भूकम्पले टुहुरा बनाएका बालबालिका

कपिल लोहनी
२८ माघ २०७९ ७:५६

यो हप्ता यानी फेब्रुअरीको २३ तारिखको दिन टर्कीको दक्षिणी भागमा रहेको शहर गाजियान्टेपलाई केन्द्रबिन्दु बनाएर टर्की र सिरियामा ७.८ रेक्टर स्केलको भूकम्प गयो तथा त्यसपछिको १२ घण्टामा मात्र १२० वटा ठूलासाना पराकम्पन गए।

भूकम्पको पहिलो विशाल झट्का मिर्मिरे बिहानीको ४ बजेर १७ मिनेट जाँदा शुरु भएर ठूलो क्षति पुगेको दुई दिनपछि नै अर्को शक्तिशाली भूकम्प गएकोले यी दुवै देशका गाउँशहरहरू क्षतविक्षत हुन पुगेका छन् भने धेरै मानिस र जीवजन्तुले समेत ज्यान गुमाउनु पर्ने स्थितिको सिर्जना भएको छ।

यो भन्दा पहिले पनि पटक पटक टर्कीमा यस्ता महाभूकम्पहरू गइरहने भएता पनि यसपालीको भूकम्प भने सन् १९९९ पछिको सबैभन्दा शक्तिशाली थियो। सन् १९९९ मा गएको विशाल भूकम्पमा १००,००० घर भत्किएका थिए भने २१,००० ले ज्यान गुमाएका थिए।

भूकम्पसम्बन्धि विभिन्न प्रकारका तालीम र अभ्यासहरू बरोबर गरेर भूकम्पको बेलाको लागि आफूलाई तयारी अवस्थामा राखेका मुलुकहरू पनि यस्ता विपतको आगमनसँगै केही समय निक्कै दिग्भ्रमीत हुन पुग्दछन्। यसपाली टर्कीमा यस्तै नै भयो। भूकम्पको निक्कै समयसम्म पनि उद्धार कार्यले खासै गति लिन सकेन।

एक आङ्कडाका अनुसार यो भूकम्प नेपालमा सन् २०१५ मा गएको महाभूकम्प पछिको यो शहस्राब्दीकै सबैभन्दा भयानक र खतरनाक भूकम्प हो। नेपालमा सन् २०१५ को अप्रिल २५मा ७.८ रेक्टर स्केलकै भूकम्प गएर ठूलो क्षति पुगेको थियो र त्यसको कारण भत्किएका संरचनाको पुनर्निर्माण कार्य अझै सकिएको छैन।

झण्डै ९, ००० मानिसले ज्यान गुमाएको नेपालको सो भूकम्पमा करिव २२,००० मानिसहरू घाइते भएका थिए। नेपालको यो भूकम्पको तरङ्ग जमीन मुनी ८.२ किलोमिटरसम्म पुगेको थियो भने टर्कीको भूकम्पको तङ्ग जमीनमुनी १७.९ किलोमिटर भित्रसम्म पुगेको थियो।

सन् २०१५ को नेपालको महाभूकम्पमा भारतले तत्कालै मानवीय सहयोगका सामग्री, उद्धारकर्मी, स्वयम्सेवक तथा हेलिकप्टरहरू पठाएकोले उद्धारकार्यमा निक्कै सहजता आएको थियो।

टर्की र सिरियामा गएको भूकम्पमा पनि धेरै बालबालिकाहरूको उद्धार गरिएको छ तर तिनका अभिभावक र परिवारका अन्य धेरै सदस्यहरूको मृत्यु हुन गयो। प्रकृतिको लिला अपरम्पार छ। एकछिन अघिसम्म सुखी जीवन व्यतित गरिरहेको मानिस चुट्की भरमा कायापलट भएर चरम दुखमा पर्न सक्छन्।

पछि चीन लगायत धेरै राष्ट्रहरूको मद्दत पनि पायो नेपालले। तर भूकम्प पश्चातको पुनर्निमाण कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाएका अधिकांश राष्ट्रहरूले आफ्नो प्रतिवद्धताको धेरै अंश सहयोग गरेनन्।

अरेवियन प्लेटो युरोपीयन प्लेटोसँग धसिएर उत्तरतर्फ जाने क्रम लाखौँ वर्षदेखि भइरहेकोले यस्ता महाभूकम्प मार्फत पृथ्वीको यो क्षेत्रका बासिन्दाले अक्सर यस्तो दैवीप्रकोपको सामना गरिरहनु पर्दोरहेछ। यसपाली अहिलेसम्म नै २१,००० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।

