कविता : सौन्दर्य शक्ति
गुलाफ राताे बन्न
तिमीले चुम्नु पर्छ
जून चहकिलाे बन्न
तिमी हाँस्नु पर्छ
तिम्रो हिँडाइकाे सङ्गीतमा
झरना , खाेला या नदी नाच्न थाल्छन्
तिमीले आँखा झिम्क्याउँदा
ताराहरू लाजले भुतुक्कै हुन्छन्
र अध्यारोमा पसेर आफैं निचाेरिन्छन्
तिम्रो सुन्दरतामा सिंगो आकाश उत्तेजित छ
तिमीलाई हेरेर बाँचेको म
लाख पटक मरिसकेँ
सायद,
तिम्रो सम्झनामा सिंगो संसार
म जस्तै मर्दैमर्दै बाँचिरहेकाे छ !
प्रतिक्रिया
Facebook Comment