शासन ब्यवस्थाविरुद्ध प्रेमप्रसाद आचार्यको ‘दुस्साहसपूर्ण विद्रोह’

शरद रिजाल
१२ माघ २०७९ ८:०४

काठमाडौं। मंगलबार संसद भवन अगाडि इलाम निवासी ३७ वर्षीय युवा प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रल छर्किएर आत्मदाहको प्रयास गरेको दृश्यले सबैलाई भावविह्वल बनाएको छ।

शरीरमा पेट्रोल छर्केर आफैले आफैंलाई जलाएका उनको उपचारको क्रममा बुधबार विहान कीर्तिपुरको बर्न सेन्टरमा निधन भयो। उनको निधनले नेपाली राजनीतिका निर्णायक तहमा रहेकालाई नागरिकप्रति राज्यको उत्तरदायित्वबारे गहन प्रश्न तेस्र्याएको छ।

आत्महत्या आफैंमा गलत र निन्दनीय कार्य हो। उनको यस गलत कदममा कदापी सहमत हुन सकिँदैन। तर उनले उठाएका ज्वलन्त विषयहरु भने नेपाली समाजमा आम युवाले भोगेका वास्तविक प्रतिबिम्व हुन्।

आत्महत्यालाई किमार्थ सहि मान्न सकिँदैन तर सिर्जित बाध्यात्मक अवस्थालाई पहिल्याउदा वर्तमान राज्य व्यवस्थाकै असफलता उनको मृत्युको कारक बनेको यथार्थ कतै छिपेको छैन।

उनको निर्णय नितान्त क्षणिक आवेग मात्रै नभएर सामाजिक सञ्जालमा लेखिएको ‘सुसाइड नोट’मा वर्तमान व्यवस्थाबाट एक युवा कसरी प्रताडित रहेछ भन्ने सचित्र वर्णन गरेको छ। यस घटनाले आम नेपाली र विशेष गरी युवाजनमा गहिरो शोक परेको छ।

देशमै उद्यमी बन्ने प्रयत्न गर्दा भोगेका पीडा, सम्बद्ध निकायबाट पाएका असहयोग, निराशा र राज्यको नागरिकप्रतिको गैरजिम्मेवारपन उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमा उक्त गलत कार्यलाई क्रान्तिको संज्ञा दिँदै आफूले विकल्पहीन अन्तिम यात्रा मृत्यु तय गरेको बताएका छन्। एक नागरिक देशभित्रै कसरी अनागरिक बन्नुपरेको पीडा ,बेदनार अभावको फेहरिस्त लामै छ। त्यसकै कारण आफू यस्तो कष्टप्रद मृत्युवरण गर्दै यसलाई राज्यसत्ताविरुद्ध क्रान्ति गरेको बताएका छन्। उनको यस प्रकारको विद्रोह दुस्साहसपूर्ण नै हो।

राज्यको दायित्व पछिल्लो समय नागरिकलाई नागरिकता र पासपोर्ट वितरण गर्ने कम्पनिको रुपमा परिणत भएको देखिन्छ। यहा न त कुनै रोजगारीका अवसर प्रदान गरिन्छ नत उद्यम गर्नेलाई प्रश्रय दिइन्छ।

यहाँ हरेक संभावना बोकेका युवाहरुलाई पलायन हुन बाध्य पार्ने वर्तमान राज्यसंयन्त्र ब्याप्त छ। लाभलिने सिमित वर्ग यहा दलीय नेता कार्यकर्ता बाहेक अन्यलाई राज्यको अनुभूत गर्ने अवस्था रहेन।

यसैको कोपभाजनमा परेको उनले ब्यक्त गरेका आत्मदाह गर्नुपूर्व लेखिएका लामै फेहरिस्तले चित्रित गरेको छ। राज्यका हरेक सेवाप्रवाहमा सिण्डिकेट कायम गरिएको छ। कुनै दल विशेषको कार्यकर्ता बन्न बाध्य पारिएको छ। अन्यथा ती सेवाप्रवाहमा उसको पहुँच पुग्दैन।

हरेक सेवाप्रदायक क्षेत्र राजनीतिक रङले अभिशप्त छ। जहाँ सर्वसाधारणले सेवा भन्दा पनि कष्ट ब्यहोर्नुपर्दछ। यी र यस्तै प्रवृत्तिको चपेटामा परेका आचार्यले आफूलाई सम्हाल्न सकेनन् कष्टप्रद मृत्युको बाटो रोज्न पुगे।

यो उनको निधनसँग मात्रै जोडिएको विषय रहेन किनभने उनले उठाएका प्रश्न र भोगेका पीडा आम नेपाली युवाले भोग्दै आएको तितो यथार्थ हो।
देशमा अनेकौं पटक व्यवस्था बदलिए तर जनताको जीवनस्तर झनै खस्कदो क्रममा छ। दिनानुदिन विदेशिने क्रम बढ्दो छ।

विदेशिएका युवाहरुको रेमिटान्स नै देशको आर्थिक आर्जनको प्रमुख माध्यम बनेको छ। विदेशबाट रेमिटान्समात्रै भित्रिदैन हरेक दिन परदेशिएकाहरुको सपना लाशमा परिणत भएर आउने विडम्बनापूर्ण यथार्थ सबैका सामु जगजाहेर छ।

रेमिटान्सले चलेको देशमा रेमिटान्स भित्राउनेहरुको जीवनको कुनै मूल्य नरहेको नजिकैबाटै उनले नियालेका थिए। वैदेशिक रोजगारीको पीडा नियालेका उनले सायद अरु विकल्प देखेनन्। र अन्तिममा अप्रिय निर्णय लिन पुगे।

देशमा एक युवाले उद्यम गर्न खोज्दा कसरी चौतर्फी घेराबन्दीमा पारेर निरीह बनाइदोरहेछ भन्ने उनले फेसबुकमा लेखेका अन्तिम शब्द बाणहरुले यहाका प्रश्न गरिरहेका छन्।

उनको यस विद्रोहलाई फगत मृत्युमात्रै देख्नेहरुले हेक्का राख्नुपर्छ, एक उद्यमी बन्न उद्धत युवा कसरी मृत्यु रोज्न पुग्छ? नेपालमा युवाहरुको अवस्था कति दर्दनाक रहेछ।

मानिस जब आफ्ना सबै विकल्पहरुलाई विकल्पहीन देख्छ तब यस्तो दुस्साहसपूर्ण निर्णय लिन बाध्य भएको यथार्थतालाई नकार्न सकिँदैन। मानिसका जिवन्यापनका सबै विकल्पहरु बन्द भएको अवस्थामा ‘गर या मर’को अवस्थामा नै उनले यस्तो अप्रिय निर्णय लिन पुगेको उनका सामाजिक सञ्जालमा अभिब्यक्त उनको अन्तिम आत्मालापबाट प्रष्ट हुन्छ।

उनको मृत्युसँगै वर्तमान सत्ता सञ्चालकहरुमाथि उनले गम्भीर प्रश्न उठाएका छन्। ती प्रश्नको जवाफ राज्य सञ्चालकहरुले कुनै दिन सबैका सामु उजागर गर्नुपर्ने छ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ। उनको मृत्युको कारण यही व्यवस्थाकै उपज भएको स्वयम सरकारका गृहमन्त्री रवि लामिछानेले स्वीकारोक्ति गरिसकेका छन्।

उनले आचार्यको परिवाजनसँग भेट गरी आफूले समेत आशातित बनाउन नसकेको प्रति परिवारसँग क्षमा समेत मागेका छन्। देशका विद्यमान बेथितिसँगै साक्षात्कार भएरै राजनीतिमा आएको उनले बताएका छन्।

सरकारको प्रत्याभूती दिलाउन राजनीतिमा आएको बताउँदै फगत नयाँ थपिन मात्रै नआएको उनको प्रष्टोक्ति छ। आगामी कार्यकालमा त्यसको पुष्टि उनले गर्लान् नै।

तर,हालसम्म देशमा भएका अनेकौं राजनीतिक परिवर्तनले पात्रहरुमा बदलाव आयो तर प्रवृत्ति उही पुरानै दोहोरिह्यो। राजनीतिक परिवर्तनले सिमित मानिसहरुलाई राज्यको मूलप्रवाहमा ल्यायो तर जनताको जीवनस्तरमा कुनै फेरबदल आएन।

अहिलेको राजनीतिक परिवर्तनका हकदार ठान्ने दल र तीनका नेताको अदृश्य साधनस्रोतमा पहुँच बढ्दै जाने आम सर्वसाधारणको जीवन ब्याप्त महंगी, कालाबजारी, बेरोजगारीले आक्रान्त हुने अवस्थाको अन्त्य नभएसम्म देश विदेशमा नेपाली युवाहरुले दुखद् मृत्युवरण गर्ने अवस्थाको अन्त्य हुनेमा आशंका कायमै छ।

राज्यले नेपाली युवाहरुमा जीवनप्रति आशावादी हुने अवस्था कायम गराओस भन्ने अपेक्षासहित मृतक प्रेमप्रसादप्रति हार्दिक श्रद्धाञ्जली! परिवारजनमा गहिरो समबेदना!!

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *