ती प्रचण्ड, यी पुष्पकमल

प्रचण्डको पुष्पकमलमा राजनीतिक पदार्पण

शरद रिजाल
६ माघ २०७९ ७:३८

काठमाडौं। नेपालको राजनीतिमा प्रचण्डको उपनामले परिचित हालका प्रधानमन्त्री पुष्पकमल दाहाल कुनै समय विद्रोही नेताको परिचय बनाएका थिए।

संसदीय ब्यबस्थाविरुद्ध ‘जनयुद्ध’ थालनी गरेका उनलाई सोही समयमा प्रचण्ड उपनामले बढी चिनिन्थ्यो। यद्यपि आजपर्यन्त उनको सोही नामनै चर्चित छ। कुनै समय नेपालमा ‘प्रचण्ड’ र उनको नामलाई नै विद्रोहको बिम्बको रुपमा लिइन्थ्यो।

२०६२/६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा आएका प्रचण्डको रापताप नै बेग्लै थियो। उनको हुँकारले सारा देश नै थर्कमान हुने अवस्था थियो। उनले देशब्यापी आम जनमानसमा आशाको किरण पैदा गरेका थिए।

तर, समयक्रममा त्यो उनको ओज कायम रहन सकेन। यद्यपि उनी आज देशको कार्यकारी प्रधानमन्त्री छन्। तथापि उनको विगतको ओजपूर्ण ब्यक्तित्व आजसम्म आउँदा निकै क्षयिकरण भइसकेको छ।

विगतको तुलनामा हाल सरकारकै नेतृत्व गरेको अवस्थामा समेत उनी निकै निरीह देखिन्छन्। विगतमा उनको उर्जाशिल अभिब्यक्ति र चमत्कारिक ब्यक्तित्व विस्तारै धुमिल बन्दै गएको छ। उनको प्रचण्ड नाममा रहेको ओज, रापताप आज क्रमश स्खलित हुँदै गएको प्रतित हुन्छ।

शान्ति प्रक्रियामा आउँदै गर्दा पहिलो टेलिभिजन अन्तर्वातामा उनको ‘प्रचण्ड’ नामको विषयमा गरिएको कुराकानीमा उनले नामको औचित्य एउटा परिवेशमा सान्दर्भिक हुने र त्यसपछि फरक सन्दर्भमा स्वतःसकिने बताएका थिए।

उनको उक्त नामजस्तै विद्रोही कमाण्डर बनेका प्रचण्डले शान्तिपूर्ण राजनीतिमा आउँदै गर्दा पत्रकार विजयकुमार पाण्डेलाई दिएको अन्तवार्तामा उनले परिस्थिति अनुसार नामको उपादेयता कायम रहने बताएका थिए।

उनले जीवनका विभिन्न चरणमा अनेकौ नामले परिचित भएको समेत उक्त अन्तर्वातामा बताएका छन्। त्यतिबेला विद्रोही नेता रहेका उनले देशमा शान्ति र राजनीतिक स्थायीत्व कायम भए नयाँ परिवर्तित नाम कायम हुन सक्ने या पूर्ववत नामबाटै परिचित हुने अवस्था आउने उक्त अन्तर्वार्तामा किटानका साथ  औंल्याएका छन्।

हेर्नुहोस् भिडियो 

(भिडियाे स्राेत दिशानिर्देश कार्यक्रम)

उनको नाम त्यसबखत सान्दर्भिक समेत थियो। दशवर्षे जनयुद्धको शान्तिपूर्ण अवतरण गरेका उनको नामको सान्दर्भिकता समयक्रममा विस्तारै हराउँदै गएको देखिन्छ।

एकातिर पार्टीको नाम माओवादी राखेका उनले आफ्नो र पार्टी यी दुबैको बीचमा तादाम्यता वर्तमान अवस्थामा नमिलेको जस्तो देखिन्छ। दुबै नामको सान्दर्भिकता हराएको प्रतित हुन्छ।

संसदीय ब्यवस्थालाई निस्तेज गर्ने चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको आदर्श अनुरुप पार्टीको नाम राखेका उनले संसदीय राजनीतिमा सबैभन्दा उत्कृष्ट खेलाडी बन्न उद्धत रहेको देखिन्छ। यसर्थ पनि उनको पार्टीको नाम र अंगीकार गरेको राजनीतिक ब्यवस्थाबीच सन्तुलन नमिलेको स्पष्ट देखिन्छ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले चीनमा जनवादी ब्यवस्था प्राप्तिका लागि दीर्घकालीन जनयुद्ध गरेका थिए। उनले तत्कालीन समयमा दीर्घकालीन जनयुद्धमार्फत चीनमा नयाँ जनवादी राज्यव्यबस्था कायम गर्न सफल भएका थिए।

सोही आदर्शलाई पछ्याउँदै नेपालमा त्यसको अनुशरण गरेका प्रचण्ड अन्तत संसदीय राजनीतिमा पर्दापण गरिसकेपछि नामको उपादेयता क्रमश ह्रास हुँदै औचित्य सकिँदै गएको अनुभूत हुन्छ।

नेपालमा दश वर्षको शशस्त्र संघर्षपछि शान्तिपूर्ण राजनीतिमा प्रचण्डको आगमन भयो। उनको आगमन सँगै बितेको १६ वर्षमा संसदीय ब्यवस्थाको सबैभन्दा चतुर खेलाडीका रुपमा आफूलाई स्थापित गरिसकेका छन्।

उनको पार्टी २०६४ यताका एकाध सरकारबाहेक अधिकांशमा सामेल छ। सरकारकै नेतृत्व माओवादी आफैंले चारपटक गरिसकेको छ। माओवादी पूर्णतया वर्तमान संसदीय ब्यबस्थाभित्र थप नयाँ दलकोे रुपमा आफूलाई अभ्यस्त गराउँदै लगेको लामो समयदेखिका उनका क्रियाकलापले जनाएको छ।

केही समय अगाडि राष्ट्रिय सभाका सांसद रहेका कांग्रेस नेता जितेन्द्र देवले सदनमा आफूहरु प्रचण्डलाई प्रचण्ड बनाउन चाहेको तर उनलाई कसैले पुष्पकमल बनाउने प्रयत्न गरिएको अभिब्यक्ति दिएका थिए। उनले राष्ट्रिय सभाको रोष्ट्रमबाटै प्रचण्ड भनेको परिवर्तन र उपलब्धिको बिम्ब भएको बताउँदै प्रचण्ड नै कायम रहन उनलाई सचेत गराएका थिए।

पछिल्लो तेस्रोपटक सरकारको नेतृत्व गरेका प्रचण्ड कुनै समय जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर रहेको अवस्थामा फौजी पोशाकमा देखिने उनी दौरा सुरुवालमा शपथ लिन पुगेका छन्। यो नै उनको प्रचण्डबाट पुष्पकमलमा पुनरागमनको ज्वलन्त द्योतक हो।

देशमा राजतन्त्रविरुद्ध आन्दोलनको नेतृत्व गरेका प्रचण्ड पृथ्वी जयन्तीको अवसरमा बिदा दिने निर्णय आफ्नै सरकार भएको बेला गर्न पुगे। तर, आफैंले नेतृत्व गर्दै जनयुद्धको शंखघोष गरेको दिन फागुन १ गतेलाई सामान्य औपचारिकताका लागि मात्रै केन्द्रीय कार्यालयमा मनाइने गरिएको छ।

कुनै समय हर्सोल्लासपूर्वक मनाइने माओवादी शशस्त्र संघर्ष सुरु गरिएको दिन ‘जनयुद्ध दिवस’लाई आजभोलि सामान्य औपचारिकता मात्रै दिइनुले समेत उनी विस्तारै प्रचण्डबाट पुष्पकमलकै पूर्ववत अवस्थामा फर्किएको देखिन्छ।

त्यसोत राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापना पक्षधर राप्रपा उनको सत्तासाझेदार दल बनेकाले सत्ता सहकार्य अघि बढाउने बाध्यात्मक परिस्थितिले उनलाई पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने अवस्थामा पुर्याएको बताइन्छ।

पछिल्लो समय चुनावी क्षेत्र परिवर्तन गरि गोरखा पुगेका उनले चुनावी प्रचारका क्रममा पृथ्वीनारायण शाहको युद्धकौशलताबाट आफू प्रभावित भएको बताएका थिए।

उनले आफ्नो नेतृत्वमा सुरु गरेको शशस्त्र संघर्षमा पृथ्वीनरायण शाहको युद्ध कौशलताबाट प्रभावित रहेको र त्यसले थप उर्जा दिएको बताएका थिए।
उसोत उनीमा प्रचण्डबाट स्खलित भएर पुष्पकमलमकै चरित्रमा फर्किएको आँकलन माओवादीको चर्चित चुनवाङ बैठकबाट भएको बताइन्छ।

सशस्त्र संघर्षमार्फत जनवादी राज्यब्यबस्था प्रापित गर्ने उद्घोषका साथ जनयुद्ध सुरु गरेको माओवादी २०६२ सालमा रुकुमको चुनवाङमा भएको उक्त बैठकबाटै माओवादीले शान्तिपूर्ण प्रतिस्पर्धालाई स्वीकार गर्दै लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गरेको थियो।

तत्पश्चात उसले तत्कालीन संसदवाादी पार्टीहरुसँग लोकतान्त्रिक व्यवस्था स्वीकार गरी बाह्र बुँदे समझदारीमार्फत राजाविरुद्ध संयुक्त आन्दोलनमा सरिक भएर हालको ब्यवस्थामा सामेल भएको हो।

२०६४ यता निरन्तर नाम विपरीतको काम, राजनीतिक रुपमा समेत पहिलेकै अवस्थामा

कुनै समय यीनै प्रचण्डलाई पार्टीमा ‘विश्वास’ उपनामले समेत चिनिन्थ्यो। पञ्चायतकालीन भूमिगत अवस्थामा पार्टीमा विश्वास उपनामले उनलाई चिन्ने गरिन्थ्यो। पछि सशस्त्रयुद्धको समयमा समेत परिवेश अनुरुप पार्टीभित्र विश्वासको नामले संबोधन गर्ने गरिएको बताइन्छ।

नेपालको हालको राजनीतिमा अविश्वसनीय तवरले सत्ता स्वार्थ अनुरुप कदम चाल्ने नेताको उपमा उनले पाएका छन्। अप्रत्याशित रुपमा पौष १० गते ‘प्रतिगामी’को आक्षेप लगाएका एमाले अध्यक्ष केपी शर्मा ओलीकै दैलो चहार्न पुगे। यसले उनको कुनै समय राखिएको नाम विश्वासकोसमेत विपरीत अविश्वसनीय कदम तय गर्ने नेताको मानक बनाएका छन्।

प्रचण्डका उपनामले चिनिने प्रचण्डको काम भने नामको विपरीत रहेको छ। उनले आफूलाई विद्रोहकालीन ओज कायम गर्न नसकेको तथ्य कतिपय सन्दर्भमा आफैले सार्वजनिक रुपमा बताउने गरेका छन्।

पछिल्लो समय एकाएक गठबन्धन तोडेर एमालेसँग सत्ता साझोरी गरेर सरकारको नेतृत्व गरेका उनले उक्त गठबन्धनलाई कहाँसम्म लैजान्छन यकिन छैन। सदैब सत्ता राजनीतिको जोड घटाउमा जता पनि मिल्न सक्ने नयाँ विम्ब उनको नामले कायम गरेको छ।

अघिल्लो २०७४ को निर्वाचनमा कांग्रेससँग सत्ता सहकार्य गरेको माओवादी एकाएक कित्ता परिवर्तन गर्दै एमालेसँग चुनावी तालमेल गर्न पुगेको थियो। त्यस अगाडिको स्थानीय निर्वाचनमा कांग्रेससँग तालमेल गरेका उनले संघ र प्रदेशको निर्वाचनमा एमालेसँग साँठगाँठ गर्न पुगे।

माओवादी युद्धकालमा संसदीय राजनीति सबैभन्दा विकृत भएको भन्दै विकल्प खोजेका उनी अहिले सोही राजनीतिबाट प्रधानमन्त्री बन्न अभिशप्त रहेको घटनाक्रमले दर्शाउँछ।

पछिल्लो समय प्रचण्ड नाम अस्थिरताको प्रतीक जस्तै बन्न पुगेको छ। कुनै समय उनको नाम र कामले सारा मानिसमा आशाको सञ्चार हुने अवस्था थियो। तर, पछिल्लो समय उनको नाम अस्थिरताको द्योतक साबित भएको छ।

आफ्नो अडानमा कायम रहन नसक्ने नेताको छवी बनाएका उनको कुनै समय छवीलाल नै नाम थियो। आफ्नो नामजस्तै निरन्तर नाम परिवर्तित उनको पार्टी पनि पुरानै अवस्थामा पुगेको छ।

२०४८ सालसम्म संसदीय दलमध्यै तेस्रो शक्तिको रुपमा रहेको उनको पार्टी एकताकेन्द्रको चुनावी मोर्चा संयुक्त जनमोर्चा नौ सिटसहित संसदमा थियो।
२०५२ सालबाट जनयुद्ध सुरु गरेका उनको पार्टीको अवस्थासमेत पूर्ववत अवस्थामै पुगेको छ।

२०५ निर्वाचन क्षेत्र हुँदा देशभरबाट नौ सिट जितेको तत्कालीन संयुक्त जनमोर्चाको आजको स्वरुपमा रहेको माओवादी १६५ निर्वाचन क्षेत्र हुँदा प्रत्यक्षतर्फ १८ सिटमा सीमित भएको छ।

यहाँनेर स्मरणीय के छ भने हिजो २०४८ सालको तत्कालीन अवस्थामा अहिले जस्तै राजनीतिक चलखेल गर्ने अवस्था थिएन। त्यसबेलाको निर्वाचन प्रणालीले गर्दा आजको जस्तो सत्ता सरकार बनाउन संसदका साना दलको आवश्यकता नपर्ने हुँदा उसको भूमिका निर्णायक थिएन।

अहिलेको विद्यमान निर्वाचन प्रणालीले कुनै एक दलको स्पष्ट बहुमत आउने अवस्था नहुँदा अहिलेको सत्ता राजनीतिमा उसको भूमिका निर्णायक देखिएको छ। त्यसैले तेस्रो दल हुँदासमेत सरकारको नेतृत्व पटकपटक गर्ने अवसर पाएको छ ।

यद्यपि राजनीतिमा रुपान्तरण अत्यावश्यकीय प्रक्रिया हो। त्यो समय परिस्थिति र परिवेशले निर्धारण गर्ने गर्दछ। तर, त्यसको तादाम्यता मिलाउन प्रचण्ड चुकेको देखिन्छ।

उनले बदलिदो परिवेश अनुरुप आफूलाई रुपान्तरित गर्दै नाम अनुरुपको काम गर्न उद्धत हुनुपर्ने छ। विगतको गर्विलो इतिहासकै उपादेयता पुष्टि गर्न वर्तमान अवस्थामा उनको सामु पार्टीको र आफ्नै नामले गम्भीर चुनौती खडा गरेको छ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *