नाम फेर्नमा माहिर माओवादी, फेरि नयाँ नाम जुराउँदै

शरद रिजाल
२८ माघ २०७९ ७:४५

काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम परिवर्तन गर्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रस्ताबमा पार्टीको नाम र चुनावचिन्ह परिवर्तन गर्ने प्रस्ताव समेत समेटिएको छ।

प्रचण्डले नेकपा कायमै राखेर पछाडि कोष्ठमा जोडिएको माओवादी नामक ‘त्यान्द्रो’ हटाउने प्रस्ताव स्थायी समिति बैठकमा राखेका छन्।
राजधानीमा यही माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकमा प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्ने प्रस्ताव गरेका हुन्।

प्रचण्डले बैठकमा पेश गरेको राजनीतिक दस्ताबेजमा आवश्यकता अनुरुप पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न सकिने उल्लेख गरिएको स्थायी समिति सदस्य पेशल खतिवडाले बताए।

पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्नेबारे छुट्टै प्रस्ताव पेश नगरिएको तर दस्ताबेजमा भने समेटिएको उनले बताए। उनले डिसी नेपालसँग भने, ‘पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्नुपर्छ भन्ने प्रस्ताव नै छुट्टै राखिएको होइन तर अध्यक्षले पेश गरेको राजनीतिक प्रस्तावमा यो विषयलाई पनि समेट्नु भएको छ।’

उनका अनुसार पार्टी एकताका लागि सबैलाई सहज हुने तवरले उक्त प्रस्ताब प्रचण्डले ल्याएका हुन्। माओवादी नाममा सबै सहमत हुन नसक्ने भएर नै सो प्रस्ताव ल्याइएको खतिवडाको भनाइ छ।

माओवादीबाट अलग्गिएर कम्युनिष्ट बिचारधारा नै परित्याग गरेर हिँडेका डा.बाबुराम भट्टराईलाई ल्याउन माओवादीले नाम परिवर्तन गर्न लागेको आशंका समेत गरिन्छ। नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका उनले पूर्ववत माओवादी नाम असान्दर्भिक हुने बताउँदै आएका छन्।

बाबुरामलाई ल्याउन नाम परिवर्तनको प्रस्ताब राखिएको हो? भन्ने डिसी नेपालको प्रश्नमा खतिवडाले भने, ‘बाबुराम फर्कने निश्चित जस्तै छ। बाबुरामलगायत अन्य साना ठूला कम्युनिष्ट पार्टीहरुसँग एकता गर्न सहजताका लागि गरिएको हो।’

उनले थपे, ‘एकताका लागि माओवादी नाममा अन्य कम्युनिष्ट घटक सहमत हुन नसक्दा नयाँ नाम र चुनाव चिन्ह परिवर्तनबारे प्रस्ताबमा समेटिएको हो त्यसै अनुरुप छलफल गरिएको हो।’

त्यसो त माओवादीले नाम परिवर्तन गर्ने गरेको इतिहास निकै लामो छ। उसले पार्टी बिभाजन वा एकता हुँदा कायम रहेको नाम परिवर्तन गर्दै आएको छ।

२०४२ साल यता निरन्तर नाम परिवर्तन गर्दै

माओवादीले विगतदेखि हालसम्म नाम परिवर्तनमा कीर्तिमानी नै कायम गरेको छ। २०४२ सालमा मोहनबिक्रम सिंहलाई कारबाही गर्दै आजकै माओवादीको मूल घटक मोटो मशालका नामले त्यतिबेला परिचित नेकपा (मशाल) गठन गरिएको थियो।जसको महामन्त्री मोहन वैद्य रहेका थिए।

त्यसैको परिवर्तित स्वरुप आजको नेकपा (माओवादी केन्द्र) हो। उसो त तत्कालीन मशालका महामन्त्री रहेका मोहन वैद्य हाल छुट्टै नेकपा (क्रान्तिकारी माअ‍ेवादी) गठन गरी उक्त पार्टीको महासचिव रहेका छन्।

सुरुको नाम नेकपा(मशाल) रहेको हालको एक घटक माओवादी केन्द्र त्यसयता निरन्तर नाम परिवर्तित गर्दै आइरहेको छ। २०४२ सालदेखि २०४७ सम्म नेकपा (मशाल) कै नाम कायम रहेको थियो। त्यसपछि २०४८ सालमा आएर स-साना कम्युनिष्ट पार्टीसँग एकता गरी मशाल नाम परिवर्तन गर्दै प्रचण्डको नेतृत्वमा नेकपा (एकताकेन्द्र) को रुपमा रह्यो।

हाल त्यसकै परिवर्तित स्वरुपमा रहेको हालको माओवादी केन्द्र पार्टीमा जनयुद्धको विषयलाई लिएर ब्यापक मतभेद उत्पन्न भएर बिभाजनको स्थितिमा पुगेर निर्मल लामा र नारायणकाजी श्रेष्ठहरु बाहिरिएपछि प्रचण्डको नेतृत्वमा २०५१ सालमा फेरि नेकपा (माओवादी) बन्यो।

त्यही नेकपा (माओवादी) ले दश वर्षसम्म जनयुद्ध गर्‍याे। तर, त्यही नामले निरन्तरता पाउन सकेन। शान्तिप्रक्रियामा आएपछि तीन पटक नाम परिवर्तन गरिसकेको छ।

२०६५ सालमा फेरि जनयुद्धको विषयले मतभेद भएर २०५१ सालमा बिभाजित नारायाणकाजी श्रेष्ठको नेकपा (एकताकेन्द्र) सँग एकता गरी पार्टीको नाम फेरि एकीकृत नेकपा(माओवादी) राखियो।

२०६९ सालमा पार्टीका प्रभावशाली र पुराना नेता मोहन वैद्य विभाजित भएर नयाँ पार्टी गठन गर्न पुगे। त्यतिबेलासम्म एकीकृत नेकपा(माओवादी) र नेकपा-माओवादी का रुपमा दुईवटा पार्टी बन्न पुगे।

फेरि २०७३ सालमा मोहन वैद्यसँग बिभाजित भएर गएका रामबहादुर थापा बादल लगायत अन्य बिभिन्न समयमा विभाजित भएका स-साना माओवादी घटकहरुलाई समाहित गरी नेकपा (माओवादी केन्द्र) बनाइयो। जो आजसम्म प्रचण्डकै नेतृत्वमा रहेको छ।

२०४३ सालमा मोहनबिक्रम सिंह नेतृत्वको पार्टीसँग बिभाजित भएर मोहन वैद्यको नेतृत्वमा नेकपा (मशाल) गठन गरी आजको अवस्थामा आएको माओवादी बिभिन्न समूहमा बिभाजित बनेको छ।

स्मरणीय छ, फेरि मोहनविक्रम सिंहकै नेकपा (मसाल) बाट बिभाजित एक समूहले केही समय अगाडि नेकपा (मशाल) पुनर्गठन गरेको छ। पुनर्गठित नेकपा (मशाल) काे नेतृत्वमा सन्तबहादुर नेपाली रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *