अर्घाखाँची महोत्सवलाई सवैको साझा मेला बनाउने प्रतिवद्धता
अर्घाखाँची । यही माघ ११ गतेदेखि सदरमुकाम सन्धिखर्कमा संचालन हुने अर्घाखाँची महोत्सवलाई सवैको साझा उत्सवको रुपमा साझा मेला बनाउनुपर्नेमा अर्घाखाँची जिल्लाका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।
अर्घाखाँची महोत्सव मूल आयोजक समितिले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको सल्लाहकार समिति तथा मूल आयोजक समितिको बैठकमा सहभागीहरुले सिंगो अर्घाखाँची जिल्लाले अपनत्व महशुश गर्नेगरी मेला संचालनको माहौल बनाउन आग्रह गरेका हुन् ।
अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको गच्छेघाट सम्म पुग्ने बाटो निर्माण मुख्य लक्ष्य लिएको मेलाको विषयमा छलफलको लागि चलेको बैठकमा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधी, कार्यालय तथा संघ संस्थाका प्रतिनिधीहरुले मेला सफल बनाउनका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा संचालन हुने महोत्सवमा जिल्लामा उत्पादित कृषि तथा औद्योगिक सामग्रीहरुको प्रदर्शनीसमेत गरिने अर्घाखाँची चेम्वर अफ कमर्सका अध्यक्ष एवं मूल आयोजक समितिका सहसंयोजक अशोक कुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमसख जविनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ लगायतले सवैको साझा महोत्सव बनाउनका लागि आफूहरुको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम उद्योग वाणिज्य संघका महासचिव तुल्सीराम खनालको संचालन र अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्षसमेत रहेका पाचौं अर्घाखाँची महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।
Facebook Comment