नियात्रा : फ्रेन्च संस्कृतिको सहरमा मिसिसिपीको सयर
मोबाइल घडीले अमेरिकी रातको बाह्र नघाएको छ। याने नोबेम्बर १६ ले बिट मारिसकेको छ। र, १७ सुरु भइसकेको छ। मेरा आँखामा भने निद छैन। मेरो डुलुवा मन टन्डेली मारिरहन्छ। बिहानैको चार बजे उठेर यात्रा गर्नु छ। तर उफ! निद्रा।
चार बजे बिहान उठ्ने भनेपछि शरीर त ओछ्यानमा लडेको छ। तर मन र दिमाग नानातरहका तन्द्राले सुत्नै मानेको छैन। कल्पनाको आँखामा न्युअर्लियन्सको तस्बिर नाचिरहेको छ।
खासमा मेरी छोरी मनुको २०२२ को नोबेम्बर १८ देखि २१ सम्म कन्फ्रेन्स छ लुइजियानाको न्युअर्लियन्समा। ८ घन्टाको गाडीदूरी भएकाले मौकामा चौका हानेका हौँ हामीले पनि।
मोबाइलको एलार्मका खबरदारीले जसोतसो बिहानैको चार बजे यात्राका लागि तयार भएको छु। गाडीको स्टेयरिङमा ज्वाइँ जयराम भण्डारी, छेउमा म। पछाडि मेरी अर्धाङ्गिनी सुशा, छोरी मनु तथा नातिनी माइरा। गाडी बत्तिएको छ।
तर अचम्म के छ भने अमेरिकामा आफ्नै गाडीमा सरर सयर गर्दा जहिले पनि म बोलेरो जीपमा बेँसीसहरदेखि लगभग ६५ किमी बाटोलाई दिनभरिको यात्रा गरेर मनाङ गएको सम्झन्छु। बेँसीसहरबाट मनाङमुहाँको त्यो प्राकृतिक इरोटिक एडभेन्चर त कहाँ पाउनु?
गाडी चढ्नेबित्तिकै म अनिदो भुसुक्क निदाएँ छु। करिब ३ घन्टाको बाटो कटेपछि ह्युस्टनमा बिउँझिएको छु। हाम्रो गाडी आई टेनमा बतास झैँ दगुरिरहेको छ। मलाई थाहा छ, अमेरिकालाई उत्तरदेखि दक्षिणसम्म र पश्चिमदेखि पूर्वसम्म अन्तरराज्य सडकले सिन्काले खाने काँक्राका चानाजस्तै चरचरी चिरेको छ।
अमेरिकामा यस्ता सडकको नाम अङ्कमा राखिएको छ। उत्तरदक्षिण तानिएको सडकलाई ५, १५, २५ …. ९५ बिजोर अङ्कमा नामकरण गरिएको छ भने पूर्वपश्चिम सडकलाई १०, २०, ३०, ……. जस्ता जोर अङ्कमा नामकरण गरिएको छ। हो त्यसैले हामी आइ टेन हाई वे याने अमेरिकाको दक्षिणतिरको पुछारको हाई वेबाट पूर्वतर्फ घुइँकिँदैछौँ।
लघुशंका तथा दीर्घशंका निवारण हेतु बाटैको छेउमा बनाइएको रेस्ट एरिया प्रवेश गरेका छौँ। शरद ऋतु सकिएको छ। हिउँद लाग्ने सङ्केत गरिरहेका छन् बाटा तथा रेस्ट एरियाका रुखहरूले। ती पहेँला राता देखिन थालेका छन्।
हामी देख्तै छौँ कि एउटा ठूलो महलजस्तो घरमा छ त्यो रेस्ट एरिया। शंका निवारण मात्र होइन, भित्रै खानेपिनेका यान्त्रिक दोकान पनि पो छन् त।
यही बेला मैले अलि पहिले आफैँले बनाएको घरभित्रको शौचालयलाई सम्झेको छु। घरभित्र शौचालय बनायो भनेर छिमेकी, आफन्त तथा शुभचिन्तकका बिनापैसाको सल्लाह तथा खप्की खाएको सम्झना आइरहेको छ मलाई।
म आफैँ बाँचेको सरदर चेतको सम्झना आइरहेको छ। त्यसैले सिंहदरबारलाई आगोले खानुभन्दा पहिले १४०० कोठाहरू थिए तर शौचालय थिएन भनेर पढेको सम्झना पनि आएको छ।
हामी रेस्ट एरिया याने शौचालयघरभित्र पस्तै छौँ। त्यो रेस्टघरतिर पस्ता सबभन्दा पहिले टेबुलकुर्सी राखिएको ठूलो बैठक देखिँदैछ। बाहिर बिछट्ट जाडो र स्याँठबाट भित्र पसेको हुनाले भित्र पस्दा वातावरणअनुकूलित पद्धतिलाई आफ्नै शरीरले गुनिलो मानेको छ।
बैठकको एउटा छेउमा त्यो भेगको इतिहास बताइरहेको छ एउटा ठूलो स्क्रिनले। अमेरिकी स्वतन्त्रता सङ्ग्राममा सैनिक भएर महत्त्वपूर्ण भूमिका खेलेका भेटरानहरूको निकै सम्मान गरिरहेको दृश्य देखाउँदै छ।
यसैगरी भित्ताभरि टेक्सस रिपब्लिकको इतिहासको सन्दर्भ, मेक्सिकोसँगको युद्धका बारेमा ससाना बोर्डमा लेखौट र चित्र समावेश गरिएको देखिएको छ।
इतिहासका क्रममा कुनै बेला यो क्षेत्रमा रहेका गाईपालकको इतिहास पनि देखाइँदै छ। शासकदेखि रङ्कसम्मका इतिहास संरक्षणमा निकै चासो लिएको जस्तो लागेको छ।
यो बेला मेरा दिमागमा नेपाल निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने सैनिक तथा गैरसैनिक योद्धाहरूको सम्झना आएको छ।
तर ती सामान्य सैनिक तथा गैरसैनिकको इतिहासको त कुरै छोडौँ नेपाल देश निर्माणको नेतृत्व गर्ने पृथ्वीनारायण शाहको इतिहासको त उछित्तो काढ्छन् नेपालमा। स्मारक त उधिनेर लडाउँछन्। अचम्म लागिरहेको छ मलाई। खोइ किन कृतघ्न हुँदै गएको हो कुन्नि मेरो देश!
हेर्दाहेर्दै स्याबिन नदीमा पुल आएको छ। यो पुलले टेक्सस राज्य र लुइजियाना राज्यलाई छुट्याएको छ। आई टेनको बाटोले टेक्सस छोडेर लुइजियाना राज्यको भूमिमा प्रवेश गरेको छ। लुइजियाना राज्यमा प्रवेश गर्नेबित्तिकै चाल्र्स लेकले हामीलाई स्वागत गरेको छ।
लफायत, बेटन रुज पार गर्दै हामी न्युअर्लियन्स पुगेका छौँ। तर दिमागमा अमिट छाप छोडेको छ आई टेनका सयौँ मिल दुरीका टाँडे बाटोले। याने कि पुलसडकले। बस्तीविहीन पूरापूर जङ्गल, थलथले भूर्इँ, पानीका दह तथा त्यो टाँडे बाटोले।
र, त्यसकै प्याराललमा बनाइएको रेलमार्गको दृश्यले पनि आश्चर्य पस्किरहेका छन्। उफ कसरी बनाए होलान् यो बाटो! मिलौँमिलसम्म शतप्रतिशत सरल रेखीय बाटोले मन त तान्ने नै भयो।
प्रकृतिको संरक्षण गर्दै मानव सभ्यताले जितेको त्यो बाटो वर्तमान युगको आवश्यकता ‘मान्छे र प्रकृति’ को समान अस्तित्वको संरक्षण गर्ने सिद्धान्तमा टिकेको जस्तो लागेको छ। खोला कटानलाई कत्ति पनि साँघुर्याइएको छैन। बरु पुल नै लामो बनाइएको छ।
धन्य हो त्यो १०० वर्षअगाडिको इन्जिनियरिङ पनि। यही बेला म नेपालका खोलाखोल्सी मिचेर घर बनाउने नवधनाढ्यका सोचलाई सम्झिरहेको छु। र, तिनका सोचलाई कठैवरा भन्न मन लागेको छ।
यो टाँडे सडक देखेर त मेरा दिमागमा झट्का लागेको छ कि नेपालमा तुइनमा यात्रा गर्नुपर्ने अवस्था अझै छ। अमेरिकामा त पुलैपुलले बनाइएको सडक यात्रा।
न्युओर्लियन्समा हिल्टन ब्रान्डको होमवुड सुइट्समा बास खोजेका छौँ। करिब दिउँसोको ४ बजे पुगेका छौँ होटल। होटलका झ्यालबाट सडकतिर हेरिरहेको छु। तल गहिरामा देखिएको सडकमा कमिलाजस्ता ससाना गाडीहरू गुडिरहेका छन्।
सिमसिम पानी पनि परेको जस्तो छ। ओसिलो छ दिन। रात। तर हामी भने सोही दिन बेलुका ७ बजे स्टीम बोट क्रुजमा जाँदै छौं। टिकट मोबाइलले काटेको छ।
मिसिसिपी नदीको कुइनेटोमा स्टिम बोट चढ्ने ठाउँ छ। क्रुजतिर प्रवेश गर्दै छौँ। गेटमा प्रवेश गर्दै गर्दा त्यही हाम्रो फोटो खिचिएको छ। ठानेँ, सुरक्षाको लागि खिचिएको होला।
बेलुकाको ७ बजे ४ तले स्टिमबोटले बाटो लिएको छ। रातको समयमा बिजुलीबत्तीको चहकले चम्केको छ मिसिसिपी। मिसिसिपी वारिपारीका सहरबस्तीमा झिलिमिली बत्ती देखिन्छन्। यो क्रुजको जाहाज निकै ठूलो छ।
रातको समय, मिसिसिपी नदीबाट आएको स्याँठले जहाजको बाहिरपट्टिको बरन्डामा निस्किसक्नु छैन। धेरै बेर बस्न सक्ने अवस्था छैन। तर मलाई भने ककटेलले रन्काएको छ। र, त म धेरै समय बाहिर बिताउँदै छु।
रातको समय, ककटेलको रन्काइ अनि मिसिसिपी नदीको बहाबमा फूर्तिले बेग लिएको जहाज साथमा छ। इन्टरनेटले काम गर्दैछ। र, त म मनपरेका साथीभाइसँग मेसेन्जरमा कुरा गरिरहेको छु। आँखाले देखेको दृश्य बखान गर्दै छु।
जहाजबाहिरको जाडोमा जिप्टिएर जाडो छलेका जोडीको आनन्द अनुभूत गरिरहेको छु। र, त म ती अनुभव मनपरेका साथीभाइमाझ पुर्याइरहेको छु। जसलाई पायो त्यसलाई सुनायो भने त ‘फूर्ति लायो बूढाले’ भनिहाल्छन् नि।
जाडाको कारणले अरू सहयात्री भने जहाजभित्र बसेका छन्। जहाजभित्र ज्याज म्युजिक लाइभ छ। कलाकारहरू बजाइरहेका छन्। गाइरहेका छन्। अङ्ग्रेजी गीतको पर्रा छुटाइरहेका छन्।ककटेलको रन्कामा यात्रु नाचिरहेका छन्। बाहिर चिसो छ मस्त। भित्र छ तातो गरम।
गीत र ककटेलको रन्कामा मस्त छ परिवेश। यो मस्ताना परिवेश देखेर मेरा मनमा एउटा कुरा उब्जिएको छ कि मस्ताना हुने परिवेश हो कि चाहना हो? रमाउने कुनै क्षण हुन्छ कि वा त्यो क्षणको निर्माण गर्ने हो? जीवन बुझेर रुने कि हाँस्ने?
गेटमा खिचेको फोटो बोकेर त्यो फोटोग्राफर आइपुगेको छ हामीलाई बेच्न। २५ डलरमा फ्रेमसहितको फोटो चिनो किनेका छौँ जहाजको। न्युअर्लियन्सको। अहा! यसरी त्यो मान्छे पैसा कमाउँदै छ। मान्छेले दनादन आफ्नो न्युअर्लियन्सको चिनोका लागि आफ्नै फोटो किन्दैछन्। ऊ जीवन धान्दै छ।
स्टिम बोटबाट फर्कँदा निकै रात परेको छ। मिसिसिपीको सयर सकिएको छ। ज्यादै चिसो बढेको छ। सिमसिम पानी परिरहेको छ। र, हामी बास बस्न होटलमुहाँ भएका छौँ।
नोबेम्बर १८ को बिहान सखारै उठेका छौँ। होटलले दिने खाजा पउल मात्रामा खाएर सुशा र म याने दुई बुढाबुढी जिपिएसको सहाराले पैदल टन्डेलीमा निस्किएका छौँ। गुगलले न्युअर्लियन्समा हेर्नु पर्ने घुम्नु पर्ने स्थानको नाम टिपाइदिएको छ।
जतातजा देखाउँछ, त्यतै त्यतै हिँड्दै छौँ। गुगलले फ्रेन्च क्वार्टरतिरको बाटो सोझ्याइदिएको छ। होटलबाट बाहिर निस्कनेबित्तिकै मिसिसिपी नदीबाट आएको स्याँठले स्वागत गरेको छ। डाउनटाउनका सडकका दुवैपटिट उभिएका गगनचुम्बी महलहरूका कापबाट हामी हिँडिरहेका छौँ।
मेरी श्रीमती पत्रे लुगाभित्र हात हाल्दै भन्दैछिन्-होइन यो स्याँठमा के खोज्न जानू?
हुन पनि जाडो साँच्ची मापाको छ। हाम्रा आङमा भएका पत्रे लुगाले हद बोल्न थालेका छन्। तर म उनको कुरा सुनेर हाँस्छु। मनमनै भन्छु-अरे यार! यो न्युअर्लियन्स कहिले आइपुगिन्छ फेरि? अनि हौसला बढाएर हिँड्दै छौँ।
हिँड्दा हिँडदै गगनचुम्बी सहर कटेर फ्रेन्च क्वार्टर आइपुगेको छेकछन्द गर्दैछ सडक वरिपरिका पुराना शैलीका भवनहरूले। म तथा मेरी श्रीमती दुवै एकैपल्ट रमाएका छौँ। किनभने आँखै अगाडि नेपालका दरवारजस्ता देखिने भवनहरू उभिएका छन्।
ती पूरापूर त्यो बेलाको फ्रेन्च शैलीमा अझै बाँचिरहेका छन्। सुन्दर कलात्मक ग्रिलका बुट्टेदार बरन्डाका बारहरू, झ्यालका खापा तथा ग्रिलहरूले फ्रान्सेली सभ्यतालाई बोकिरहेका छन्।
एउटा घरलाई देखाउँदै सुशाले भनेकी छिन्-हेर्नु त ठ्याक्कै नेपालको जस्तो घर। बाहिरबाट काठको सिँढी। हो हामी दुवैलाई यो फ्रेन्च क्वार्टरका घरहरू देखेर नेपालको पुरानो दरवारै दरवारको सहरजस्तो लागेको छ। नेपाल पुगेकै अनुभूत भइरहेको छ।
बाटैमा आयो नेपोलियन हाउस। त्यो भवन नेपोलियनले बनाएका हुन् कि उनको नाममा बनाइएको हो त्यो चाहिँ थाहा भएन।
तर अमेरिकी सहरमा नेपोलियनको नाममा भवन देख्दा रोमाञ्चक मात्र बनेको छुइनँ अमेरिकीको इतिहासप्रतिको गर्वप्रति सलाम पनि गर्न मन लागेको छ। जङ्गबहादुरले युरोपको भ्रमण गर्दा फ्रेन्च बास्तुकला शैली नेपाल भित्र्याए भन्ने सुनेको थिएँ। हो रहेछ जस्तो लागेको छ।
फ्रेन्च क्वार्टरका बाटोमा हिँड्दै छौँ हामी लगातार लगातार। एउटा घरको भित्तामा बाटोपट्टि फर्काएर सानो साइनबोर्ड राखिएको देख्दै छु। त्यहाँ लेखिएको छ-यो कुनै बेला स्प्यानिस प्रोभिन्सको क्यापिटल थियो। त्यो बेला यो सडकको नाम क्याले द चार्टरर्स थियो।
यसले न्युअर्लियन्सकोमा स्प्यानिसहरूको इतिहासलाई सम्झाइरहेको छ। एउटा सडकको इतिहास बताइरहेको छ। धन्य छ अमेरिकीको इतिहास संरक्षण चेत।
फ्रेन्च क्वार्टरतिर हाम्रो पाइला अघि बढिरहेको छ। एउटा साइनबोर्ड देख्दै छु। यस्तो सूचना देख्नेबित्तिकै म फोटोमा कैद गरिहाल्छु। त्यो शिलाबोर्डले भन्दै छ- त्यसो त न्युअर्लियन्सको पुरानो नाम बुलबाङ्का थियो। दे बेनभिल ‘फाउन्डर अफ न्युअर्लियन्स’ थिए।
सर्वप्रथम फ्रान्सको जहाज हालको न्युअर्लियन्सको छेवैमा पर्ने पन्च्यारट्रेन नामक लेकमा आएको थियो। यसको नेतृत्व ब्लेनभिल तथा आइबरभिलले गरेका थिए। फ्रान्सको सो कम्पनीले सन १७१७ मा न्युअर्लियन्सलाई कब्जामा लियो।
र, १७१८ मा फ्रान्सका रिजेन्ट फिलिप दोस्रो याने कि ड्युक अफ अर्लियन्सको नाममा न्यु थपेर न्युअर्लियन्स नामकरण गरियो। र, फ्रान्सको श्रीपेचको अधीनमा न्युअर्लियन्स विधिवत गाभियो।
अमेरिकामा केही सहर तथा राज्यहरू नै युरोपका विविध सहर वा मान्छेका नामका पछाडि ‘न्यु’ थपेर नामकरण गरेको पाइन्छ। जस्तै न्यु योर्क, न्यु जर्सी आदि।
म आफू इतिहासको विद्यार्थी हुँ। जिन्दगीभरि इतिहास नै पढेँ। पढाएँ। मलाई थाहा छ कि युरोपियन राज्यहरू फ्रान्स, स्पेन, पोर्तुगल, बेलायत आदिका उपनिवेस संसारभरि थिए। उनीहरूका बीचमा युरोपमा युद्ध भएर सन्धी हुँदा उपनिवेसमा पनि हेरफेर हुन्थ्यो।
सप्तवर्षीय युद्धमा बेलायतसँग फ्रान्स हारेकाले ट्रिटी अफ पेरिस अनुसार १७६३ देखि न्युअर्लियन्समा स्पेनको अधिकार रहन गयो। औपनिवेसिक कारणले सन १८०० मा फेरि स्पेनले लुइजियाना फ्रान्सलाई फर्काइ दियो।
सन १८०३ मा फ्रान्सबाट लुइजियाना अमेरिकाले १५ मिलियन डलरमा किन्यो। तर पनि अमेरिकाले लुइजियानामा रहेको फ्रान्सेली सभ्यता, संस्कृतिलाई सुरक्षित राख्यो।
फ्रान्सले चलाएका प्रथाहरूलाई जीवन्त राख्यो। त्यसैले न्युअर्लियन्स फ्रेन्च संस्कृति बोकेको सुन्दर सहर हो। र त अहिले मिलियनका मिलियन पर्यटक यही फ्रान्सेली संस्कृति हेर्न न्युअर्लियन्स आउँछन्।
फ्रेन्च क्वार्टरबाट हामी दुई बुढाबुढी अगाडि बढेका छौँ। बाटैमा अर्को घरको सडकपट्टिको भित्तामा लेखिएको छ- ओलिभर प्यालोकको घर भएको ठाउँ हो, जसले अमेरिकी स्वतन्त्रता सङ्ग्राममा असाध्य धेरै आर्थिक सहयोग गरेका थिए।
यसरी अमेरिकाले आर्थिक सहयोग गर्ने व्यक्तिलाई सम्झेको छ। मलाई लागिरहेको छ कि उसका सन्तान त्यो बोर्ड देखेर कति खुसी हुँदा हुन्। आखिर जति सम्पत्ति कमाए पनि बिस्टा मात्र बनाउने हो भने जसले पनि बनाएकै छन् नि।
हामी दुई जोईपोइ हिँडि नै रहेका छौँ। फ्रेन्च मार्केटमा रहेको ज्याक्सन स्क्वायर पुगेका छौँ। यो पार्क वर्गाकारको छ। नेपालको रत्नपार्क जत्रै मात्र छ सायद। अढाइ एकड जग्गामा छ। मेजर जेनरल एन्ड्रियु ज्याक्सनको शालिक पार्कको बीचमा राखिएको छ।
सम्मानका लागि ज्याक्सन स्क्वायर नामकरण गरिएको हो। बेलायती फौजले आक्रमण गर्दा उनको नेतृत्वको फौजले डटेर न्युअर्लियन्सलाई जोगाएका थिए। यो पार्कको ऐतिहासिक महत्त्व भनेको सन १८०३ मा अमेरिकाले फ्रान्सबाट लुइजियानालाई किन्दा यही पार्कमा बसेर छिनोफानो गरिएको थियो।
हामी पार्कको उत्तरतिर पुगेका छौँ। यहाँ १८ औँ शताब्दीमा बनेका पुराना र फ्रेन्च मोडलका घरहरू धेरै देखिएका छन्। तिनको संरक्षण गरिएको छ।
स्क्वायरको पश्चिमतिर फ्रान्सका राजा सेन्ट लुईको सम्झनामा तीन गजुरे मण्डप याने कि रोमन क्याथोलिकको चर्च बनाइएको छ। यो चर्च यति सुन्दर छ कि त्यसलाई पृष्टमा राखेर फोटो खिच्ने मान्छेको ताँत छ। त्यसकै छेउमा फ्रेन्च कल्चर बुझाउने म्युजियम छन्।
अब हामी पार्कभित्र पस्तै छौँ। पस्ता पस्तै ज्याक्सन स्क्वायरको नियम नीति एउटा साइनबोर्डमा लेखिएको छ। पार्कभित्र हरियो दुबो छ। दुबोका बीचबीचबाट ससाना पक्की ट्रेल छन्। पश्चिमतिर केराका घारी लगाइएका छन्।
केराका थाम बुङ्गो बोकेर फलेका छन्। तर केरा घारी पनि सफा छ। कसैले चोर्दैनन्। मिलाएर बनायो भने केराघारी पनि पर्यटक लोभ्याउने साधन बन्दो रहे छ। किनकि म देखिरहेको छु कि पर्यटक त्यही बुङ्गो समाएर फोटो खिचिरहेका छन्।
पार्क याने कि ज्याक्सन स्क्वायरको भित्री भागबाट एक फन्का लगाएका छौँ। ज्याक्सनको शालिकसँग फोटो खिचाएका छौँ। आखिर सम्झाउनी बिर्साउनी त्यही फोटो त हो सास छउन्जेल।
पार्कको चौरमा एकजना मान्छे, सायद होमलेस होला, छेवैमा पोको राखेर घामको पाहारमा अलमस्त सुतेको छ। पार्कभित्र मान्छे छन्। मान्छेका आवातजावतले चलायमान छ पार्क। तर ऊ अलमस्त छ। विचित्र छ यो संसार।
विभेदीय छ यो संसार। यही पृथ्वीका कोही मान्छे पार्कको कल्याङ मल्याङ आवाजमा भुइँमा सुतेर मस्त निदाउन सक्छ भने कोही १८ इन्चको गद्दामा निदाउन नसकेर जाग्राम बस्छ।
हामी पार्कको पूर्वपट्टिको गेटबाट बाहिर निस्केका छौँ। पर्यटक पर्खेर घोडेबग्गीका ताँत बसेका छन् सडकमा। घोडाहरू अग्ला, पुस्ट र बलिया देखिन्छन्। पर्यटकहरू आइरहेछन् र बग्गीमा बसेर सहरको दृश्यपान गर्न हिँड्दै पनि छन्। घोडापालन अमेरिकाको पुरानो प्रचलन हो। घोडाको महिमा निकै घेरै छ।
घोडाबग्गी स्ट्यान्डकै छेउमा ‘ओरिजिनल फ्रेन्च मार्केट अफ कफी स्ट्यान्ड’ नामको कफी दोकान छ। तर त्यो दोकान बाहिरबाट हेर्दा निकै सामान्य छ। भुइँतले मात्र छ। सायद टिनको च्यादर वा टायलको छानो छ त्यसमा।
तर अचम्म त के छ भने सयौँका सङ्ख्यामा त्यो जाडोमा सिउसिउ गर्दै कफी दोकानमा पस्न लाइन लागेका छन्। त्यो ऐतिहासिक कफी दोकानमा पस्न त मन छ नि। तर कसरी त्यो लाइन छिचोल्नु र? त्यो फ्रेन्च कफीको त्यत्रो महिमा देखेर छक्क परेको छु।
त्यसकै थाप्लामा एउटा सानो पार्क छ। हामी त्यहाँ पुगेका छौँ। क्रिसमस याम हो यो। एउटा ठूलो क्रिसमस ट्री सजाइको छ। त्यही रुखका सामुन्ने उभिएर हामीले पनि फोटो खिचेका छौँ।
फोटो खिच्नु भनेको फोटो मात्र हो। धर्म परिवर्तन भने पटक्कै होइन। त्यसै पनि संसारमा कुन धर्म ठिक कुन धर्म बेठिक? समस्याकै विषय हो। झगडा त धर्म पनि गर्दैछन् नि यो संसारमा।
यो पार्क मिसिसिपी नदीको आडैमा छ। त्यहाँ एउटा धातुपत्र देख्तै छु। पढ्दै छु।
धातुपत्रमा सन १९६० देखि सन २००० सम्म विधायिकालगायत अन्य सेवामा बसेर न्युअर्लियन्सको अभूतपूर्व विकास गरेकोले मुनल्यान्डी जे. लाई सम्मान व्यक्त गरिएको छ। अचम्म छ प्रायः हरेक क्षेत्रमा योगदान दिने व्यक्तिको इतिहास संरक्षण गर्न आतुर देखिन्छ अमेरिका।
मिसिसिपी नदीको खुट्किलामा मान्छेहरू बसेर बगिरहेको नदीको बहाबलाई हेरिरहेका छन्। चिसो र स्याँठ चलेको छ। युगल जोडी अङ्कमाल मुद्रामा पनि छन्।
हामी बुढाबुढी पनि खुट्किलामा बसेका छौँ। तर सार्वजनिक ठाउँमा यसरी अङ्कमाल गरेको आनन्द आफैँले लिन नपाएको कुण्ठा मनभित्र उकासिएको छ। मिसिसिपी नदीको सङ्ग्लो पानीमा पानीहाँसहरू पौडी खेलिरहेका छन्।
यो दृश्य अचम्म सुन्दर र प्रणयपरक देखिएको छ। मलाई पनि यही प्रणयभावमा अक्षर लेखूँ लेखूँ भएको छ। अक्षरलाई कविता बनाऊँ बनाऊँ भएको छ। त्यसैले त मिसिसिपीको पानीको झोँका र त्यसले बनाएको फोका हेरिरहेको छु। ती बेगवान झोँका किनारबाट विलिन हुन्छन्।
फोका किनारमा आइपुगेपछि फुस्स फुट्छन्। फुटिरहेका छन्। म खोइ किन हो मिसिसिपी नदीका बेगवान झोँका तथा फोकाभित्र मान्छेको चित्र देख्ते छु। ती चित्र पनि फुट्दैछन्। फ्याट्ट फ्याट्। र, आफूलाई गमेको छु।
कुन दिन जिन्दगीका दलानमा ती झोँका तथा फोका किनार लाग्छन् र विसर्जन हुन्छन्। तर, मिसिसिपी त लगातार बगिरहेकै छ नि। पुरानो पात झर्ने नयाँ पालुवा पलाउने त प्रकृतिको नियम नै हो नि।
एक छिन बसेपछि जाडोले सताएको छ । र, हामी फर्केका छौँ होटलतिर। होटलमा पुगेर अर्को पैदल टन्डेलीका लागि शक्ति सञ्चय गर्न आराम गर्दै छौँ।
दिमागभरि भने फ्रेन्च क्वार्टर, फ्रेन्च मार्केट, मिसिसिपी नदीको चित्र नाचिरहेको छ। मन त्यसैत्यसै रोमाञ्चक भइरहेको छ। जे बहानामा होस्, जसरी होस् आज रमाएको छु। रमाउनु जिन्दगीको महत्तवपूर्ण क्षण त पक्का हो नि।
Facebook Comment