टर्कीमा मात्र १७,००० भन्दा बढीले ज्यान गुमाएका छन् भने बाँकी सिरियाका जनता छन्। यो महाभूकम्पबाट १ करोड ५० लाख मानिसहरू प्रत्यक्ष प्रभावित भएका छन्। भूकम्पको ९४ घण्टा पछिसम्म पनि धेरै मानिसहरूको जिउँदै उद्धार गरिएको भएता पनि हालको निक्कै जाडो मौसमले गर्दा सडक तथा खुला ठाउँमा बस्न बाध्य धेरैको हालत ज्यादै दयनीय हुन पुगेको छ।

भेटेसम्मका काठ र दाउरा जम्मा गरेर आगो बालेर गुजारा चलाइरहेका बासिन्दालाई अझसम्म पनि यथेष्ट राहत सामग्री र कम्मलहरू प्राप्त हुन सकेका छैनन्। बिजुली र खानेपानीको वितरण प्रणाली पुरै ठप्प भएको तथा खान र ओढ्न ज्यादै सीमित साधन उपलब्ध भएको यो बेलामा लाखौँ जनताले ठूलो दुख भोगिरहेका छन्।

औषधि, उपचार, शौच, सरसफाई वा सुरक्षासमेतको अनुभूति हुन नसक्ने यस्तो अवस्थाबाट गुज्रिन मानवजातिलाई ज्यादै नै गाह्रो पर्दछ। यो अवस्था सिरियामा अझ जटिल बनेको छ। एक आङ्कडा अनुसार अहिलेसम्म यी दुई मुलुकमा मानव क्षति बाहेक ४ अर्ब डलर भन्दा बढीको क्षति भएको छ।

मर्नेहरूको संख्याको आधारमा हालको यो महाभूकम्पमा सन् २०११ मा जापानको फुकुशिमामा गएका भूकम्प र त्यसपछिको सुनामीमा परेर मरेका १८,४०० जना भन्दा पनि बढी मानिसले ज्यान गुमाएका छन्।

यस्ता भूकम्प तथा अन्य दैवीप्रकोपका कारण विभिन्न उमेरका मानिसहरू बाहेक पशुपंक्षी र घरेलु चौपायासमेत निक्कै प्रभावित हुने गर्दछन्। झनै बालबालिकाहरूको त कुरै नगरौं।

आमा बुवाको लाडप्यार पाएर हुर्कँदै गरेका साना साना बालबालिकाहरू भूकम्प, बाढी, पहिरो, आगलागी, दुर्घटना आदिको चपेटामा परेर यदि बाँच्न सफल भए भने पनि उनीहरूको जीवनले एक अप्रत्यासित नयाँ मोड लिन पुग्दछ।

यस पटक सिरियामा त भर्खरै जन्मिएको एक शिशुको समेत उद्धार गरिएको छ। वास्तवमा साना शरीर भएकाले भूकम्पले घरहरू भत्काउँदा ठूला मानिसहरू भन्दा ससाना बालबालिकाको बाँच्ने सम्भावना बढी हुँदो रहेछ।

टर्की र सिरियामा गएको भूकम्पमा पनि धेरै बालबालिकाहरूको उद्धार गरिएको छ तर तिनका अभिभावक र परिवारका अन्य धेरै सदस्यहरूको मृत्यु हुन गयो। प्रकृतिको लिला अपरम्पार छ। एकछिन अघिसम्म सुखी जीवन व्यतित गरिरहेको मानिस चुट्की भरमा कायापलट भएर चरम दुखमा पर्न सक्छन्।

यसपाली धेरै बालबालिकाहरू टुहुरा हुन पुगेका छन् भने तिनीहरूको मनभित्र एक प्रकारको डर र त्रास पनि पसेको छ। सातो गएको जस्तो गरेर टोलाइरहेका छन् बाँच्न सफल बालबालिकाहरू। कतिका आमा, बाबु लगायत परिवारका सबै सदस्यले ज्यान गुमाएकाले उनीहरू विकराल मानसिक स्थितिमा छन्।

सन् १९९९ मा टर्कीमा महाभूकम्प जाँदा बचेका टुहुरा बालबालिकाहरू आज २४-२५ वर्षका भए होलान्। तिनीहरूले हालको अर्को कहाली लाग्दो भूकम्प र आफू जस्तै हजारौं बालबालिका अहिले पनि टुहुरो भएको देख्दा कस्तो अनुभव गरे होलान्।

केही पशुपंक्षीमा भूकम्पन हुनुभन्दा अघि यो बारेको कुनै प्रकारको संकेत प्राप्त गर्ने गुण हुन्छ भन्छन्। खासगरी जमिन मुनी बस्ने कमिला, विच्छी, सर्प आदि भूकम्प शुरु हुनुभन्दा केही समय अघिदेखि जमिन बाहिर आउन थाल्छन् भन्ने जनउक्ति छ।

त्यस्तै केही चराचुरुङ्गी र गाईवस्तुमा पनि यस्तो संकेत प्राप्त हुने भएकोले भूकम्पभन्दा केही बेर अघि यिनीहरू केही विचलित भएर कराउने र दौड्ने गर्दछन् रे। केही वर्ष अघि चीनको भ्रमणको दौरान एक नेपाली प्रतिनिधी मण्डललाई एउटा विशाल जलविद्युत आयोजनाको अवलोकन गर्न लगेका रहेछन् चिनियाँहरूले।

भूमिगत विद्युतगृह भित्र जाँदा एउटा कुनामा केही सुगाहरू पिँजडामा राखेको देखेर नेपाली अधिकारीहरूले कौतुहलता जाहेर गर्दा चिनियाँ अधिकारीहरूले भूकम्पको पुर्व जानकारीको लागि नवीनतम प्रविधिको साथसाथै यी सुगाहरूलाई राखिएको कुरा बताए रे।

खासगरी घरपालुवा कुकुरहरूले भूकम्पपश्चात भत्किएको घरबाट जसोतसो निस्किएर आफ्ना मालिकहरूलाई बाहिर निकाल्न भरमग्दुर कोशिश गर्दछन्। आफूले नसक्ने भएपछि उनीहरूले उद्धारकर्मीहरूको ध्यान पनि आफूतिर बाँटेर मानिस पुरिएको ठाउँतिर लग्दछन्।

हालैको टर्की र सिरियाको भूकम्पमा पनि कुकुरहरूले पत्ता लगाएर कैयन् व्यक्तिको उद्धार गर्न सकिएको छ। मेक्सिकोमा ठूला ठूला भूकम्प गइरहने भएकोले भूकम्पपछिको उद्धारकार्यमा त्यहाँका सुरक्षाकर्मी तथा उद्धारसम्बन्धि तालीम लिएका मानिसहरू निक्कै अनुभवी भएको मानिन्छ। हाल मेक्सिकोले ठूलै संख्यामा उद्धारकर्मी र तालिम प्राप्त कुकुरहरू टर्कीमा पठाउन शुरु गरेको छ।

टर्की आफैं नै सवल राष्ट्र भएकोले र त्यहाँ विश्वभरबाट उद्धारकर्मी र सामग्री आउन शुरु भएकोले केही हप्तामा नै यो राष्ट्रले आफ्ना सम्पूर्ण जनतालाई राहत पु¥याउन सक्षम होला।

त्यहाँका राष्ट्रपतिले यस्तो दुखको बेलामा सबै जनतालाई एकजुट भएर यो प्रकोपको सामना गर्न र एक अर्कालाई सहयोग गर्न पनि आह्वान गरेका छन्। सरकारी स्तरमा बाहेक नागरिक समाज समेत सक्रियताका साथ उद्धार कार्यमा लागेको छ। तर पनि यसपालीको यो प्रकोप अति नै ठूलो प्रकृतिको भएकोले टर्कीलाई यसको सामना र व्यवस्थापन गर्न हम्मे परिरहेको छ।

उता सिरियामा चलिरहेको गृहयुद्ध र पश्चिमा देशले सत्तारुढ असद सरकारलाई मान्यता नदिएको तथा सिरिया आफू पनि यति ठूलो प्रकोपको सामना गर्न नसक्ने भएकाले टर्कीको भन्दा पनि नराम्रो अवस्थाबाट अहिले सिरिया गुज्रिरहेको छ।

विगत ११ वर्षदेखि गृहयुद्धमा होमिएको सिरियामा धेरै शक्ति राष्ट्रहरूको स्वार्थ लुकेकोले त्यहाँको आजसम्मको हिंसामा करिव ३ लाख ५० हजार मानिसले ज्यान गुमाइसकेका छन् भने ती मध्ये करिव २७ हजार महिला र उत्तिनै संख्यामा बालबालिकाको पनि अकालमा मृत्यु भइसकेको छ। हालको भूकम्पले गर्दा जनधनको ठूलो क्षति व्यहोर्नु परेको सिरियाले नगण्य विदेशी सहयोग पाइरहेको छ।

विगतमा पनि विकसित तथा शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थ रहेको क्षेत्रमा मात्र ठूलो सहयोग गरेका उदाहरणहरू धेरै छन्। त्यस्तै हाल टर्की र सिरियाले एउटै भूकम्पको चोट सहिरहेको बेला समृद्ध टर्कीले विश्वभरबाट सहयोग पाइरहेको छ भने सिरियालाई सहयोग गर्नेहरू निक्कै कम छन्।

अमेरिकी र युरोपेली नाकाबन्दी भोगिरहेको सिरियालाई सहयोग गर्न अन्य तटस्थ मुलुक पनि हिच्किचाइरहेका छन्। यसरी मानवीय सहयोगमा पनि भेदभाव हुँदा हजारौं निरिह जनताले ज्यान गुमाउन र दुख पाउन बााध्य हुनुपरेको छ।

टर्कीको राजधानी अङ्कारामा एक विशाल दैवीप्रकोव व्यवस्थापन केन्द्रको स्थापना गरेर १ लाख स्वयम्सेवकको मद्दत सरकारले लिइरहेको भएता पनि त्यहाँका प्रमुख १० शहर र धेरै गाउँहरूमा भएको क्षति तथा उद्धारमा खासै मद्दत पुग्न सकेको छैन।

आज भूकम्प गएको ५ दिन बितिसक्दा बल्ल टर्कीको सरकारले अस्थायी बसोवासको निम्ति पाल तथा टहराहरू निर्माण गर्न थालेको छ भने सिरियामा त बल्ल तल्ल संयुक्त राष्ट्र संघको मद्दत लिएर गएका केही ट्रकहरू प्रवेश गरेका छन्।

यता त्यति ठूलो महाभूकम्पले गर्दा लाखौँ मानिस प्रभावित भइरहेको बेलामा विकसित युरोपेली राष्ट्रहरू भ्लादिमीर जेलेन्स्कीको स्वागत गर्न र उनको भाषणमा मन्त्रमुग्ध भएर युक्रेनलाई बेहिसाब सैनिक सहायता दिनमा नै व्यस्त छन्। युद्धविराम गर्न न युक्रेनले चाहिरहेको छ न त नेटो राष्ट्रहरूले नै।

केटाकेटीले जसरी जेलेन्स्कीले माग गरेका लडाकु हवाइजहाज र ट्याङ्क उपलब्ध गराउन पश्चिमा राष्टहरू तुरन्तै तयार हुन्छन्। एउटा मित्रराष्ट्रलाई युद्धमा होमिदिएर अजिङ्गरको आहारा बनाइ उधारोमा बेहिसाब हतियार बेचेर ऋणमा चुर्लुम्म डुबाउन पल्किएका मुलुकलाई युक्रेन एक शताब्दिसम्म उठ्न नसक्ने गरी भासिए पनि के फरक पर्छ वा आफ्ना मुलुकका जनता बाहेक अन्य ठाउँका जनताले जस्तो सुकै दुख कष्ट सहनु परे पनि उनीहरूलाई के नै फरक पर्छ र। मानवीयता नै मरेर गएपछि केही लाग्दैन रहेछ।

युक्रेनकै लडाईँमा पनि कति बालबालिकाले ज्यान गुमाए होलान् र कति अनाथ भएका होलान्। समृद्ध मुलुक युक्रेनलाई विना कुनै कारण युद्धमा होमिदिएर ध्वस्त बनाउनमा जेलेन्स्की र उनका सहयोगी, रुस र अमेरिका लगायतका पश्चिमा राष्ट्र पनि उत्तिकै दोषी छन्।

अबको नयाँ पिँढीका बालबालिकाहरूले यो सब हिंसाका साक्षी भएर बस्दा भोलि उनीहरूले कुन बाटो समाउलान्, यो नै गौढ विषय बन्न पुगेको छ।

नेपालमा पनि विभिन्न प्रकारका दैवीप्रकोपका कारण वर्षेनी ज्यान गुमाउने तथा टुहुरा हुने बालबालिकाको संख्या बढ्दो छ। केही बालबालिकालाई विभिन्न संघसंस्था तथा व्यक्तिले सहारा दिने गरेता पनि अधिकांशको स्थिति ज्यादै कारुणिक हुने गर्दछ। कसैको सहारा र न्यानो माया नै पाएता पनि बालबालिकामा आफ्ना आमाबाबुको ममता नपाए पछि ती बालबालिकाले जीवनभर टुहुरा नै महसुस गरिरहन्छन्।

उनीहरूका जीवनका विभिन्न पाटाको अध्ययन गर्दा यस्ता कुराले धेरैको हृदयलाई छुन जान्छन्। आशा गरौँ कुनै पनि मुलुकका बालबालिकाले अनावश्यक हिंसा र प्रकोपको सिकार हुन नपरोस्। उनीहरूको पवित्र मनले राम्रा कुरा मात्र सिक्न पाउन् र आआफ्ना मुलुकका भविश्यका कर्णधार बन्न सकुन्।

लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *