिक स्वास्थ्य शिक्षाकी सहपाठीले भनेको सुन्दा अचम्म लागेको थिएन। यौन विज्ञानको ज्ञान र कुण्ठित चाहनाले पनि दाम्पत्य जीवनमा चिसोपन आउने साथै सम्बन्ध टुट्ने संभावना देखिन्छ।

आँखाले नै खाउँलाजस्तो गरेर चिच्याइरहेका ती पुरुषलाई घर बाहिर छु अलि नम्र स्वरमा श्रीमतीसँग बोल्नु पर्छ भन्नेसम्म पनि हेक्का नरहे जस्तो भान हुन्थ्यो। श्रीमती चाहिँ अपमान र लाजले आँखा झुकाइरहेकी थिइन्।

विदेशी ग्राहकहरु आँखा बटार्दै, ओठ लेप्र्याउँदै खिसी गरेर हिडिरहेका थिए। त्यो घटना म देख्ने मान्छेलाई त कहिलेकाहीं नमिठो बनेर दुख्छ भने ती महिलालाई कति दुखेको होला अनुमान गर्न सक्छु। अनि कसरी उनी पारिवारिक सम्बन्धमा खुशी होलिन र त्यो घर वलियो होला?

४. यौन समानताः– अमेरिकनहरु प्रेम र यौन कृयाकलापमा खुलेर कुरा गर्छन्। स्कुलदेखि नै यौन शिक्षाको बारेमा पढाइ हुन्छ। यौन चाहना र शारीरिक सन्तुष्टि दुबैमा बराबरी हुनु पर्छ भन्ने मान्यता राख्दछन्।

जसकाे कारण महिला यौन शोषण, असन्तुष्टी एवं यौनजन्य मानशिक शारीरिक कुण्ठा कम हुन्छ तर हाम्रो समाजमा यौनको कुरा गर्नु पाप हो भनिन्छ। बर्षौं बैवाहिक जीवन विताएका लोग्ने स्वास्नी पनि यौनका कुरा गर्न हिचकिचाउने गरेको देखिन्छ।

दर्जनौ बच्चाहरु पाइसकेका जोडीहरुलाई पनि ‘चरम उत्कर्ष/ orgasm’ को अनुभव गरेका हुँदैनन् भन्ने कुरा रिसर्चमा भेटेकी थिएँ भनेर एक मानसिक स्वास्थ्य शिक्षाकी सहपाठीले भनेको सुन्दा अचम्म लागेको थिएन। यौन विज्ञानको ज्ञान र कुण्ठित चाहनाले पनि दाम्पत्य जीवनमा चिसोपन आउने साथै सम्बन्ध टुट्ने संभावना देखिन्छ।

५. कामको समानताः– अमेरिकन समाजमा पकाउने, चुलो चौकौ, सरसफाइ, किनमेललाई आधारभुत जीवन यापनकला मानिन्छ। यो कलामा कुनै लिंग विशेष हुंदैन। महिला पुरुष दुबैले आफ्नो आधारभुत काम आफैंले गरेका हुन्छन् तर हाम्रो समुदायमा यी कामहरु महिलाका लागि भनेर छुट्याइएको हुन्छ। अमेकिका

आइसकेपछि रोजगार गर्नु महिला एवं पुरुष दुबैका लागि अति आवश्यक हुन्छ। काम र मेहनतको हिसावले पुरुषले भन्दा महिलाले बढी काम पाउने संभावना हुन्छ। दुबैजना बाहिरको काम गरेर थाकेर आउँदा पनि घरको आधारभुत काम महिलाले मात्र गर्नु पर्दा त्यो संबन्धमा विकर्षण पैदा हुँदै गएको देखिन्छ।

६. सौहार्दताः–  महिलाहरु प्रति विशेष सम्मान देखाउनु, महिलाहरुको लागि गाडीको ढोका खोलिदिने, खान गएको ठाउँमा मेच सारिदिने, किनमेल गरेको सामान बोक्ने अमेरिकी संस्कृतिको इतिहास नै छ।

श्रीमान/श्रीमती या जो कोही पनि हिँड्दा पाइलामा पाइला मिलाएर हिँड्ने चलन छ। तर हाम्रो समुदायमा पुरुष सधैं २/४ कदम अगाडि हिँड्ने, जमघटमा पुरुष/पुरुष गफ्फिने महिला चुलो चौको गर्ने गरेको देखिन्छ। जस्ले गर्दा महिलाहरुले आफ्नो सम्बन्धमा विशेष सौहार्दता नपाएको अनुभव गर्न सक्छन्।

एक प्रसंगमा मेरी ७३ वर्षिया मेक्सिकन सहकर्मीले मलाइ गुनासो गर्दै भनेकी थिइन्। उनी ७५ बर्षीय इन्डियन श्रीमानसँग भोजमा गएकी थिइन्। उनको श्रीमान् उनीभन्दा केही कदम अगाडि हिँडेका थिए जसले गर्दा उनलाई त्यो पार्टीमा नै जान मन लागेन र लुकिदिइन्।

हेर्दा सामान्य लागे पनि यस्ता खालका कृयाकलापले अमेरिकामा दक्षिण एशियन समुदायमा परिवार टुक्रिन धैरै प्रभाव पारेको देखन्छ। कसैको पनि घर फुट्नु व्यक्तिगत, सामाजिक, सांस्कृतिक एवं आर्थिकरुपमा राम्रो होइन। आफ्ना साना र सामान्य लाग्ने वानिव्यहोरा र त्रुटीलाई सच्याउने हो भने घर परिवार उजाडिनबाट बच्न सकिन्छ।

( लेखिका नर्स एवं साहित्यकार हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *